शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारी सबै एउटै ड्याङका मुला ! ‘सर्वोत्कृष्ट’ पाउनै मुस्किल

सरोकारवाला भन्छन्- निर्णय पद्धति मै खोट देखिन्छ
सोमबार, २२ भदौ २०७७, १४ : १३
सोमबार, २२ भदौ २०७७

काठमाडौं । ‘आजको दिनले राष्ट्रको सेवामा निरन्तर निष्ठापूर्वक लाग्न सबै राष्ट्रसेवकलाई प्रेरणा देओस् ! कोभिड १९ को माहामारीमा अग्रपंक्तिमा बसेर सेवा दिने सबैमा नमन !’ पूर्व मुख्यसचिव लीलामणि पौडेलले सोमबार आफ्नो ट्वीटरमा लेखेका वाक्य हुन् यी । निजामती सेवा दिवस २०७७ को अवसरमा सम्पूर्ण निजामती राष्ट्रसेवकहरूमा शुभकामना व्यक्त गर्दै उनले पुरस्कृत सबैलाई बधाइ पनि दिए ।

हो, झण्डै एक लाख कर्मचारीहरुले १७ औं निजामती कर्मचारी दिवस मनाउँदैछन् आज । यद्यपि कोभिड–१९ का कारण औपचारिक एवं भव्य भेला वा जमघटका कार्यक्रम यो वर्ष भएनन् । निजामती सेवा दिवसका अवसरमा सरकारले केही कर्मचारीहरुलाई सम्मान समेत गर्दैछ । तर यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी सरकारले फेला पार्नै सकेन । यो सहित चार वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कार वितरण हुन नसकेको हो ।

यो दिवसका दिन सरकारले राम्रो काम गर्ने कर्मचारीहरुमध्येबाट छनोट गरी ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ बाट सम्मान गर्दै आएकोमा यस वर्ष ४० जना कर्मचारी पुरस्कृत त भए तर विडम्बना ! सर्वोत्कृष्ट कर्मचारी भने भेट्दै भेटिएनन् । सर्वोत्कृष्ट कर्मचारी एक जनालाई २ लाख रुपैयाँ राशीको पुरस्कारले सम्मान गर्ने परम्परा छ । 

पुरस्कृत कर्मचारीहरुको छनोट मुख्यसचिव नेतृत्वको समितिले गर्दछ । यो वर्ष पनि मुख्यसचिव नेतृत्वको समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारी छनोट गरेको छ । 

सम्पूर्ण निजामती कर्मचारीमध्ये उत्कृष्ट भनेर दिइने ‘सर्वोत्कृष्ट’ पुरस्कारका लागि कोही फेला नपर्नुले सबै कर्मचारी एउटै ड्याङका मुलाजस्तै हुन् भन्ने सन्देश प्रवाह गरेको छ ।
त्यसो त निजामती कर्मचारी देशको स्थायी सरकारसमेत भनेर चिनिन्छन् । तर सर्वसाधारणमा निजामति कर्मचारीप्रतिको दृष्टिकोण राम्रो बन्न सकेको छैन । सरकारको तलब खाएर भ्रष्टाचार, घुसखोरी र ढिलासुस्ती गर्ने व्यक्तिका रुपमा पनि कतिपयले निजामती कर्मचारीलाई चिन्छन् । 

सवै कर्मचारी गलत नभए पनि केही व्यक्तिका कारण कर्मचारीमाथि जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको कतिपयको भनाइ छ । झण्डै एक लाख कर्मचारीमा सर्वोत्कृष्ट पुरस्कारका लागि योग्य कर्मचारी नभेट्दा आम जनतामा निजामती कर्मचारीप्रति रहेको बुझाइ नै पो सत्य हो कि ! के त्यस्ता कर्मचारी नै नभएका हुन् ? वा निजामती कर्मचारीमाथि जनताको जस्तै सरकारको पनि विश्वास घट्दै गएको हो ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।

निर्णय पद्धतिमै खोट छ : डा. विमल कोइराला (पूर्व मुख्यसचिव) 
पूर्व मुख्यसचिव डा. विमल कोइराला मूल्यांकन वा निर्णय पद्धतिमा खोट रहेका कारण पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न कठिन हुने गरेको बताउँछन् ।
अर्को जोखिम उठाउन नसकेकाले पनि सर्वोत्कृष्ट कर्मचारी छनोट नगरिएको हुनसक्ने उनको भनाइ छ । ‘धेरै दावेदार भए भने कसैलाई पनि बेखुसी नबनाउँ भन्नेमा समिति पुगेको पनि हुनसक्छ,’ उनले भने, ‘पाउने त एउटा हुन्छ, ऊ खुसी भए पनि अरु बेखुसी हुनसक्छन् । बरु कसैलाई पनि नदिए आनन्द ! भन्नेतिर सोच गएको पनि हुनसक्छ’, कोइरालाले रातोपाटीसँग भने, ‘नत्र भने अहिले कोरोनाको संकट परेको बेला फ्रन्ट लाइनमा खटिने डाक्टरहरु धेरै छन्, उनीहरुलाई दिन सकिन्छ । तर हेर्दा त्यसरी खटिने डाक्टरहरु सर्वोत्कृष्ट त के, अन्य पुरस्कार पाउनेमा पनि खासै परेको देखिँँदैन ।’ 

उनले यो पुरस्कार नपाउँदैमा सिंगो निजामती कर्मचारीलाई नै अयोग्य भनिहाल्न नहुने बताए । जनताको नजरमा निजामती कर्मचारीहरुको इमेज अझै राम्रो बन्न नसकेको भने सत्य रहेको कोइरालाको अनुभव छ । 
‘कर्मचारीतन्त्रलाई जनताले अझै राम्रो दृष्टिकोणले हेर्न सकेको पाइँँदैन । किनभने ढिलोढालो गर्ने, पैसा खाने लगायतका अनेक किसिमका आरोपहरु लाग्दै आएका छन्’, कोइरालाले भने, ‘यो अरोपलाई चिर्दै नयाँ ढंगले निजामती सेवा प्रस्तुत हुनुपर्छ ।’ 

यस्तो बेलामा अझ बढी अपजस आउँछ कि भन्ने भएकाले पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नचाहेको हुनसक्ने कोइरालको भनाइ छ ।
उनले निजामती कर्मचारीप्रतिको सर्वसाधारणको दृष्टिकोण बदलिन उनीहरुको व्यवहारमा फरक आउनुपर्ने बताए । कर्मचारीप्रति सर्वसाधारणबाट लाग्ने आरोपमा कर्मचारीमात्रै दोषी नभएको जिकिर गर्दै उनले भ्रष्टिकरणमा कर्मचारी मुछिनुमा राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वको पनि भूमिका रहने बताए । ‘राजनीति यति धमिलो र फोहोरी भयो, निर्वाचन प्रणाली यति महँगो भयो, जसले राजनीतिक कार्यकारीहरुलाई फण्ड जम्मा नगरी राजनीति नै टिक्ने भएन । यसका निम्ति कर्मचारी प्रयोग भए । शासन व्यवस्था बिग्रनुमा निजामती कर्मचारीमात्रै कारक होइन,’ उनले भने ।

भएका मध्येबाटै सर्वोत्कृष्ट छान्नुपर्छ : कृष्णहरि बाँँस्कोटा (पूर्व प्रशासक)
पूर्वसचिव कृष्णहरि बाँस्कोटा पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्ने भन्ने नै नहुने बताउँछन् । निजामती सेवा ऐनमा निश्चित मापदण्ड रहेकाले त्यसैमार्फत सर्वोत्कृष्ट कर्मचारी छनोट गर्नुपर्ने उनको भनाइ छ ।
‘कुरोको चुरो के हो भने भएकामध्येबाट सर्वोत्कृष्ट छान्ने हो । यसर्थ सर्वोत्कृष्ट फेला नपर्ने भन्ने नै हुँदैन’, बास्कोटाले भने, ‘भय के रह्यो भने उत्कृष्ट भनिएको मान्छे भोलि यही हिसावले रहन पनि सक्दैनन कि भन्ने कुरा पनि सुनिएको छ, तर त्यो आशंका गर्नु आफैमा ठिक होइन ।’ 

बास्कोटाका अनुसार भएका कर्मचारीहरु मध्येबाट प्रत्यक वर्ष सर्वोत्कृष्ट पुरस्कार दिनैपर्छ । किनभने मापदण्डका आधारमा छनोट गर्ने हो भने भविष्यका लागि कुनै शंका उपशंका गरिरहनु पर्दैन । 
बाँस्कोटाले निजामती कर्मचारीप्रति जनताको बुझाइ सकारात्मक हुन नसक्नुमा केही सीमित व्यक्तिले बाटो बिराउनु नै मुख्य कारण रहेको ठान्छन् । ‘केही व्यक्तिले बाटो बिराए । जसले गर्दा त्यो भावना पैदा भएको हो । त्यस्ता बदमास कर्मचारीलाई सेवाबाटै पहिचान गर्दै रोक्न सक्नुपर्छ,’ उनले भने, ‘यो मुलुकलाई सञ्चालन गरेको भनेको नै निजामती कर्मचारीले हो । यस्तो अवस्थामा कर्मचारीले अपजस होइन, जस पाउनुपर्छ । जस पाउन कर्मचारीभित्रैबाट गलत काम गर्नेलाई प्रोत्साहन गर्नु पनि हुँदैन ।’

छनोट गर्नेमै योग्यता छैन : भोलानाथ पोखरेल  (अध्यक्ष, निजामती कर्मचारीहरुको आधिकारिक संगठन) 
निजामती कर्मचारीहरुको आधिकारिक संगठनका अध्यक्ष भोलानाथ पोखरेल सर्वोत्कृष्ट कर्मचारी नभएको भन्न नमिल्ने बताउँछन् । छनोट गर्ने पदाधिकारीहरुको योग्यता नभएकाले सर्वोत्कृष्ट कर्मचारी पहिचान हुन नसकेको उनको भनाइ छ । 

‘छनोट गर्ने पदाधिकारीहरुसँग योग्यता नभएको कारणले हो’, उनले रातोपाटीसँग भने, ‘निजामती प्रशासन सरकारको ऐना हो । व्यवहारमा पनि त्यो प्रकट हुन्छ ।’ सबै निजामती कर्मचारी भ्रष्ट भनेर दोष लगाएर उम्कने प्रयास भइरहेको उनको भनाइ छ । ‘सबै कर्मचारी भ्रष्ट हुन् भनेर भन्नु स्वाभिमानी कर्मचारीहरुलाई भ्रष्ट देखाएर वास्तविक भ्रष्टहरु उम्कने प्रयास गर्नु हो’, पोखरेलले भने ।

उनले केही कर्मचारी भ्रष्ट भए पनि उनीहरु कानुनको दायराभित्र नियमित रुपमा आइरहेको भन्दै नियमनकारी निकायलाई पनि थप खवरदारी गर्न जरुरी रहेको बताए । उनले निजामती प्रशासनमा नैतिक र सदाचारको शिक्षा सञ्चालन जरुरी रहेको पनि बताए ।
तर कतिपय भ्रष्ट स्वभावका कर्मचारी कारवाही गर्ने निकायको भन्दा बढि पहुँच भएकाले पनि समस्या आएको हुनसक्ने उनको भनाइ छ ।

के थिए निजमती कर्मचारीका अपेक्षा ? 
अहिले कोभिड–१९ को महामारी छ । महामारीमा खटिने कर्मचारीहरुलाई पेशागत स्वास्थ्य सामाग्रीहरु, सुरक्षाका उपकरण र बिरामी हुँदा उपचार गर्ने प्रवन्ध साथै मृत्यु भएमा क्षतिपूर्ति दिने कुरामा सरकारका तर्फबाट प्रतिवद्धता आउन जरुरी रहेको कर्मचारीहरुको भनाइ छ । 

लामो समयदेखि वृत्तिविकासको बारेमा शंका उत्पन्न भइरहेको अवस्थामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय प्रशासन आउँदा कर्मचारीहरुको वृत्तिविकास, सेवा, शर्तका सम्बन्धमा निश्चिन्त भएर काम गर्ने वातावरण बन्नुपर्ने पनि उनीहरुको भनाइ छ । 

‘अन्यायपूर्ण र पूर्वाग्रही समायोजन भएको छ अर्थात घोक्रेठ्याक लगाइएको छ । ती कर्मचारीहरुको मनोबल उठाउनेगरी वृत्तिविकास तथा सेवाशर्तहरुको ग्यारेन्टी हुन्छ भन्ने आश्वासन आउनुपर्छ । कर्मचारीको सामाजिक सुरक्षाको अभाव र न्युन तलव भएकाले कल्याणकारी कोष स्थापना गर्दै त्यसमार्फत अवास, हाइड्रो पावर, अध्ययन र शिक्षाको व्यवस्था गर्नुपर्छ,’ अध्यक्ष पोखरेल भन्छन् ।

यति गर्दा कर्मचारीको मनोबल उठ्ने भएकाले उनीहरुले दिने प्रतिफलबाट सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने घोषणा पुरा हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप