बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वामदेव गौतमविरुद्ध तारा बराल गौतमको प्रधानमन्त्रीलाई निवेदन

आइतबार, २१ भदौ २०७७, १९ : ०२
आइतबार, २१ भदौ २०७७

काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटमा आफूलाई नियुक्त गरियोस् भनेर भरतपुर चितवनकी तारा बराल गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् । आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि आफू योग्य भएको उल्लेख गर्दै निवेदन दिएको रातोपाटीलाई जानकारी दिइन् । उनले यदि आफूलाई नियुक्त नगरी सरकारले चित्तबुझ्दो जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने समेत बताएकी छिन् । 

उनले राष्ट्रियसभा जस्तो गरिमायुक्त सदनलाई चुनाव हारेका व्यक्तिहरु थुपार्ने ठाउँ बनाउन लागेको भन्दै त्यसको गरिमालाई कायम राख्न आफू योग्य व्यक्ति भएको उनको जिकिर छ ।  सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ । यद्यपि यसबारे सरकारले हालसम्म राष्ट्रपतिलाई सिफारिस भने गरेको छैन । सो स्थानका लागि तारा बराल गौतमले पनि आफ्नो दावी पेश गरेकी हुन् ।  

त्रिभूवन विश्वविद्यालयमा मानवशास्त्र संकाय अन्तर्गत एमफिल दोश्रो सेमेष्टरमा अध्ययन गरिरहेको बताउने गौतमले ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै आफूले राष्ट्रियसभा सदस्यका लागि निवेदन दिएको उल्लेख गरिन् । 
उनले आफू राजनीतिक दलसँग आवद्ध नभएको र कुनै दलको साधारण सदस्यता पनि नलिएको दावी गरेकी छिन् । 

तारा बराल गौतमको भनाई उनकै शब्दमा : 
मैले आफू राष्ट्रियसभाको सदस्य बन्न पाउँ भनेर प्रधानमन्त्रीको कार्यालयमा निवेदन हालेको छु । राष्ट्रिय सभा भनेको मुलुकको सबैभन्दा ठूलो सदन हो । त्यो सदन भनेको नेकपाको निजी सदन मात्र हैन सारा ३ करोड नेपालीको साझा संस्था हो । त्यस्तो गरिमा बोकेको संस्थामा हारेका व्यक्तिहरु मात्र थुपार्दा त हाम्रो राष्ट्रको गरिमा नै धुमिल भइसक्यो । त्यसकारण चुनाव हारेका व्यक्तिहरुलाई त्यहाँ लानुभन्दा यदि मान्छेकै खाँचो हो भने म योग्य छु भनेर मैले निवेदन हालेको हुँ । 

मैले सिंहदरबार पुगेर निवेदन दिएको छु । प्रधानमन्त्रीले तोक लगाउनुपर्छ भनेर त्यहाँका कर्मचारी र सुरक्षाकर्मीले भनेका छन् । कर्मचारीले क्यामेराले निवेदनको फोटो पनि खिच्नुभएको छ र दर्ता भएपछि दर्ता नम्बर उपलब्ध गराउँछु पनि भन्नुभएको छ । मैले प्रधामन्त्रीलाई सम्बोधन गर्दै बालुवाटारलाई सम्बोधन गरेको भएर सचिवले तोक लगाउन नमिल्ने भन्नुभएको छ । तपाईले भोली बिहानसम्ममा दर्ता नम्बर पाउनुहुन्छ भन्नुभएको छ । 

सरकारले राष्ट्रियसभा सदस्यका लागि योग्य व्यक्ति नै नपाएर चुनाव हारेका मान्छेलाई नियुक्तिका लागि सिफारिस हाल्न लागेको हो कि भनेर मैले निवेदन दिएकी हुँ । योग्य उम्मेदवार नभेटेपछि हामी जस्ता योग्य उम्मेदवार अघि सर्नुपर्यो नि । 

संघीय संसदको प्रतिनिधिसभामा राजनीतिक दलका उम्मेदवार जितेर जान्छ भने राष्ट्रिय सभामा ३ करोड नेपालीबाट स्वतन्त्र व्यत्ति पनि जान सक्ने व्यवस्था छ । त्यसका लागि त्यो सदनको व्यवस्था गरेको हो । पार्टीकै मान्छे लाने अनि चुनाव हारेकै मान्छे लाने यस्तो व्यवस्था पनि कहिँ हुन्छ र ? राष्ट्र जोगाउने सारा नेपालीलाई हेर्ने निष्पक्ष मान्छे पनि त्यहाँ चाहियो नी भनेर मैले पूरै खुलाएर दिएको छु । 

कुनैपनि पदका लागि निवेदन दिँदा यो पदका लागि म यस कारणले योग्य छु भनेर खुलाउनुपर्ने बाध्यता हुन्छ । प्रतिस्पर्धामा जानका लागि आफूले योग्यता देखाएर त्यसलाई सावित गर्नुपर्ने हुन्छ । म योग्य छ कि छैन उनीहरुको विवेकले छुट्टयाउने कुरा हो । 

अहिले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजानका लागि प्रक्रिया त अगाडि बढाएको छैन, पार्टीले निर्णय गरेको मात्र हो । मेरो निवेदन परेपछि बामदेव गौतम योग्य कि म योग्य भनेर उनीहरुले छुट्याउनुपर्ने हुन्छ । वामदेव म भन्दा योग्य देखाए भने म के कारणले अयोग्य भनेर उनीहरुले पुष्टि गर्नुपर्छ ।

यदि मलाई अयोग्य ठहर्याएर चुनाव हारेको वामदेवलाई योग्य ठहर्याए भने म त्यसको कानूनी जवाफ पनि खोज्छु । मलाई लिखित जवाफ चाहिन्छ भनेर उल्लेख गरेर नै निवेदन हालेको छु । यदि मलाई अयोग्य ठह¥याइयो भने हारेको व्यक्ति योग्य र म किन अयोग्य भनेर अदालत जाने सोच पनि बनाएको छु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप