मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईलाई सूर्य थापाको जवाफ : ओली जेल बस्दा तपाईं फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो

सोमबार, २२ भदौ २०७७, ०९ : ५१
सोमबार, २२ भदौ २०७७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशको प्रधानमन्त्री भैसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर प्रश्न गरेका छन् । 

थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? भन्ने प्रश्न गरेका छन् ।  

‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’, थापाले भटटराईप्रति आक्रोश व्यक्त गरेका छन् । 

उनले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महासयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै भट्टराईलाई जवाफ फर्काएका छन् । 

त्यस्तै उनले अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ? भन्दै भट्टराईलाई अरुको सम्मान गर्न चेतावनी दिएका छन् । 

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर र सामुन्नेमा उभिएर  यसो भन्न सक्नुहन्छ ? भन्दै भट्राईले प्रयोग गरेका शव्दहरुको अंश राखेका छन् । ‘ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व... !’ 

थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ भन्दै जवाफ माग गरेका छन् । 

‘तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगा चाहिँ लगाउनै बिर्सेर सामाजिक सञ्जालमा निर्वस्त्र हुन सुहाउँछ त ? तपाईंका आफ्नै निम्न केही शब्द फेरि एकपटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट सञ्चालन र सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?’ थापाले उछितो काढेका छन् । 

के लेखेका थिए भट्टराईले ? 
‘डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन । २÷३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु !’

भट्टराइलाई त्यसको जवाफ दिँदै थापाले भनेका छन्, ‘तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउन चाहिँ छाड्नुस् । बहिदार बन्न सजिलो छ, बही बुझाउन गार्हो भनेको सम्भवतः तपाईंको जस्तै हविगत हुँदा भनिएको होला !’ थापाले पूर्व प्रधानमन्त्री पदको गरिमा र सम्मानको यसरी आफैले खिल्ली उडाएको त जग हँसाइ नै भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप