बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चलाइरहेको बेला पछाडिबाट छुराले हानेर साथीको हत्या

शनिबार, २० भदौ २०७७, ११ : ५६
शनिबार, २० भदौ २०७७

झापा प्रहरीले गोमन सिंह गमरको हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेर शनिबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । हत्यामा संलग्न व्यक्ति मनकुमार लिम्बु हुन् । लिम्बु र गोमन साथी रहेको प्रहरीले जनाएको छ । 

तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बु एक्लैले आफ्नै साथी मगरको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । लिम्बुले हत्या गरेको स्वीकार गरेको उनले बताए । 

१७ भदौमा झापाको शिवसताक्षी नगरपालिका– ११ स्थित सताक्षीधाम जाने भित्री सडकको किनारमा गोमनको शव घाटी काटिएको अवस्थामा फेला परेको थियो । शव फेला परेलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट कुकुर झिकाई अभियुक्तको खोजी गरिएको थियो । 

हत्याकै दिन लिम्बुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानलाई असहज हुने भन्दै सार्वजनिक गरेको थिएन । लिम्बुलाई ३ दिनदेखि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको थियो ।

पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ जयान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकाले जन्मकैद सम्मको सजाय हुने कानुनी व्यवस्था छ । 

भेट्न बोलाएर हत्या
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार भदौ १६ गते अन्दाजी ६ः३० बजेको समयमा नयाँ नम्बरबाट फोन गरेर भेट्न बोलाउँछन् । प्रदेश ०१ – ०१०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकल चढेर गोमन घरबाट निस्किन्छन् । उनीहरुको झिलझिले चोकमा भेट भएको प्रहरीले बताएका छन् । 

बेलुकाको हावा खाई फ्रेस हुन जाऔं भन्दै गोमनले चलाएको मोटरसाइकलमा चढेर उनीहरु सताक्षी धाम मन्दीरतर्फ गएको अनुसन्धानबाट खुलेको छ । त्यही क्रममा मोटरसाइकल स्लो गर्न लगाएर पछाडिबाट छुराले घाँटी रेटेर हत्या गरेको लिम्बूले प्रहरीसमक्ष स्वीकारेका छन् । 

‘घाँटी रेटेपछि गोमन भुइँमा लड्यो,’ लिम्बुको भनाई उद्धृत गर्दै अनुसन्धानलमा संलग्न अधिकृतल भने, ‘त्यसपछि गोमनको शवसहित मोटरसाइकललाई कसैले नदेखासे भनेर केही पर लगी बाटो सडकदेखि पूर्वपट्टी जंगलमा लगेर फालिदिएँ ।’

त्यहाँ पनि लिम्बुले पुनः पटक–पटक घाँटीमा छुरा प्रहार गर्छन् । त्यसपछि नालीमा फालेको र घटनासँग सम्बन्धित सबुद प्रमाणहरु नष्ट गर्न झिलझिले खोलामा फालेको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारी बताउँछन् । 

अनुसन्धानमा संलग्न अनुसन्धान अधिकृतका अनुसार मृतक र लिम्बूले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्याँकेको अवस्थामा शुक्रबार दिउँसो भेटिएको छ । 

लिम्बुले बताएअनुसार प्रहरी टोली, स्थानीय जन प्रतिनिधी, स्थानीय मानिसहरुको सहयोगमा खोलाको पानीलाई स्काभेटर प्रयोग गरी पानी सुकाई खोजी गर्ने क्रममा मृतकले चलाउने गरेको आइफोन, हत्या गर्न प्रयोग भएको धारिलो हतियार र लिम्बुले चलाउने गरेको मोबाइल भेटिएको एसपीले बताए । 

प्रारम्भिक अनुसन्धानबो क्रममा घटनाको कारण आर्थिक लेनदेन देखिएको झापाका डीएसपी राकेश थापाले बताए । डीएसपी थापाका अनुसार दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको हो । आर्थिक लेनदेन कारोबारमा असमझदारी भई मनमुटाव देखिएको अनुसन्धानबाट खुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप