बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ कोरोना जितेका ‘हाइप्रोफाइल’को सुझाव

सोमबार, २२ भदौ २०७७, ०६ : ३७
सोमबार, २२ भदौ २०७७

काठमाडौं – कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् ।

संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ ।

सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको सल्लाह सुझावलाई मनन गर्नुपर्छ ।’

उनले संक्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए ।

विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । उनले जो सुकै पनि संक्रमित हुन सक्ने भन्दै कसैलाई कोरोना भइहाले समाजले अपहेलना गर्न नहुने बताए ।

उनले भने, ‘सबैभन्दा ठूलो कुरा त रोग लाग्न नदिनु हो । कोरोनासँगै जिउन सिक्नुपर्छ ।’ उनले संक्रमण हुन नदिन सरसफाइ, भौतिक दूरी र मास्कको समुचित प्रयोगलाई विशेष ध्यान दिनुपर्ने बताए । डा. कार्की ११ दिन आइसोलेसनमा बसेका थिए ।

सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले संक्रमण भएको तर आफूलाई कुनै लक्षण नदेखिएको बताए ।

सांसद बोगटीले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहिरहन्छ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन् ।

उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना संक्रमणबाट मुक्त भएको छु ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप