शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार भन्छन्– कोरोना नियन्त्रणमा सरकारको कदम फितलो भयो

सोमबार, २२ भदौ २०७७, ०९ : ०५
सोमबार, २२ भदौ २०७७

काठमाडौँ । कोरोनाको महामारी दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब ४६ हजार नाघिसकेको छ । दिनदिनै बढ्दो कोरोना सङ्क्रमित रोक्न सरकारद्वारा जारी निषेधाज्ञा धेरै जिल्लामा अझै कायम छ । एक साताका लागि भनेर गरिएको निषेधाज्ञा लम्बिएर गइरहेको अवस्थामा अहिले सङ्क्रमितको सङ्ख्या मात्र होइन उनीहरुको मृत्यु दरसमेत बढिरहेको छ । यो अवस्थामा सबै वर्गका मानिस डरले चिन्तित र भयभित छन् । त्यसको अलवा उनीहरुमा आगामी दिनमा दैनिक गुजारा कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
यहीबीचमा रातोपाटीले केही कलाकारलाई सरकारले गरेको निषेधाज्ञा र कोरोना नियन्त्रणका लागि चालिएको यो कदम ठीक कि छैन ? आगामी दिनमा कस्तो कदम चाल्नुपर्छ ? भन्ने जिज्ञासा राखेको थियो । उक्त जिज्ञासामा कलाकारले दिएको जवाफ जस्ताको तस्तैः

जितु नेपाल (कलाकार) 
निषेधाज्ञाले कोरोना नियन्त्रण भएको छैन । यसका लागि जनतालाई सजक र सतर्क गराउनु पर्छ ।

प्रदीपकुमार उदय (फिल्म निर्माता, प्रदर्शक)

 निषेधाज्ञा मात्र समस्याको समाधान होइन । त्यसैले सरकारले उचित व्यवस्थापन गरेर जनजीवन सामान्य बनाउने प्रयास गर्नुपर्छ । यो महामारी कहिलेसम्म हो भन्ने यकिन नभएको अवस्था हुँदा निषेधाज्ञा कहिलेसम्म गर्ने ? त्यसैले अब निषेधाज्ञा होइन, यो महामारीको बीचमै जनजीवन सामान्य बनाउने योजनामा सरकार लाग्नुपर्छ । नत्र कोरोनाले भन्दा अन्य कारणले जनता मर्नुपर्ने अवस्था आउँन सक्छ । 

उत्तम केसी (कलाकार)
लकडाउन र निषेधाज्ञा मात्र गरेर पुग्दैन । कोरोना परीक्षण तीव्र र व्यापक बनाउनु जरुरी छ । सरकारी परीक्षण कम भएको अवस्थामा प्राइभेटबाट पनि परीक्षण सरकारको जस्तै सुलभ बनाउनु पर्छ ।
सरकारी परीक्षण पहुँच नहुने र प्राइभेट महँगो भएको कारणले कमजोर आर्थिक स्थितिका जनता रोग लुकाएर बसेको अवस्था छ अहिले । त्यसले पनि सङ्क्रमण बढेको अवस्था छ । परीक्षण सुलभ गर्नुपर्छ । 
अरू वैकल्पिक बाटो पनि खोज्नुपर्यो । निषेधाज्ञाले जनता भोकै मर्ने अवस्था भएको छ । सरकारले जनताका लागि राहतको प्याकज ल्याउनु पर्यो ।

स्वस्तिमा खड्का (अभिनेत्री) 
देशमा जुन हिसाबले कोरोना सङ्क्रमण बढेको छ त्यो हिसाबमा हेर्ने हो भने निषेधाज्ञा ठीक हो । तर लकडाउन र निषेधाज्ञा मात्र पूरै विकल्प होइन । काम गरेर खाने वातावरण पनि बनाउँदै गर्नुपर्छ । 

कस्तुप पन्त (लोक गायक ) 
जनतालाई घरभित्र थुरेर मात्र यो महामारी रोकिने होइन । जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा आइसकेको छ । गरिबीको रेखामुनि रहेका नेपालीलाई राहतको व्यवस्था खोई । न त स्वस्थ्य सेवाबाट आम नागरिक सन्तुष्ट हुने वातावरण छ । जनताको जीवन स्तर दिन प्रतिदिन खस्कँदै छ । निषेधाज्ञा जारी गरिसकेपछि स्वस्थ्य परीक्षणमा पनि तीव्रता दिनुपर्यो । सर्वसाधारणले खान पाउनु पर्छ कि पर्दैन ।

गजित विष्ट (अभिनेता) 
निषेधाज्ञा लागू गरेर मात्र समस्या समाधान हुने होइन । के कारणले गर्दा हामीले सङ्क्रमण नियन्त्रण गर्न सकेको छैनौँ ? त्यसको गहिराइमा पुग्नु जरुरी छ । विदेशका केही देशमा कोरोना नियन्त्रण भएको छ । त्यो के कारणले भयो । हाम्रो देशको परिस्थितिअनुसार के गर्दा हुन्छ ? सबैतिर ध्यान दिनु अवश्यक छ । बढ्दो सङ्क्रमणको अवस्थामा स्वस्थ्य सामग्री प्रयाप्त मात्रामा छ कि छैन ? त्योतिर ध्यान दिनुपर्छ । सर्वसाधारणको दैनिक रोजीरोटीका लागि व्यवस्था गर्नु जरुरी छ । वास्तवमा देश भित्रिने नाकामा कडाइ गर्नुपर्छ । निषेधाज्ञा जारी गरेर मात्र सङ्क्रमण रोकिन्छ भन्नेमा विश्वास गर्न सकिन्न । अहिलेसम्मको अभ्यासको अनुभवले यही भन्छ ।

सीताराम पोखरेल (गायक तथा समाजसेवी) 
केही समयका लागि गरेको यो निषेधाज्ञा अब पुग्यो । बिहान ११ बजेसम्म बजार खोलेर केको निषेधाज्ञा ? सरकारले जनतालाई मुर्ख सम्झिएको छ । अब सबै क्षेत्र चलायमान गराएर आर्थिक उन्नति गर्नुपर्छ । 
अब हामी काम भए निस्कन्छौँ नभए सजक भएर घरमै बस्छौँ । यो अवस्थामा सरकारको उपस्थिति खोई जनतामा । सर्वसाधारण खान नपाएर मर्न थालिसके । घरमा धेरै बस्यो भने मानसिक समस्या निम्तिन्छ । कोरोनाको अस्पताल खोई, टेस्ट खोई । सरकारले कोरोनाबाट यति मरे र यति बढे भन्ने बाहेकको काम के गरेको छ र ?

शिवशङ्कर रिजाल ‘जोगिन्दर’ (कलाकार) 
यसरी निषेधाज्ञा गरेर समस्या हल हुँदैन । यस्तो परिस्थितिले झन् जनतामा नकारात्मक विचार पैदा हुन्नसक्छ  । त्यसैले सामाजिक दूरी कायम गरी अनिवार्य मास्क लगाउन लगाई साथमा सेनिटाइजर बोकेर स्वास्थ्य मन्त्रालयले अवलम्बन गरेका नीति र नियमलाई पूर्ण रूपमा पालाना गरी काम गर्ने वातावरण बनाउनु राम्रो हो ।
यस्ता निषेधाज्ञा हटाउनु नै राम्रो देख्छु । किनकि अब चाडपर्वहरु पनि आइरहेका छन् । जनता ६ महिनादेखि बन्द कोठामा थुनिएका छन् । मानिस रोगभन्दा भोकले अठ्यारोमा परिसके । 

इन्दिरा भट्टराई (गायिका) 
व्यवस्थित आइसोलेसन केन्द्र निर्माण गर्नु पर्यो । आइसोलेसन केन्द्रमै कोरोना सङ्क्रमितको उपचार हुनु पर्यो । सरकारले गरेका निर्णय व्यवहारमा लागू हुनुपर्यो । सबै जनताको एक पटक पीसीआर टेस्ट निःशुल्क हुनुपर्यो । विदेशमा रहेको नेपाली फर्कन चाहेमा उचित व्यवस्थापन गर्नुपर्यो । सर्वसाधारणका लागि राहतको व्यवस्था हुनुपर्यो । विगत ६ महिनामा के गल्ती भयो, के कारणले कोरोना झन् बढ्यो ? त्यसको कारण पत्ता लगाएर निवारणतिर लाग्नु पर्यो ।

सन्तोष लोहनी (फिल्म निर्देशक) 
निषेधाज्ञा गर्नुपर्छ । त्यसका लागि सबै व्यवस्था गरेर गर्नुपर्ने थियो । जो दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग छन् तिनका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।  सबैले सुरक्षाका उपाय अपनाएर आफ्नो काम गर्न पाउनुपर्छ । कोही पनि आफ्नो जरुरी कामबाट वञ्चित हुनु हँुदैन । कोही भोकै बस्नुपर्ने अवस्था आउनु हुँदैन ।

कर्णराज गिरी (गायक) 
एक हिसाबले सरकारले चालेको यो कदम राम्रो हो ।  तर दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरुका लागि भने यो ठूलो समस्या भएर आएको छ । यसरी लकडाउन, निषेधाज्ञा गर्ने हो भने सरकारले सर्वसाधारणका लागि राहतको व्यवस्था गर्न सक्नुपर्छ ।

साहिमा श्रेष्ठ (गायिका) 
सीमित अवधिका लागि लकडाउन उपयुक्त होला । यो अवधिमा कोरोना देखिएको व्यक्ति पहिचान गरेर उनीहरुको कन्ट्याक्ट ट्रेसिङसमेत गर्न सजिलो हुन्छ । कोरोना भेटिएको स्थान सिल गर्नुपर्छ ।

नवीन पौडेल (लोक गायक) 
सरकारले हरेक जनताको सुरक्षाका लागि अनेक उपाय अवलम्बन गरिरहेको छ । जे गर्नुपर्ने हो त्यो गरेको देखिँदैन । भाषणमा मात्र ठूलाठूला कुरा गरेर कोरोना नियन्त्रण हुँदैन । एक हिसाबले भन्ने हो भने लकडाउन, निषेधाज्ञा ठीक हो ।

तर जनतालाई घरमा थुनेर आफूहरु कुर्सीकै लडाइँमा मस्त हुनु लाजमर्दो कुरा हो । सरकारको सम्पूर्ण स्वास्थ्य संयन्त्र परिचालन गरेर कोरोनाको परीक्षणको दायरा व्यापक बढाउनु पथ्र्यो । तर यहाँ त कोरोना लागेको बिरामी भेटिँदा समेत बेवास्ता गर्नु राज्य सञ्चालकहरुको निर्लज्ज काम हो । घरमा थुनिएका मान्छेहरुलाई दुई छाक टार्ने व्यवस्था खोई ? नागरिकको अभिभावकत्व सरकारले पूरा गरेको खोई ? । मेरो विचारमा कोरोना हरेकको चेक गर्नुपर्छ । अनि मात्र नियन्त्रण हुन्छ ।

पवित्रा आचार्य (अभिनेत्री) 
समस्याको समाधान निषेधाज्ञा मात्र हो जस्तो मलाई लाग्दैन । अब कोरोनाको डरभन्दा पनि बढी दैनिकी कसरी चलाउने भन्ने चिन्ता भएको छ सबैमा । यसले भोलिको दिनमा कोरोनाभन्दा पनि भयावह रूप लिन सक्छ । 

त्यसैले समयमै सचेत भई सुरक्षाका उपाय अपनाउँदै व्यापार, व्यवसाय र कामहरू सुचारु गर्न दिनुपर्छ । जबसम्म जनता आफै सुरक्षित, सचेत हुँदैनन् तबसम्म जति लकडाउन, निषेधाज्ञा गरे पनि कोरोना रोकथाम हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप