
‘चट्याङ मास्टर’लाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौ । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपाललाई प्रदान गरेको छ ।
एजिङ नेपालले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरू मध्ये सर्वोत्कृष्ट ठहरिएकाले यो पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो ।
प्रत्येक वर्ष विश्व शिक्षा दिवस( सेप्टेम्बर ८ )का दिन युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कारको विजेता घोषणा हुने गर्दछ । यो पुरस्कारको राशी २० हजार अमेरिकी डलर रहेको छ ।
सन् २०११ मा स्थापित गैरसरकारी संस्था एजिङ नेपाल ज्येष्ठ नागरिकको सवलीकरण, हक, हित र सेवामा सक्रिय रहँदै आएको छ । सो संस्थाले सन् २०१६ देखि ‘ज्येष्ठ नागरिक आधार भूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
यसअघि पुरस्कार वितरण कार्यक्रम फ्रान्स स्थित युनेस्कोको मुख्य कार्यालयमा हुँदै आएकोमा कोभिड–१९ को महामारीका कारण यस पटक भने भर्चुअल कार्यक्रम मार्फत् पुरस्कार विश्व साक्षरता दिवसका दिन प्रदान गरिनेछ ।
पुरस्कृत खबर सार्बजानिक भएपछि एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ् मास्टर) ले ज्येष्ठ नागरिकका क्षेत्रमा नेपालले प्राप्त गरेको यो पहिलो अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अवसर पाएकोमा आफूलाई गर्व लागेको बताए । उनले आफूसँगै अभियान सञ्चालनमा संलग्न र सहयोगी महानुभावहरू प्रति आभार प्रकट गरे ।
नेपालीहास्य व्यङ्ग्य क्षेत्रमा चट्याङ्मास्टरका नामबाट सुप्रसिद्ध कृष्णमुरारी गौतमले लामो समयदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था मार्फत् सामाजिक क्षेत्रमा सक्रिय योगदान गर्दै आएको छन् ।
गतवर्ष मात्रै संयुक्त राष्ट्रसंघले न्युयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व ज्येष्ठ नागरिक दिवस (१ अक्टुबर २०१९) समारोहलाई सम्बोधन गर्न कृष्णमुरारी गौतमलाई मुख्य वक्ताको रूपमा आमन्त्रित गरेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ