बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाममा गेमचेन्जर बन्ला र्‍यापिड एन्टिजेन परीक्षण ?

आइतबार, २१ भदौ २०७७, १३ : २७
आइतबार, २१ भदौ २०७७

विलियम ए हसेलटाइन

विश्वले सुरक्षित र प्रभावकारी कोभिड–१९ खोपको प्रतिक्षा गरिरहेको छ, तर यहाँ त्यस्तो रणनीति पनि छ जसले औषधि विकास हुनअघि नै कोरोना महामारी अन्त्य गर्नसक्छ ।

कम लागतको यो रणनीति व्यक्तिगत स्वतन्त्रतालगायत अमेरिकी दर्शनअनुकुल छ र यसमार्फत महामारीलाई दुुई वा तीन महिनाभित्र रोक्न सकिन्छ । यस रणनीतिअन्तर्गत ¥यालमा आधारित र्‍यापिड परीक्षण किट वितरण गरेर त्यसलाई घरमै प्रयोग गर्दै संक्रमितको छिट्टै पहिचान गर्न तथा उनीहरुलाई आइशोलेसनमा राख्न सकिन्छ । अमेरिकामा आज सम्भवत धेरै संक्रमित भइसकेका छन् र कन्ट्याक्ट ट्रेसिङ झन्डै असम्भव देखिन्छ । यस्तोमा यो रणनीतिले कन्ट्याक्ट ट्रेसिङको आवश्यकता पनि कम गर्नसक्छ ।

कोरोना भाइरसबारेको हाम्रो ज्ञानसँगै हाम्रो अत्याधुनिक प्रविधिमार्फत यो रणनीति सम्भव हुन्छ । उदाहरणका लागि, अहिले हामीलाई कोभिड–१९ संक्रमण भएकाहरुले छोटो समयमै (सायद लक्षण देखिनुअगावै) र त्यसपछि झन्डै १० दिनसम्म उनी निरन्तर संक्रमण सार्छन् भन्ने थाहा छ ।

यस अवधिमा अर्बौँ नभएपनि दशौं लाख भाइरसका कणहरु श्वासनलीमा जम्मा हुन्छन्, जब संक्रमित व्यक्तिले खोकी, थुक वा सिगान निकाल्छन् वा चर्को स्वरमा बोल्छन्, तब ती कणहरु हावामा फैलन्छन् । 

यो छोटो अवधि परीक्षण र आइशोलेसनका लागि महत्त्वपूर्ण छ । यही अवधिमा मानिसहरुले संक्रमण अरुलाई सार्छन् ।

भाइरल जेनेटिक मेटेरियल पहिचान गर्ने पोलिमरिस चेन रियाक्सन अर्थात् पीसीआर परीक्षण अहिले हाम्रो रोजाईमा छ किनकी यसले रोग पहिचानमात्रै नभए भाइरसको मात्रा पनि पत्ता लगाउनसक्छ ।

पीसीआर परीक्षणको समस्या भनेको यसमा समय धेरै लाग्छ, महँगो छ र उत्पादन गरेर ठूलो परिमाणमा वितरण गर्न कठिन हुन्छ । मागअनुसार यसको सेवा उपलब्ध गराउन देशभरका ल्याबहरुले संघर्ष गरिरहेका छन् र धेरै बिरामीहरुले नतिजाका लागि १० दिनभन्दा बढी कुर्नुपरेको छ, जसले परीक्षणलाई व्यर्थ बनाइदिन्छ ।

१५ मिनेटभित्र नतिजा दिनसक्ने र्‍यापिड एन्टिजेन परीक्षणको विकास गेम चेन्जर साबित हुनसक्छ । भाइरसका लागि अद्वितिय रहेका प्रोटिनहरु पहिचान गर्ने यस्तो परीक्षण अमेरिकामा सोचेजसरी उपभोग भएको छैन । यद्यपी, एन्टिजन परीक्षणलाई बढाउने योजना बनेको छ । पीसीआर परीक्षणको दाँजोमा विश्वसनीयता कम भएपनि निरन्तर रुपमा व्यापक प्रयोगमा ल्याउन सके यसले संक्रमण सार्नसक्ने झन्डै सबै व्यक्तिको पहिचान गर्नसक्छ । भाइरस स्याम्पल संकलनमा परिवर्तन गर्दा परीक्षणको दायरा पनि थप फराकिलो हुन्छ । सरकारी स्वीकृतिप्राप्त ल्याबहरुमा नतिजा विश्लेषण हुनअघि परीक्षणका क्रममा नेजोफरेन्जियल स्वाव (नाकको प्वालबाट घाँटीको माथिल्लो भागमा पुग्नसक्ने लामो स्वाब)  प्रयोग गरेर स्याम्पल लिनका लागि तालिमप्राप्त स्वास्थकर्मीको आवश्यकता पर्छ ।

अहिले नयाँ अनुसन्धानअनुसार परीक्षणका लागि ¥याल विश्वसनीय स्रोत हो । कम्पनीहरुले अहिले त्यस्ता सामान्य एन्टिजेन परीक्षण विकास गरिरहेका छन्, जसको प्रयोगपछि नतिजा थाहा पाउन कठिन मेसिनको आवश्यकता पर्दैन । र, प्रेगनेन्सी टेस्टजस्तै सहजखाले सेटअप जसले खकारको नमुना जाँच गरेर दशौँ लाख अमेरिकीहरुलाई आफै परीक्षण गर्न सहज बनाइदिन्छ ।  यसमार्फत वयस्कहरुले आफु र आफ्ना बालबालिकाको परीक्षण सहजै आफैं गर्न सक्छन् । स्कुल र कार्यस्थलमा अन स्पट जाँच गर्दा घरमा परीक्षण गर्न नचाहनेहरुको पनि पहिचान हुनसक्छ ।

सबै अमेरिकीहरुको घरमै निशुल्क परीक्षण अन्तिम लक्ष्य हुनसक्छ । कम्प्युटर पद्धतिबाट गरिएको एक अध्ययनअनुसार एकदेखि तीन दिनमा सबै अमेरिकीहरुको परीक्षण गरियो भने संक्रमणको फैलवाट ८० प्रतिशतले कम हुनसक्छ, सायद महामारीलाई तीव्र रुपमा अन्त्य गर्न यो पर्याप्त छ ।

यदी हामीले हरेक तीन दिनमा सिंगो अमेरिकी जनसंख्याको परीक्षण गर्ने हो भने दैनिक झन्डै १० करोड परीक्षण गर्नुपर्ने हुन्छ । यस्तोमा आफै गर्न  सकिने परीक्षणको मुल्य प्रतिव्यक्ती ५० सेन्टभन्दा माथि हुनुहुँदैन । यो कहिल्यै नसुनिएको कुरा पनि होइन, अमेरिकी कम्पनी एबोट्ट ल्याबोरेटोरिजले इजिप्टका झन्डै ६ करोड जनताको परीक्षणका लागि प्रतिव्यक्ति ५० सेन्टका दरले भर्खरै पर्याप्त र्‍यापिड हेपाटाइटिस सी टेस्ट उपलब्ध गराएको थियो ।

यो कार्यक्रमको उच्च चरण झन्डै दुईदेखि तीन महिनासम्ममात्रै कायम रहनसक्छ । १ सय दिनसम्म हरेक दिन ५० सेन्टका दरले १० करोडमा परीक्षण गर्दा कुल खर्च झन्डै ५ बिलियन डलरको हाराहारीमा आउँछ । महामारीका कारण अमेरिकी अर्थतन्त्रले २०३० भित्र झन्डै ८ ट्रिलियन डलर मुल्य चुकाउनुपर्ने अनुमान संसदीय बजेट कार्यालयले गरेको छ, त्यसको तुलनामा यो निकै सानो रकम हो ।

पोजेटिभ परीक्षण भएका मानिसका लागि, आवश्यक परेमा उनीहरुको परिवारका सदस्यको निगरानीमा आवश्यक सुविधासहितको आइशोलेसन अर्थात् एसिस्टेड आइशोलेसनको व्यवस्था यस रणनीतिको दोस्रो पाटो हो । पोजेटिभ परीक्षण भएका सबै मानिस आर्थिक र शारिरीक रुपमा १० दिन आइशोलेसनमा बस्न सकुन् भन्ने यसको उद्देश्य हो ।

एसिस्टेड आइशोलेसनका लागि आवश्यकताअनुसार खाद्यान्न, औषधी र सेल्टरको उपलब्धता सुनिश्चित गर्न आर्थिक र सामाजिक सहयोगको आवश्यकता पर्छ ।  अहिले औसत ४० हजार अमेरिकीहरुमा दैनिक सार्स–कोभ–२ पोजेटिभ देखिएको छ ।

तथ्यहरुले देखाएअनुसार शंकास्पद र बिरामीलाई परीक्षण गर्ने अहिलेको हाम्रो रणनीतिले वास्तविक वा सम्भावित संक्रमितको तप्कालाई मात्रै पहिचान गर्छ ।

मेरो प्रस्तावित रणनीति सफल पार्न संक्रमित लगभग सबै परिवारका लागि एसिस्टेड आईशोलेसनको प्रबन्ध गर्न अमेरिकी सरकार तयार हुनैपर्छ, गुमेको आयलाई परिपुर्ति गर्न भत्ता बढाउनुपर्छ र आफ्नो घरपरिवारका सदस्यमा संक्रमण देखिएको विषय जानकारी गराउन अफ्टेरो महसुस गर्नसक्ने व्यक्तिहरुको सहभागीतालाई प्रोत्साहित गर्नुपर्छ ।

अनुमान गरौँ, तीन महिनासम्म दैनिक एक लाख नयाँ पारिवारलाई एसिस्टेड आइशोलेसन आवश्यक पर्नसक्छ । यदी प्रत्येक परिवारलाई कम्तिमा १० दिनसम्म आइशोलेसनमा राखियो र हरेक परिवारको खाद्यान्न, वासस्थान र आयको क्षतिपुर्ति प्रतिदिन झन्डै ५ सय डलर हुन आयो भने तीन महिने कार्यक्रममा अर्को ५० बिलियन डलर खर्च हुनसक्छ ।

यसरी कोभिड–१९ नियन्त्रण रणनीतिको प्रत्यक्ष खर्च कुल ५५ बिलियन डलर हुन आउँछ । राष्ट्रिय ऋणको धेरै ट्रिलियन्स डलर र गुमेको आर्थिक अवसरको दाँजोमा यो निकै कम हो ।

गत मेमा हार्वडले जनस्वास्थ कार्यालय, कन्ट्याट ट्रेसिङ जनशक्ती, परीक्षण क्षमता वृद्धी, क्वारेन्टाइन सुविधा र मानिसलाई सेल्फ–आईशोलेनसनका दौरान आयको सहयोग गर्न माग गर्दै यस्तै प्रस्ताव ल्याएको थियो । त्योझन्डै ७४ बिलियन डलरको प्रस्ताव थियो । कोरोनाबारेको हाम्रो ज्ञान र प्रविधिमा देखिएको सुधारको अर्थ आजको दिनमा हामीले अझै चाडैं र पहिलो कल्पना गरेभन्दा सस्तो खर्चमा काम गर्नसक्छौँ ।

घरेलु परीक्षण–एसिस्टेड आइशोलेसन रणनीतिले महामारीको अन्त्य गर्नेछैन, तर यसले नियन्त्रणमा अवश्यक ल्याउनेछ । जब नयाँ घटना देखिन्छन्, तब यसलाई स्थानीय रुपमै रोकथाम गर्न सकिनछ । यो रणनीतिअनुसार हामी कार्यस्थल वा विद्यालयमा सुरक्षित साथ जानसक्छौँ, हामीलाई दोस्रो वा तेस्रो संक्रमणको लहर फैलने भय हुनेछैन । यो रणनीति लागु गर्दा नयाँ संक्रमण रोकथामका लागि सुरक्षित र प्रभावकारी भ्याक्सिन तथा औषधी विकासमा हामीलाई चाहिएको समय पनि उपलब्ध हुुनेछ । र, बिरामी हुने थोरै व्यक्तिको ज्यान पनि बचाउनसक्छौँ ।

(हसेलटाइन अमेरिकी वैज्ञानिक, लेखक तथा विचारक हुन् । एचआईभी एड्स र मानव जिनोमबारे आफ्नो कामका लागि उनी प्रसिद्ध छन् । यो लेख सिएनएनबाट अन्वेषण अधिकारीले साभार गरेका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप