शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

यौवन र बस्तीका कथा

शनिबार, २० भदौ २०७७, ११ : ३८
शनिबार, २० भदौ २०७७

हरेक वर्ष,

प्रत्येक पटकको हिउँदमा

बस्ती छेउको

खहरेले जिस्क्याँउथ्यो,

खोला तर्न

गाह्रो त भएन यसपाली ?

ओठले तुरुन्तै भन्थ्यो,

लौरो साथै छ ।

पानीमा पनि

अहङ्कार बग्ने गर्दथ्यो

बर्षाको भ्रममा

खहरे बलवान थियो,

आतङ्कित बनेको

बस्तीको याचना

ऋतु परिवर्तनकै नम्ति

निरन्तर थियो ।

कहिल्यै पनि

शुक्लपक्ष नदेखेको बस्ती,

छानिएर घाम लाग्ने

आँगनहरू बाहेक,

बाँकी हिऊँ जस्तै

मनको खटन थियो

बित्यो जीन्दगी

आफ्नै शरीरको तापले ।

परदेशका पत्र मिल्काएको

मेरो यौवन,

साँझ जुनकिरीको

उज्यालो खोज्दै बित्यो,

आधा मात्र अन्धकार देखिने

बस्तिहरूमा

घुम्ति, मोड अनि सोझा

बाटाहरू खनियो ।

आज

सबै कठीन मोडहरू

काटिए पछि

सोझा सरल बाटाहरू

मनलाई सोध्छन् ,

ऊ त्यो

बिरानो बनेको बस्ती

तेरो हो र ?

मनले मान्यो

मेरो यौवन

यही बस्तीमा नै बित्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप