मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रीय ब्याजको कारोबार गरेर ठगी धन्दा चलाउनेलाई मन्त्रीको संरक्षण

शनिबार, २० भदौ २०७७, १० : ०८
शनिबार, २० भदौ २०७७

काठमाडौं । विपन्न समुदायका युवालाई भारतको पञ्जाबमा काम लगाइदिने र कमाइ नहुन्जेलसम्मका लागि घर खर्चबापत ऋण दिएर चक्रीय ब्याज असुल गर्ने आरोप लागेका शिवजी यादवलाई प्रदेश २ सरकारका एकजना मन्त्रीले संरक्षण गरेको तथ्य प्रकाशमा आएको छ । सिरहाका पीडित मुसहर समुदायले भदौ ८ गते नै जिल्ला प्रशासन कार्यालय सिरहामार्फत शिवजी यादवविरुद्ध उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सो उजुरी सोही दिन जिल्ला प्रहरी कार्यालयमा छानविनका लागि पठाएको थियो तर अहिलेसम्म प्रहरीले कारवाही प्रकृया अगाडि नबढाएको पीडितहरु बताउँछन् । 

जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको सुनुवाई नभएपछि पीडितहरुले भदौ १५ गते शिवजी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमै अर्को उजुरी दिए । छोरा रामभजन सदालाई बेपत्ता बनाएको भनि फुलोदेवी सदाले उजुरी दिइन् भने महेश सदा, रामचन्द्र सदा र भरोसी सदाले ठगीको उजुरी दिएका छन् । तर तीमध्ये कुनै पनि उजुरी दर्ता भएको छैन ।

स्रोतका अनुसार प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले त्यहाँका एसपीलाई उजुरी दर्ता नगर्न दबाब दिएका छन् । मन्त्री यादव सिरहा औरही गाउँपालिका खजनपुर निवासी हुन् । जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादवले शिवजी यादवविरुद्ध कुनै कारवाही अगाडि नबढाउन सिरहाका एसपी उमाशंकर पँजियारलाई दबाब दिएको पीडितहरुको गुनासो छ । 
शिवजी यादव पनि जसपा नेपालकै स्थानीय नेता हुन् । उनी सिरहा औरही गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए । तर ६ मतले पराजित भएका उनी जसपा नेपालको सो गाउँ कार्यसमितिका अध्यक्षसमेत हुन् ।

उजुरी दिने मुसहर समुदायहरु दिनदिनै प्रहरी कार्यालय धाउँछन् तर प्रहरीले कुनै सुनुवाई गरेको छैन । उजुरीमाथिको कारवाहीबारे बुझ्न जाँदा प्रहरी कार्यालयमा छिर्नसमेत प्रहरीले नदिएको पीडितहरुको भनाइ छ । रामचन्द्र सदाले भने, ‘सिडिओ कार्यालयमा उजुरी दिएपछि सो पत्र एसपी कार्यालयमा पठाइयो, तर प्रहरीले यो उजुरीले हुँदैन, किटानी जाहेरी नै दिनुस्, अनि सुनुवाई हुन्छ भनेपछि हामीले एसपी कार्यालयमा उजुरी दियौँ तर हालसम्म त्यसलाई दर्तासमेत गरेको छैन ।’

विजय यादवका साथमा शिवजी यादव

‘अहिले केही भएको छैन, केही भयो भने तपाईहरुलाई बोलाउँछौँ’ भनि प्रहरीले आफूहरुलाई फर्काउने गरेको उनले बताए । उनले भने, ‘शिवजी यादव आफै ठूलो नेता हुनुहुन्छ, त्यही कारणले प्रहरीले उहाँमाथि कारवाही गर्न डराएको छ, शिवजी यादव कै पार्टीका नेता मन्त्री हुनुहुन्छ, त्यही कारणले हुनसक्छ हाम्रो मुद्दा दर्ता भएको छैन ।’
जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले भने, ‘गाउँघरको हरेक घटनामा राजनीतिक हस्तक्षेप हुन्छ, शिवजी यादव आफै एउटा दलका नेता हुनुहुन्छ, उहाँका लागि राजनीतिक दबाब नआउने कुरै हुँदैन ।’ 
तर कसको दबाब आएको छ भन्ने उनले बताउन चाहेनन् । एसपी पँजियार धनुषाका हुन् । उनको सम्बन्ध मन्त्री यादवसँग राम्रो छ । मन्त्रीकै निर्देशनमा एसपी पँजियारले यो घटनालाई दबाउन खोजेको स्थानीयबासीको आशंका छ । सिरहाबाट सरुवा हुने बेला भइसकेका कारण पनि एसपी पँजियारले आफू रहुन्जेलसम्म यो मुद्दालाई अघि बढाउन नचाहेको स्रोत बताउँछ ।

प्रहरीको प्रतिकृया
यस विषयमा एसपी पँजियारलाई सोध्दा उनले आफूलाई त्यो घटनाको बारेमा केही जानकारी नरहेको बताए । यसबारेमा बुझेरमात्र जवाफ दिने उनको भनाइ थियो । जबकि शिवजी यादवविरुद्ध पीडितहरुले उजुरी दिएको यतिका दिनसम्म पनि उनले घटनाबारे बुझेका छैनन् भनेर विश्वास गर्न सक्ने आधार छैन ।
यस विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारीले समेत एसपी पँजियारसँग कुरा गरेका छन् । जिल्लाका नेताहरुले एसपीसँग पटक पटक कुरा गरेका छन् । तर रातोपाटीले जिज्ञासा राख्दा आफूलाई त्यसबारेमा केही जानकारी नरहेको भनेर पन्छिन खोजेबाट नै उनी राजनीतिक दबाबमा रहेको प्रष्ट हुन्छ ।


मुद्दा फाँटमा रहेका इन्सपेक्टर रोहित फुँयालले हालसम्म उजुरी दर्ता नभएको तर आन्तरिक रुपमा घटनाका बारे अनुसन्धान भइरहेको बताए । अनुसन्धान भएपछि मात्र उजुरी दर्ता हुने÷नहुने निर्णय लिने उनको भनाइ छ ।

जसपाको नजरमा पनि दोषी
चक्रीय ब्याज मामिलामा शिवजी यादव दोषी रहेको र उनलाई पार्टीले कारवाही गर्नुपर्छ भनेर जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला नेताहरुले समेत पार्टीलाई सुझाव दिएका छन् । पार्टीका नेता डा.दीलिप सदालगायतका नेताहरुले छानविन गर्दा शिवजी यादव नै दोषी रहेको निष्कर्ष पार्टीलाई दिएको स्रोतले जनाएको छ । मन्त्री यादवका दाजु श्यामनन्दन यादव पनि जिल्लाका नेता हुन् । उनी अहिले यो घटनालाई दबाउनका लागि दिनरात मुसहरहरुको घरघर पुग्ने गरेका छन् । पीडित मुसहरहरुलाई विभिन्न प्रलोभन दिएर शिवजीको पक्षमा बोल्न उनले दबाब दिइरहेका छन् ।

शिवजीको करतुत
शिवजी यादवले घर खर्चका लागि पाँच÷दश हजार रुपैयाँ लिएका मुसहर समुदायका युवालाई वर्षौँसम्म भारतको पञ्जाबमा काममा लगाउँछन् । यस क्रममा उनले चक्रीय ब्याज जोडेर उनले वर्षौँसम्म काम गर्दा ऋण चुक्ता नभएको देखाउने र पञ्जाबमा गरेको कमाई सबै आफूले लिएर रित्तो हात घर फर्काउने गरेको पीडितको भनाइ छ । त्यसपछि शिवजी यादवले उनीहरुको घरमा गएर गाईवस्तु खोलेर ल्याउने, घरखेत कब्जा लिने गरेको ज्यादती प्रकाशमा आएको हो ।

सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का शिवजी यादवले दर्जनौँ विपन्न परिवारलाई चक्रीय ब्याजको जालमा पारेको बताइन्छ । नेतीलाल सदाले आफू पञ्जाव जानुअघि घरखर्चका लागि शिवजी यादवबाट १५ हजार रुपैयाँ लिएका थिए । पाँच वर्षसम्म काम गर्दासमेत त्यो रकम अझै चुक्ता गर्न नसकिएको उनले बताए । 
वरियारपट्टी गाउँपालिका जयनाथ सदाले भने, ‘शिवजीले लगाएकै काम गर्दा गर्दै अपाङ्ग भएँ, म अपाङ्ग भएर फर्केपछि शिवजीले मेरो छोरालाई त्यही ठाउँमा काम गर्नका लागि लगेका थिए तर वर्षौँसम्म काम गरे पनि ऋण चुक्ता भएको छैन ।’

२०७४ सालमा शिवजीले ठेक्का लिएको सेलरमा काम गर्न जाँदा उनले २० हजार रुपैयाँ ऋण लिएका थिए । त्यहाँ काम गर्दागर्दै करिब एक वर्षमा अपाङ्ग भएका उनलाई एक हजार रुपैयाँ दिएर शिवजीले घर पठाए । एक वर्षसम्म काम गरेको पारिश्रमिक ऋणमा काटेको भनिए पनि ऋण चुक्ता नभएको भनेर आफ्नो छोरालाई समेत २०७५ सालमा लगेर एक वर्ष विना पारिश्रमिक काममा लगाएको उनले बताए ।
उनले भने, ‘ऋण चुक्ता गर्न नसकेको भन्दै शिवजी यादवले २०७५ मा मेरो छोरालाई जवर्जस्ती काम गर्नका लागि पञ्जाव लग्नुभएको थियो । एक वर्षका मेरो छोराले ७४ हजार रुपैयाँ कमायो तर शिवजी यादवले एक रुपैयाँ पनि नदिइ ऋणको सावाँब्याज काटेको भन्दै खाली हात पठाउनु भएको थियो ।’ अहिले आएर शिवजी यादवले अझै १६ हजार रुपैयाँ बाँकी रहेको भन्दै असुल उपरका लागि ताकेता गरिरहेको उनको भनाइ छ ।

शिवजी यादवका अत्याचारका कारण महेश सदाका बुवाको मृत्यु पनि भएको छ । पञ्जाबमा शिवजी यादवको ज्यादति सहन नसकेपछि महेश सदा भागेर घर फर्केका थिए । नेपाल फर्केको थाहा पाएपछि शिवजी यादव महेश सदाको घरमै गएर उनलाई समातेर कुटपिट गरेर बन्धक बनाएका थिए । त्यसैको शोकमा उनका बुवाको निधन भएको कवुली पासवानले बताए । 
फुलो देवी सदाको छोरालाई पञ्जाव काम गर्न लगेका शिवजी यादवले हालसम्म उनलाई फर्काएका छैनन् । प्रहरीमा उजुरी दिएकी फुलो देवीले भनिन्, ‘मेरो छोरालाई शिवजी यादवले घरबाट लगेका हुन् तर अहिलेसम्म मेरो छोरा कहाँ छ भनेर न शिवजीले केही भनेका छन्, न मेरो छोरा फर्किन्छ । ऋण तिर्न नसकेर शिवजी यादवले नै मेरो छोरालाई बेपत्ता बनाउनु भएको हो ।’

शिवजीको दावी
शिवजी यादवले भने फुलोदवीको छोरालाई आफूले पञ्जाब नलगेको दाबी गरेका छन् । उनी भन्छन्, ‘फुलोदेवीका छोरा रामभजनलाई मैले भारत लगेको होइन । आफ्नै टोलका लेबर समूहसँग ऊ भारतको हरियाणा गएको हो र काम गर्ने थलोबाट आफ्नै साथी दीलिप सदाको ३० हजार रुपैयाँ पर्ने सामसुङको मोबाईल लिएर फरार भएको हो ।’
उनले रामभजनको आमाले आफूबाट तीन लाख ४५ हजार रुपैयाँ ऋण लिएको र त्यसको कपाली तमसुक बनाएको दावी गरेका छन् । उनले भने, ‘२०७४ कात्तिक ३० गते रामभजन सदाको आमाले घर खर्च तथा छोरा र ज्वाईलाई विदेश पठाउन, रामभजनको विवाह समेतको लागि भनेर ऋण लिएको हो, यति ठूलो रकम तिमी कहाँबाट चुक्ता गर्न सक्छौ भनेर सोध्दा म छोराहरुले र ज्वाईले कमाएको रुपैयाँले पहिले तपाईकै ऋण चुक्ता गरिदिन्छु भनेकी थिइन् । अनि मैले कपाली तमसुक गराई ऋण दिएँ । त्यही रकम बेइमानीपूर्वक नतिर्नका लागि यति नाटक गरेका हुन् ।’
उनले रामचन्द्र सदाले आफूसँग ६० हजार रुपैयाँ ऋण लिएको तर तिर्नका लागि अहिले विभिन्न बहाना बनाइरहेको दावी गरे । त्यस्तै महेश सदाले पनि राइस मिलमा काम गर्ने शर्तमा आफूसँग ३४ हजार रुपैयाँ एड्भान्स लिएर आफूले लगाएको काम नगरी अन्यत्रै गएको र अहिले आएर विभिन्न बहानामा सो रकम तिर्न नचाहेको शिवजी यादवको दावी छ । उनले भने, अहिले मुसहर समुदायलाई केही व्यक्तिले उचालिरहेका छन्, ममाथि राजनीतिक षड्यन्त्र भइरहेको छ ।’

पीडितको उजुरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप