शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा बंगलादेशबाट मल ल्याउन कति सहज ?

मल आयात नगर्ने कम्पनीमाथि कारबाहीको तयारी
आइतबार, २१ भदौ २०७७, १५ : २७
आइतबार, २१ भदौ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग सापटीमा मल दिन आग्रह गरेपनि सो मल बंगलादेशले दिने/नदिने टुंगो लागिसकेकाे छैन । यदि बंगलादेशले मल दिन सहमति जनाएमा नेपालमा कसरी ल्याइएला भनि चर्चा परिचर्चा सुरु भएको छ ।

भारतको बाटो हुँदै बंगलादेशको मल नेपाल आइपुग्ने भएकाले सो मल आयात गर्न सहज नरहेको कतिपयको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले आफूहरुले बंगलादेशलाई पत्र पठाएपछि प्रतिक्रिया आइनसकेको बताए । 

उनले भने, हामीले बंगलादेशलाई पत्र पठाएका छौं । तर उताबाट कुनै प्रतिक्रिया आएको छैन, प्रतिक्रियाको प्रतिक्षामा छौं ।’ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको कृषि मन्त्रालयलाई सहयोग अथवा सापटीमा मल दिनका लागि आग्रह गर्दै पत्र पठाएको उनको भनाइ छ । 

बंगलादेशबाट मल नेपाल आउने एकमात्र बाटो भनेको भारत हो । यदि भारतले असहयोग गरेको खण्डमा बंगलादेशको मल नेपाल आउन गाह्रो रहेको रासायनिक मलको कारोवार गर्ने जानकारहरु बताउँछन् ।

बंगलादेशबाट सिधै भारत हुँदै रेलबाट विराटनगरको  जोगवनी नाकासम्म आउन सकिन्छ  । अर्को बाटो भनेको पानी जहाज हो । बंगलादेशबाट पानी जहाजमा कलकत्ता बन्दरगाहमा र त्यहाँबाट मात्र नेपाल आउँन सकिन्छ ।

यी दुवै बाटो भारत हुँदै आउने भएकाले नेपालले सहजै मल प्राप्त गर्न सक्नेमा शंका रहेको जानकारहरु बताउँछन् ।

मलको अभाव भएपछि नेपाल सरकारले पहिला चीनसँग कुरा गरेको थियो । चीनबाट मल खरिद नै गर्ने गरी छलफल भएको थियो । तर त्यहाँबाट नेपाल ल्याउन बाटोको समस्या भएको कारण चीनको मल नल्याउने निर्णयमा सरकार पुगेको थियो ।  त्यसपछि नेपालले बंगलादेशसँग कृषि मन्त्रालयले कुरा गरेको थियो ।

सधैँ भारतबाट खरिद गरिने रासायनिक मलको समस्याबारे नेपालले योपटक भारतसँग नभएर  अन्य मुलुकसँग कुरा भएको हो ।  सरकारले पहिला चीनसँग छलफल गर्यो, त्यसपछि भारतसँग औपचारिकताका लागि मात्र कुरा गरेपनि फेरि बंगलादेशसँग सापटी मागेको हो । यसरी भारतलाई महत्व नदिइ अन्य देशसँग मल आयातबारे छलफल अघि बढाउँदै गर्दा असन्तुष्ट भइ भारतले असहयोग गरे आयातमा समस्या हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

ती अधिकारीका अनुसार यदि भारतले असहयोग गरे बंगलादेशबाट मल ल्याउन गाह्रो छ । ‘नेपालले बंगलादेशसँग मल ल्याउने कुरा गर्नु भनेको भारतलाई चिढाउनु हो’, मन्त्रालयका ती अधिकारीले भने, ‘भारतसँग प्रभावकारी ढंगले छलफल गरेको भए भारतले नै मल दिनसक्थ्यो  ।’ पछिल्लाे समय नेपाल भारतबीच सीमा विवादको कारण चिसिएकाे सम्बन्धका कारण मल ल्याउनेबारे प्रभावकारी पहल हुन नसकेकाे बताइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको बारेमा दिएको अभिव्यक्तिका कारण भारतको कलकत्ता बन्दरगाहमा पहिलादेखि रहेको मल ल्याउन समेत समस्या भएको छ  । कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कलकत्ता बन्दरगाहबाट मल ल्याउन निकै सास्ती भोग्नु परेको बताइएको छ । 


‘मल ल्याउन भारतबाट निकै असहयोग भयो, साल्टका एक पदाधिकारीले भने, ‘नेपाल र भारतको पछिल्लो सम्बन्धलाई लिएर रासायनिक मल ल्याउनमा हामीलाई निकै गाह्रो भयो । बंगलादेशबाट मल ल्याउन थप अप्ठ्यारो हुन सक्छ ।’

नेपालले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएको हुनाले बंगलादेशसँग माग गरेको हो । बंगलादेशले मल दिने भयो र मल त्यहाँबाट सहज रुपमा नेपालसम्म आयो भने पनि १५ देखि २० दिन लाग्नसक्छ । धानका लागि मल माग गरिए पनि किसानले त्यो मल धानका लागि प्रयोग गर्न पाउने छैनन् । 

धानलाई तत्काल चाहिएकाले बंगलादेशबाट त्यो मल आयो भने किसानले गहुँ र तरकारी खेतीका लागि मात्र प्रयोग गर्न सक्छन् । धान खेतीका लागि शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले सरकारसँग गरेको सम्झौत अनुसार समयमा मल आपूर्ति नगरेको कारण मलको हाहाकार भएको हो ।

गत पुस माघमा गरेको सम्झौताअनुसार भदौं २० गतेसम्म दुवै कम्पनीले ५० हजार टन मल ल्याउनुपर्ने भएपनि त्यसो हुन नसकेको हो । यसैबीच यी दुवै कम्पनीलाई कृषि मन्त्रालयले कारवाही गर्ने तयारी गरेको छ । आज ती दुई कम्पनीमाथि कारवाहीको घोषणा गर्ने तयारी मन्त्रालयले गरिरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप