शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको नर्थ क्यारोलिनामा हुलाकमार्फत मतदान शुरु

शुक्रबार, १९ भदौ २०७७, २३ : ०८
शुक्रबार, १९ भदौ २०७७

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, तर हुलाक सेवा मार्फत मतदान गर्नेहरुका लागि नर्थ क्यारोलिना राज्यमा मतदान शुक्रबारदेखि शुरु भएको छ ।  नर्थ क्यारोलिना राज्यमा छ लाखभन्दा बढी मतदाताले हुलाक मार्फत मतदान गर्न नाम लेखाएका छन् । खासगरी कोरोनाभाइरसको त्रासका कारण ठूलो संख्यामा मानिसहरुले हुलाक मार्फत् मतदान गर्न खोजेको पाइएको छ । 

चार वर्षअघि यस राज्यमा हुलाक मार्फत मतदान गर्नेभन्दा यसपटक चार गुणा बढीले यस्तो अनुरोध गरेका हुन् । यी अनुरोधहरु खासगरी डेमोक्राट र स्वतन्त्र मतदाताहरुबाट भएको छ । हुलाक मार्फत् हुने मतदानलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच तिब्र मतान्तर छ । 

सन् २०१६ मा करिब एक तिहाई जनसंख्याले हुलाक मार्फत् मतदान गरेका थिए । यस पटक भने ठूलो संख्याका मतदाताले हुलाक सेवाको प्रयोग गर्न सक्ने निर्वाचन अधिकारीहरुले बताएका छन् ।  विस्कन्सिन राज्यमा पनि सन् २०१६ को चुनावमा भन्दा झण्डै एक लाख बढीले हुलाक मार्फत मतदान गर्न अनुरोध गरेका छन् । फ्लोरिडा राज्यमा सन् २०१६ मा ३३ लाख ४७ हजार ९६० जनाले हुलाक सेवाका लागि अनुरोध गरेकामा यसपटक ४२ लाख ७० हजार ७८१ जनाले अनुरोध गरिसकेको र यो अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

राष्ट्रपतिको चुनावमा “ब्याटलग्राउन्ड” भनेर चिनिने मिनेसोटा, पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा हुलाक सेवाको प्रयोग मार्फत दुई साताभित्र मतदान हुनेछ । यी राज्यको चुनावी परिणामले आगामी राष्ट्रपतिको चयनमा प्रभाव पार्नेछन् ।

ऐतिहासिक तथ्यमाथि विचार गर्दा नर्थ क्यारोलिनामा हुलाक सेवा मार्फत मतदान गर्नेहरु प्रायः रिपब्लीकन पार्टीका समर्थकहरु हुने गरेका थिए । तर यस पटक यस्तो मदतानका लागि रिपब्लीकन समर्थकहरुभन्दा अरु मतदाताको संख्या बढी छ । डेमोक्रेटका ३ लाख २६ हजारभन्दा बढी समर्थकहरुले अनुरोध गरेका छन् । 

मतदाताहरुले हुलाक सेवाका लागि आगामी अक्टोबर २७ सम्म अनुरोध गर्न पाउँछन् ।  डेमोक्रेट पार्टीले हुलाक सेवाको प्रयोग गर्न अन्य राज्यमा पनि प्रोत्साहित गरिरहेको छ । मेन राज्यमा हुलाक सेवाको प्रयोगका लागि अनुरोध गर्नेहरु ६० प्रतिशत डेमोक्रेट छन् भने २२ प्रतिशत स्वतन्त्र मतदाता रहेका छन् । 

पेन्सिलभेनियामा डेमोक्रेटहरुले रिपब्लीकनको तुलनामा तीन गुणा बढी अनुरोध गरेका छन् । फ्लोरिडामा विगतमा हुलाक मार्फत मतदान गर्नेहरु बहुसंख्यक रिपब्लीकन समर्थकहरु हुने गरेका भए पनि यसपटक करिब ४८ प्रतिशत डेमोक्रेट र ३२ प्रतिशत रिपब्लीकन रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक सेवा मार्फत हुने मतदानबाट धाँधली हुने बताउँदै आउनु भएको छ, तर धेरैजसो अध्ययनले हुलाक सेवा सुरक्षित रहेको बताएका छन्, फ्लोरिडा विश्वविद्यालयका प्रध्यापक मिचेल म्याकडोनाल्डले बताए । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप