बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिंसा प्रभावित महिलाले उत्पादन गरेको मास्क अमेरिकी बजारमा

शुक्रबार, १९ भदौ २०७७, १६ : ४६
शुक्रबार, १९ भदौ २०७७

काठमाडौँ । दाङका हिंसा प्रभावित महिलाहरुले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको छ । महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको मास्कले अमेरिकी बजार पाएको हो ।

दाङका ३० जना हिंसा पीडित महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकाको ‘वन डलर फर लाइफ’ (ओडिएफएल) नामक संस्थाको माग अनुसार त्यहाँ पठाइएको महिला सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडका वरिष्ठ प्रबन्धक पवन योगीले बताए ।

योगीले भने, ‘हामीले लैङ्गिक हिंसामा परेका महिलाहरुले उत्पादन गरेको मास्क अमेरिकी जान थालेको छ । यो मास्क वन डलर फर लाइफ (ओडिएफएल) नामक संस्थाको माग अनुसार प्रतिगोटा २० रुपैयाँका दरले तीन हजार थानमास्क अमेरिका पठाएका छौँ ।’

सुरुमा एक हजार थान मास्क र एक सय स्यानिटरी प्याड पठाएका योगीले बताए । उनी थप्छन्, ‘अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाएका छौँ ।’ समाजमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै स्थानीय बजारमा पनि मास्कको बजार बढ्दै गएको छ ।

३२ हजार मास्क उत्पादन

दाङमा महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा लैङ्गिक पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले हालसम्म ३२ हजार बन्दा बढी मास्क उत्पादन गरेको छ ।

केन्द्रले उत्पादन गरेका यी मास्क दाङसहित छिमेकी जिल्लामा पनि पठाइएको छ । लकडाउनको समयमा कन्द्रले उत्पादन गरेको मास्क सहयोग स्वरुप विभिन्न पालिकामा पनि पठाइएको थियो । प्रबन्धक योगीकाअनुसार उत्पादित मास्क विभिन्न मेडिकल तथा पसलहरूले पनि बिक्रीका लागि लैजाने गरेका छन् । केन्द्रले सिलाई कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।

झण्डै मासिक १५ हजार कमाउँछन् महिला

स्वरोजगार तालिम केन्द्रमार्फत हिंसा प्रभावित महिलाहरुले मास्क, स्यानिटरी प्याड र बालबालिकाका न्याना कपडा सिलाएर सरदर मासिक १५ हजार रुपैयाँ कमाउने प्रबन्धक योगीले बताए । योगीका अनुसार, केन्द्रमार्फत हिंसा पीडित महिलाहरुले एउटा मास्क सिलाउँदा २० रुपैयाँ पाउँछन् । एक व्यक्तिले दिनमा मिलाएर सिलाउँदा ४० वटासम्म मास्क सिलाउन सक्ने र सिजनअनुसारका कपडा सिलाउँदा आम्दानी राम्रै हुने भएकाले एक महिलाले मासिक सालाखाला १५ हजारसम्म बुझ्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप