बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारबाट बाहिरिएका निवर्तमान अर्थमन्त्री खतिवडाको बालुवाटारमा सक्रियता !

सोमबार, २२ भदौ २०७७, १४ : २६
सोमबार, २२ भदौ २०७७

 आइतबार साँझ उद्योगीहरुलाई अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाए । उद्योगीहरु प्रधानमन्त्रीलाई भेट्न जाँदा त्यहाँ निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडापनि सँगै थिए ।  तर उनीहरु खतिवडालाई देखेर अचम्ममा परेनन् । बरु प्रधानमन्त्रीले खतिवडालाई आर्थिक सल्लाहकार बनाउने हल्ला चलेको थियो, हो रहेछ भन्नेमा निश्चिन्त भए ।

 सहभागी एक उद्योगीले भने, ‘प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा उनी नै रहने जस्तो भान भएको छ ।’ ती उद्योगीका अनुसार छलफलमा प्रधानमन्त्रीले बोलाए पनि सक्रियता खतिवडाकै थियो । उद्योगीहरुले राखेको अधिकांश विषयमा प्रधानमन्त्रीले भन्दा खतिवडाले नै जवाफ फर्काएपछि खतिवडा सिंहदरबारबाट मात्र बाहिरिएका रहेछन् भन्ने महसुस उद्योगीहरुले गरे ।

 भूमिका त उस्तै देखियो, ती व्यवसायीले भने । अर्थमन्त्री हुँदा जसरी जवाफ फर्काउँथे त्यसैगरी उनी प्रस्तुत भए । सायद उनले सोचेनन् क्यारे आफू भर्खरै मात्र अर्थमन्त्री पदबाट बहिर्गमन भएको । तर उनलाई प्रधानमन्त्रीले शक्तिशाली बनाएरै उनको सक्रियता भएको ती व्यवसायीले बताए । 

उद्योगीले कोरोना भाइरस महामारीबाट थलिएको अर्थतन्त्र जोगाउन र व्यवसाय बचाउन सरकारले उद्धारको प्याकेज ल्याउनुपर्ने माग गरे । 
त्यसको जवाफ पनि तत्कालै  निवर्तमान अर्थमन्त्री डा. खतिवडाले फर्काइहाले र भने,  ‘अर्थतन्त्र अहिलेसम्म खराब अवस्थामा आएको छैन । बरु तपाईंहरुलाई राहत चाहिने हो भने सरकार दिन तयार  छ । राज्यले  मागेको सबै सुविधा दिनेछ तर बढी कर तिर्न तपाईंहरु पनि तयार हुनुहुन्छ ?’ उनको यस्तो प्रतिप्रश्नमा उद्योगीहरु नै वाल्ल परे ।

अर्थमन्त्रीको भूमिकामा रहँदा पनि उनले बढी राहत चाहिनेले कर पनि बढी तिर्नुपर्ने अभिव्यक्ति विभिन्न सार्वजनिक कार्यक्रममा दिएका थिए । उनी पदमुक्त भइसक्दा पनि उनले उद्योगीहरुलाई यसरी नै जवाफ फर्काए । मानौँ उनी अझै अर्थमन्त्री छन् । 

 प्रधानमन्त्री ओलीले व्यवसायीसँग  खतिवडा बालुवाटारमै रहने सङ्केतसमेत गरेका छन् । ‘प्रधानमन्त्रीको सङ्केतबाट के कुरा बुझियो भने खतिवडा प्रधानमन्त्री ओलीको प्रमुख आर्थिक सल्लाहकारमै हुनुहुनेछ,’ सहभागी उद्योगीले भने । 

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव रामशरण पुडासैनी लगायतका बाहलवाला कर्मचारीलाई बालुवाटार बोलाएका थिए ।
   
वामदेवका कारण ओलीको चाहनामा धक्का
प्रधानमन्त्री केपी शर्मा ओलीले नै विश्वास गरेर टेक्नोक्र्याटलाई अर्थमन्त्री बनाए । उनको नजरमा खतिवडा बाहेक अरू अर्थमन्त्रालय सम्हाल्न योग्य छैनन्  । यसकारण अर्थमन्त्रीका दाबेदार हुँदाहुँदै अर्थमन्त्रालय उनी आपैmले राखेका छन् । वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत भएपछि ओलीको खतिवडालाई निरन्तरता दिने चाहनमा ब्रेक लाग्यो । 

तर ओली खतिवडालाई जुनसुकै भूमिकामा भए पनि आफ्नो वरिपरि राख्न चाहन्छन् । उद्योगीलाई भेट्न बोलाएको समयमा खतिवडा त्यही हुनुलाई प्रधानमन्त्रीले आफ्नै वरिपरि राख्न चाहेको स्पष्ट हुन्छ । ओलीले सम्हालेको अर्थमन्त्रालयको जिम्मेवारीमा हस्ताक्षरबाहेक सबै डिजाइन, कार्यक्रम, योजना खतिवडाकै मुताविक हुने देखिएको  भेटमा उपस्थित अर्का एक अधिकारीले बताए । 

अहिले अर्थमन्त्रीमा वामदेव गौतम आउने हल्ला चलेको छ । कतिपयले वामदेव  भन्दा त खतिवडा नै ठीक थिए भन्नसमेत थालेका छन् ।  यता ओली अर्थ आफै राखेर त्यसको काममा खतिवडालाई सक्रिय गराउन चाहन्छन् । ओलीले खतिवडालाई सक्रिय गराउन थालिसकेका छन् भन्ने उनीहरुको उपस्थितिले नै पुष्टि गर्छ । 

प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रिय सभामै ल्याएर अर्थ मन्त्रालयको जिम्मेवारी दिन चाहन्थे । तर नेकपा सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीतको निर्णय गरेपछि प्रधानमन्त्रीको चाहना पूरा हुन नसकेको हो । 

कतिपय विश्लेषकले खतिवडाले प्रधानमन्त्रीलाई मात्र रिझाउने गरी काम गरेको, राजनीतिक भावना नबुझेको, छलफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको, मार्क्सवादी सिद्धान्त पछ्याउन नसकेको लगायतका आरोप लगाउँदै आएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप