हालसम्म कति जनाको पीसीआर परीक्षण भयो, सरकारलाई नै पत्तो छैन
भक्तपुरस्थित बालकोटका विनय खड्का (नाम परिवर्तन) ले ज्वरो आउने, टाउको दुख्ने भएपछि पहिलो पटक श्रावण २४ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गरे । कोरोना संक्रमण पुष्टि भएपछि होमआइशोलेनमा बसेका उनले ११ दिनपछि घर नजिकै पुगेको घुम्ती टोलीलाई पुनः स्वाब दिए । खड्काको दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आयो ।
दोस्रो पटक रिपोर्ट पोजेटिभ आउँदा खड्कामा कुनै प्रकारको शारीरिक समस्या थिएन । सुरुवाती दिनमा ज्वरो, टाउको दुख्नेजस्ता समस्या भएका उनमा दोस्रो रिपोर्ट आउँदासम्म शारीरिक समस्या निको भइसकेको थियो । त्यसैले दोस्रो स्वाब परीक्षणको रिपोर्टको विश्वास नलागेर उनी निजी अस्पतालमा परीक्षण गराउन गए ।
तेस्रो पटक परीक्षण गराउँदा पनि कोरोना संक्रमण भएकै पुष्टि भयो । तेस्रो परीक्षणको १० दिनपछि उनले चौथो परीक्षण गराए । चौथो परीक्षणमा भने उनको रिपोर्ट ‘नेगेटिभ’ आयो ।
खड्काले जस्तै विशाल शर्मा (नाम परिर्वतन)ले पनि पटक पटक कोरोना परीक्षण गराएका छन् । पेशाले पत्रकार उनी विभिन्न स्थानमा पुगेर रिपोर्टिङ गरिरहनु पर्ने भएकाले पहिलो पटक पत्रकार महासंघको कार्यालयमा कोरोना संक्रमणको परीक्षण लागि उनले स्वाब दिएका थिए ।
दोस्रो पटक उनले महाबौद्धमा स्वाब दिएका थिए भने कन्ट्याक्ट ट्रेसिङमा परेका कारण तेस्रो पटक स्वाब परीक्षण गराउनु प¥यो । तीनै पटकका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आयो ।
संक्रमणका केही लक्षण देखिए पनि चौथो पटक उनले परीक्षण गराए । त्यतिबेला उनलाई रुघाखोकी, हल्का टाउको दुख्ने समस्या थियो । तर उक्त परीक्षणमा पनि उनको रिपोर्ट ‘नेगेटिभ’ नै आयो ।
यसरी कोरोना संक्रमितको सम्पर्कमा आएका र नआएका धेरै व्यक्तिले पहुँच र क्षमताको आधारमा पटकपटक स्वाब परीक्षण गराएका छन् । व्यक्तिगत तवरमा कोरोना लागे÷नलागेको थाहा पाउने अधिकार भए पनि एउटै व्यक्तिले पाँचदेखि सात पटकसम्ममा स्वाब परीक्षण गरेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडामा आइतबारसम्म देशभरका विभिन्न प्रयोगशालामार्फत ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण गरेको उल्लेख छ । यो तथ्याङ्कले सर्वसाधारणमा ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षण भएको हो कि भन्ने खालको भ्रम सिर्जना गरे पनि पीसीआर परीक्षण गराउने व्यक्तिको संख्या त्यो होइन । यो त हालसम्म भएको पीसीआर परीक्षणको संख्या हो, जो एकै व्यक्तिले चार÷पाँच पटकसम्म परीक्षण गराएको अवस्थामा हरेक पटकको परीक्षण गणना गरिएको हुन्छ ।
त्यसो भए हालसम्म देशभर कति जनाको पीसीआर परीक्षण भयो त भन्ने प्रश्न स्वाभाविक रुपमा सर्वसाधारणमा उब्जिन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भने यसको जवाफ छैन । अर्थात्, देशभर कति जनाले कोरोना परीक्षण गरे भन्ने तथ्याङ्क सरकारसँग छैन ।
आइतबारसम्म नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २८ हजार ९ सय ४१ छ । ती सबैलाई कोरोना संक्रमण परीक्षण पत्ता लगाउने क्रममा पहिलो पटक, संक्रमण निको भए÷नभएको पत्ता लगाउन दोस्रो÷तेस्रो पटक पीसीआर परीक्षण गरिन्छ ।
एक जना मानिसले जति पटक पीसीआर परीक्षण गरे पनि पीसीआर परीक्षण संख्या जोडिदै जान्छ । यसरी नै हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण भएको हो ।
हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार नेपालभर कति जनाले पीसीआर परीक्षण गरे भन्ने तथ्याङ्क छैन । ‘केही प्रयोगशालाबाट हालसम्म कति जनाले परीक्षण गरे भन्ने तथ्यांक आएको छ, केही प्रयोगशालाबाट कति वटा पीसीआर परीक्षण गरियो भन्ने तथ्यांक आएको छ, कहिले वटामा र कहिले जनामा गनेका छौं,’ उनले भने, ‘अहिलेसम्म कति जनाले कोरोना परीक्षण गरे भनेर ठ्याक्कै भन्न सकिँदैन ।’
आगामी दिनमा कति जनाको पीसीआर परीक्षण भयो र एक जनाले कति पटक परीक्षण ग¥यो भन्ने कुरा पत्ता लगाएर जानकारी दिन सकिने उनी बताउँछन् ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका डाक्टर राजेश गुप्ताकाअनुसार देशभरका प्रयोगशालाहरूले कति पीसीआर परीक्षण गरियो भनेर जानकारी दिए पनि हालसम्म कति जनाले पीसीआर गरे वा कति पटक गरे भन्ने जानकारी दिँदैनन् । एउटा मानिसले पटकपटक परीक्षण गरे पनि पीसीआरको संख्यामा जोडिदै जाने उनी बताउँछन् ।
नेपालमा हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ पीसीआर परीक्षण भएको अवस्थामा पाँच लाखको जनाजतिको परीक्षण भएको हुन सक्ने अनुमान लगाउँछन् जनस्वास्थ्यविद् तथा इपिडिमियोलोजी महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी ।
गोपनीयताको हक हनन् भयो
नेपालमा कोरोना महामारीको नाममा गोपनीयताको हक हनन् भएको सरोकारवाला बताउँछन् । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मिडियाले गोपनीयताको हकलाई सम्मान नगरेको डा. मरासिनी बताउँछन् ।
कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको परिचय खुलाएर पटकपटक गल्ती दो¥याइरहेको उनको भनाइ छ । ‘संक्रमितको तथ्याङ्क दिँदा सिधै ठाउँ, वार्ड, उमेर भनिन्छ,’ उनले भने, ‘मिडिया र अस्पतालले नाम, उमेर र टोलसमेत प्रकाश पारिदिने काम गरे ।’
यसरी गोपनीयता भङ्ग गरेको खण्डमा चिकित्सकहरूको लाइसेन्ससमेत खारेज हुन सक्ने नियम रहेको उनको भनाइ छ । सूचना आयोगले संक्रमितको नाम छाप्न भने पनि विदेशमा यसरी संक्रमित, मृतकको नाम, ठेगाना तथा परिचय खुल्ने गरी जानकारी सार्वजनिक गर्न नपाइने उनले सुनाए । संक्रमितको गोपनीयता राखेर कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने उनले बताए ।
कोरोना संक्रमितको मृत्यु भएमा मृतकलाई विगतमा मधुमेह, मिर्गौला, मुटु रोग वा अन्य समस्या थियो भनिदिँदा अन्य दीर्घरोगीको मनोविज्ञानमा ठूलो असर पर्ने उनी बताउँछन् । दीर्घरोगी कोरोना संक्रमणले सिधै मर्छन् झैँ गरेर प्रचारप्रसार हुन थालेको भन्दै उनले यस्तो परिपाटी बन्द गर्नुपर्ने बताए ।
दीर्घरोगीलाई संक्रमित अन्य व्यक्तिको तुलनामा समस्या हुने भए पनि जनता माझ सूचना पु¥याउने शैली सही नभएको उनले बताए । ‘दीर्घरोगीले पनि कोरोना संक्रमणलाई जितेका छन्,’ उनले भने, ‘दीर्घरोगीमा कसरी कोरोनाभाइरस सर्न नदिने, कसरी दीर्घरोगी तथा वृद्धवृद्धाको आत्मबल बढाउने भन्ने बारेमा समुदायमा सूचना पु¥याउनुपर्छ ।’
संक्रमितको गोपनीयताको हकलाई ख्याल नगरेका कारण केही मानिसले ६÷७ पटकसम्म पनि पहुँचको आधारमा पीसीआर परीक्षण गरेका छन् भने केहीले गलत नाम, ठेगाना र सम्पर्क नम्बर दिएर परीक्षण गराउने र संक्रमित भएपछि सम्पर्कमा नआएको उनी बताउँछन् ।
गोपनीयताको हक कार्यान्वयन नहुँदा कोरोना संक्रमित निको भएर घर फर्किदा समेत भेदभाव खेप्न बाध्य भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल