केन्द्रीय संस्करण
सामयिक

मूल्यांकनको कसीमा खतिवडाः चुके, चिप्लिए, मार्क्सवादी सिद्धान्तमा प्रतिबद्ध रहेनन् !

‘प्रधानमन्त्रीलाई रिझाएपछि सबै हुन्छ भन्ने सोचले चिप्लिए अर्थमन्त्री खतिवडा’

person explore access_timeभदौ २२, २०७७ chat_bubble_outline0

 

 

अर्थमन्त्रीको पदबाट डा. युवराज खतिवडाले राजीनामा दिइसकेका छन् । उनको राजिनामासँगै उनी कति सफल कति असफल भन्दै विभिन्न तहबाट विश्लेषण तथा बहस शुरु भएको छ । खतिवडा प्रधानमन्त्रीको इच्छा र चाहनाप्रति बढी नै आश्रित हुँदा अर्थतन्त्र दिगो बनाउने गरी काम गर्न नसकेको आरोप उनी माथि लाग्न थालेको छ । सरकारका पूर्व मूख्य सचिव (अर्थविद्) डा. बिमल कोइराला  ‘खतिवडा प्रधानमन्त्रीलाई ज्यादा रिझाउँन खोज्दा  चिप्लिएको’ बताउँछन् ।  उनले भने, ‘प्रधानमन्त्रीलाई मात्र रिझाउँने हुँदा प्रधानमन्त्रीले अह्राएको मात्र काम गर्ने आफ्नो निर्णय कार्यान्वयन गरेनन् । प्रधानमन्त्रीप्रतिको उनको बफादारीमा शंका छ्रैन । तर उनमा भएको प्रतिभा भने देखाउन सकेनन । अर्थतन्त्रलाई बेजोड रुपले पछिसम्म दिगो बनाउने काम केही पनि भएन ।’

अर्का अर्थविद्को पनि खतिवडाप्रतिको धारणा मिल्दोजुल्दो छ ।  प्रा.डा.डिल्लीराज खनाल दुईतिहायको सरकारसँग गर्न सक्ने धेरै अवसर भएपनि यसमा ब्यापक चुकेको बताउँछन् । आमुल परिवर्तनको आश देखाएको बामपन्थी घोषणापत्रलाई सरकारले पछ्याउन नसकेको उनले आरोप लगाए । अर्थतन्त्रको पुर्नसंरचनामा सरकार चुकको उनको धारणा छ ।

अर्थविद् एवं राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको खतिवडाप्रतिको मूल्यांकन पनि खनालसँग मिल्दोजुल्दो छ । अर्थतन्त्रमा रातो सिंग्नल देखाएका खतिवडाले अर्थतन्त्रलाई हरियाली बनाउँन नसकेर रातै छोडेर गएको क्षेत्री बताउँछन् ।  तर खतिवडाको काम गराइको असल पक्षको उल्लेख गर्दै ‘अर्थमन्त्रकिो रुपमा खतिवडाले केही विषयमा भने सिस्टम बसालेको’ क्षेत्री बताउँछन् ।

नेकपाका नेता राम कार्की खतिवडाका  काम, कारवाही र व्यवहारमा मार्क्सवादी बाटो र सिद्धान्तमाथि कहीँ पनि प्रतिवद्धता तथा विश्वास नदेखिएको बताउँछन् ।

अर्थमन्त्रीका रुपमा खतिवडाले गरेका वा गर्न खोजेका कामकारवाहीहरुलाई हामीले कसरी हेर्ने र बुझ्ने भन्नेबारे हामीले विभिन्न व्यक्तिहरुसँग मत मागेका थियौं । प्रस्तुत छः उनीहरुको धारणा जस्ताको तस्तै  उनीहरुकै शब्दमा

बेथिति अन्त्य गर्न व्यापक चुके

प्रा.डा.डिल्लीराज खनाल

चुनावी घोषणापत्र अनुसार संविधानले निर्देश गरेका कुराहरु अघि बढाउने सन्दर्भमा समृद्धिको एजेण्डामा केही पहल शुरुको बजेटमा भए । आर्थिक बृद्धिको लक्ष्य, प्रतिव्यक्ति आयको लक्ष्य, अर्थतन्त्रको संचना, चरित्र, रेमिट्यास आयात, उपभोगमा आधारित केही केही शहर केन्द्रित  र आर्थिक गतिविधि बढ्दै जाँदा त्यसको फाइदा तलतल जानेछ भन्ने उदारवादी मान्यता हो र त्यसलाई हामी सच्याउँछौ र अर्थतन्त्रको आन्तरिक क्षमता बढाउने, रोजगारी दिने, स्रोत र साधान प्रयोग गर्ने, नयाँ ढंगले अर्थतन्त्रको रुपान्तरण गरेर जाने जस्ता विषय राखिएका थिए । श्वेतपत्रमै टेकेर खर्च पुनरावलोकनमा राखिएका ‘टम्र्स अफ रिफरेन्स’, बजेटका कार्यक्रम, रकमान्तर, स्रोत सुनिश्चितता बजेटमा राखिएका थिए । जथाभावी आयोजना छान्ने, सञ्चालन गर्ने, रकमान्तर गर्ने, वर्षको अन्त्यमा सारा पैसा खर्च गर्ने जस्ता विषयमा सच्याउँनुपर्ने थियो तर यथास्थितिमा आन्तरिक र प्राविधिक पक्षबाट मात्र कुराहरुलाई जोड्ने र आधारभुत रुपमा संरचना, संस्थागत परिपाटी, खराब शासन र बेथितिलाई  तोड्ने काम गर्न सकेको देखिएन । दुइ तिहाएको वामपन्थी सरकारले त्यो स्थितिलार्य अन्त्य गर्नुपथ्र्यो ।  त्यसमा ब्यापक रुपमा सरकार चुकेको छ ।

परिपाटीसँगै जोडर डाइभर सिटमा बसेकोले त्यसलाई सुधार गरेर जानुपर्ने थियो तर जान सकेन । अपेक्षित परिणाम आउन सकेन । पहलहरु भए, लगानी सम्मेलन भयो, कानुनमा परिवर्तन र सुधार भए । तर तआम जनताले यथास्थितिमा केही केही मात्र सुधार गरेर जाने परिकल्पनाको आधारमा यो सरकारलाई मत दिएका थिएनन् । अलि अलि सुधार गरेजस्तो गर्नलाई घोषणापत्र बनेको थिएन । अहिलेको स्थितिमा आमूल परिवर्तन र सुधार ल्याउने उदेश्यसहितको घोषणापत्र थियो । आमुल सुधार र परिवर्तन अर्थतन्त्र, जनता र सबैतिरले अनुभुति गर्न पाउने गरी कम्तीमा एउटा आधार खडा गर्नुपथ्र्यो । यसमा केही केही पहल भए तर त्यो दीगो र सफल हुने खालका भएनन् ।

उनको काम राजनीति जोगाउनका लागि मात्र भयो

दीपेन्द्र बहादुर क्षेत्री (अर्थविद्)

मूलतः उहाँले राजनीति जोगाउनका लागि कुनै पनि कुरा गर्न छोड्नु भएन । त्यो खतिवडाको एउटा कमजोर पक्ष हो ।

सकारात्मक कोणबाट हेर्दा अर्थतन्त्रमा एउटा पद्दति बसाल्ने ल्याउने कामको थालनी भएको थियो ।  जस्तै, बैंकबाट ऋण लिन  बढी नाफा देखाउने र कर बुझाउनु पर्दा घाटा देखाउने दुई खालको ब्यालेन्ससिट राख्ने प्रचलन थियो । उनले त्यसलाई अन्त्य गर्दै अर्थात् एकल व्यालेन्ससिटको अवधारणा ल्याए  ।

निर्णय प्रक्रियामा पनि हतारोपन देखियो । उदाहरणको लागि, अपांगता भएका व्यक्तिका लागि दिने भत्ता काटियो तर ठुलो हल्ला खल्ला गरेपछि मात्र पुर्नस्थापित भयो । संवेदनशील किसिमका कुरामा पनि राजनीति हावी भउको देखियो । यस्तै रेलवेको लागि ३५ अर्ब छुट्याइयो तर जग्गा अधिग्रहण गरेको छैन । ठेक्कापट्टा काम  अर्थले गर्ने होइन भनी भनिएला । उनले अर्थमन्त्री भएलगत्तै श्वेतपत्र निकाले तर त्यसमा उल्लेख गरिउका सबै कुराहरु साँचो कुरा थिएनन् । त्यसमा अर्थतनत्रमा खडेरी परेको छ भनिएको थियो । उनले आफ्नो कामलाई सही देखाउँन कतिपय तथ्यमा तोडमोड गरेको पनि देखियो ।

समग्रमा खतिवडाका काम कारवाही परिणाममुखी रहेन । तर अहिले अर्थमन्त्रीको पदबाट राजीनामा दिएर बहिर्गमन भए पनि उहाँ फेर अर्थमा कुनै न कुनै रुपमा फर्केर आउनु हुन्छ जस्तो लाग्छ ।

प्रधानमन्त्रीको आज्ञाकारी मात्र भए

डा. विमल कोइराला, पूर्व प्रशासक

अर्थमन्त्रीको रुपमा खतिवडाको राम्रा काम खासै देखिएन । उहाँ टेक्नोक्र्याट हुनुहुन्छ । उहाँबाट अर्थतन्त्रको पुर्नसंरचनाको आश थियो । तर उहाँका कार्यकालमा ठोस रुपमा नयाँ कुरा केही आएन । अहिलेको चुनौती खर्च घटाउने र जनस्वास्थ्यमा केन्द्रित हुने थियो । तर खर्च घटाउन प्रयास समेत गरेको देखिएन ।  संसद विकास कोष खारेजी, कतिपय विकास अयोजना तत्काल रोक्नुपर्ने र अनुकुल समयमा सञ्चालन गर्नुपर्ने जस्ता कामहरु गर्न सकिन्थ्यो । तर  त्यसमा साहस प्रदर्शन भएन ।

तर पनि उहाँले बिगारेको  पनि छैन अर्थतन्त्र । उहाँको कार्यकाल औसत छ । गैर राजनीतिक पृष्ठभूमिका खतिवडाको कमजोरी नै  प्रधानमन्त्री रिझाएपछि सबै हुन्छ भन्ने सोच्नु रह्यो । अर्थमन्त्रीका रुपमा उहाँबाट राजनीति रुपले व्यापक सहमति खोज्ने काम भएन । त्यसले गर्दा नयाँ काम हुन सकेन । रुटिन काममा अल्झिए गर्न खोजेको काम पनि पुरा भएन ।

खतिवडाबाट प्रधानमन्त्रीलाई मात्र रिझाउनेतिर बढी केन्द्रति हँुदा प्रधानमन्त्रीले अह्राएको मात्र काम गर्ने र आफ्नो निर्णयलाई समेत वेवास्ता गर्नुपर्ने स्थितिमा उहँँ पुग्नुभयो । प्रधानमन्त्रीप्रतिको शंकारहित वफादारिता रहेको उहाँले प्रतिभा भने देखाउनु भएन । फलतः अर्थतन्त्रलाई बेजोड रुपले पछिसम्म दिगो बनाउने काम केही पनि भएन ।

राजनीतिक लगामबिनाको अर्थतन्त्र जहाँ पनि दुर्घटनाको सिकार हुन्छ​

राम कार्की, नेता, नेकपा

अर्थतन्त्रलाई राजनीतिबाट अलग राख्ने कुरा गलत हो । हामी मार्क्सवादीहरु राजनीतिक अर्थशास्त्र भन्छौ । अर्थात् अर्थतन्त्रलाई पनि राजनीतिले डोर्‍याएको हुन्छ । राजनीतिक लगामबिनाको अर्थतन्त्र जहाँ पनि दुर्घटनाको सिकार हुन्छ । 

संसदीय व्यवस्थामा टीमको क्याप्टेनले चाहेको मानिसलाई मन्त्री बनाउँछन् । अर्थमन्त्रीको रुपमा युवराज खतिवडाको छनौट हुँदाखेरि नै म जस्तो मानिसलाई ‘मुलुक समाजवादको दिशातिर जाँदैन,  नवउदारवादी पुँजीवादलाई अझ बलियो बनाउने कोसि गरिन्छ’ भन्ने लागेको थियो ।

अहिले पूर्व अर्थमन्त्री खतिवडापार्टीको केन्द्रिय सदस्य पनि बनाइनु भएको छ । कम्युनिष्ट पार्टीमा यसरी केन्द्रिय समिति बनाउँने चलन एकदमै नयाँ हो । रातारात केन्द्रिय समिति सदस्य बनाइयो उहाँलाई । पार्टी सदस्य बन्नका लागि त माथिल्लो वर्गबाट आएको मानिसले लामो परिश्रम गर्नुपर्छ । म जमानामा कम्युनिष्ट पार्टीमा लागेको व्यक्ति हुँ ।  त्यतिबेला म सँगै गएका, मेरा मातहत काम गर्नेले पहिले सदस्यता पाउनुभयो । मैले त्यसको झण्डै एक डेढ बर्षपछि  मात्रै सदस्यता पाएको थिए । म अलि माथिल्लो हैसियतबाट आएको थिए । अहिले गभर्नर भइसकेका, ठुलो ठुलो पद बहाल गरिसकेका मान्छेलाई रातारात केन्द्रिय समितिमा ल्याइयो । यसमा उनको दोष वा गुण भन्दा पनि हाम्रो पार्टीले गरेको निर्णयमा ध्यान दिनुपर्ने हो ।

अर्थमन्त्रीको रुपमा उहाँको कार्यकाल कस्तो रह्यो भन्ने सन्दर्भमा एउटा उदाहरण प्रस्तुत गर्छु । मेरो निर्वाचन क्षेत्रका सन्दर्भमा धेरै पटक अर्थमन्त्रीलाई  सोधेको थिएँ– अब असार साउनमा पिचरोड बनाउने, हताहतार पुल बनाउने काम रोकिन्छ ? उहाँको जवाफ ‘यो कल्पनै नगर्नुस्’ भन्ने थियो ।  मेरो भनाइ के हो भने, जबसम्म असारे विकास देखिन्छ वा साउनको भेलमा पिचरोड बनाउँदै गरेको देखिन्छ, तब त्यहाँ बुझ्नुपर्‍यो कि अर्थतन्त्रको परम्परागत परिपाटीमा कुनै परिवर्तन भएको छैन । रामशरण महतको पालामा पनि त्यही थियो, प्रकाशचन्द्र लोहनीको पालामा पनि त्यही ।  अर्थतन्त्रमा ठोस र खास पविर्तन गराउँनेतिर कोही गएनन् ।

गलत वा विपरीत अवस्थाको व्यवस्थामा पनि राम्रो मानिसले अलि अलि परिवर्तन गरेर देखाउन सक्छ ।  तर त्यसको लागि विचार र सिद्धान्त मुख्य कुरा हो । निवर्तमान अर्थमन्त्री खतिवडाको सन्दर्भमा कुरा गर्दा, उहाँका काम, कारवाही र व्यवहारमा मार्क्सवादी बाटो र सिद्धान्तमाथि कहीँ पनि प्रतिवद्धता देखिएन, त्यसमा उहाँको अलिकतिपनि विश्वास देखिएन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.