शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वामदेवको एक निर्णय, तीनतिर निशाना: युवराज, ईश्वर र बादललाई झड्का

शुक्रबार, १९ भदौ २०७७, १४ : ३४
शुक्रबार, १९ भदौ २०७७

काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति भएसँगै संसद छिर्ने उनको इच्छा पनि पुरा हुने भएको हो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने रिक्त एक सिटमा लैजाने निर्णय सरकार र नेकपाले गरिसकेको छ ।

पार्टी विवाद समाधान कार्यदल प्रतिवेदन कार्यान्यन र गौतमको संसद यात्रा तय भएसँगै सत्तारुढ नेकपाको आन्तरिक सत्ता समीकरण नयाँ ढंगले मोडिने परिदृश्यहरु देखिन थालेका छन् । यसक्रममा सरकारका मन्त्रीहरुको फेरबदलदेखि पार्टीका सांगठनिक कामले तीव्रता पाउनेमात्रै नभएर सिंगो नेपाली राजनीति नै एकपटक तरङ्गित नहोला भन्न सकिन्न ।

यसै सिलसिलामा सरकारमा रहेका केही अनुहार बाहिरिने र नेकपाका अन्य केही नेताले सरकारमा जाने मौका पाउनेछन् । किनभने नेकपा सचिवालय बैठकले पार्टी र सरकारका काम थप प्रभावकारी बनाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा हुने मन्त्रिपरिषद फेरबदलका क्रममा यसअघि प्रधानमन्त्री केपी शर्माओलीकै नजिक र विश्वासपात्र बनेर काम गरेका केही मन्त्रीलाई झड्का लाग्ने निश्चित छ । यो झड्काले अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडादेखि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतलाई प्रभाव पार्ने संकेत देखिएको छ । 

कसरी पर्छ प्रभाव ?

नेता गौतम राष्ट्रिय सभा प्रवेशपछि सांसदको भूमिकामै चित्त बुझाएर बस्लान् भनेर कमैले विश्वास गरेका छन् । ‘लो प्रोफाइल’ मा बस्न नचाहने गौतमको स्वभावले गर्दा नै उनको अबको लक्ष्य भनेको सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु हो भनेर पार्टीकै कतिपय नेताले आंकलन गरिसकेका छन् ।

त्यसो त, उपप्रधानमन्त्रीको जिम्मेवारी यसअघि नै सम्हालिसकेका गौतमले आफूलाई प्रधानमन्त्रीको दावेदार बताउने गर्दछन् । पार्टीले यसअघि नै उनलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे पनि उनले राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राखेर आफ्नो राजनीतिक महत्वाकांक्षा प्रष्ट्याइसकेका थिए ।

पार्टीभित्रै सरकार अलोकप्रिय बनेको, पार्टीका कतिपय नेताले खुलेरै प्रधानमन्त्रीको राजीनामा माग गरेको केही महिना अघिको परिस्थितिलाई स्मरण गर्ने हो भने पनि जनतामा नेकपा नेतृत्वको सरकारको छाप कस्तो छ र पार्टीका नेताहरुले सरकारलाई कसरी मूल्यांकन गरिरहेका छन् भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

यस्तो अवस्थामा वामदेव गौतमलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएर सरकारमा सामेल गर्ने र महत्वपूर्ण विषयमा मात्र प्रधानमन्त्री ओलीले ध्यान दिने गरी जिम्मेवारी बाँडफाँड भएमा धेरैले आश्चर्य मानिरहनु नपर्ने पार्टीका नेताहरु बताउँछन् । वर्तमान मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीलाई ‘ओभरलोड’ नहुनेगरी जिम्मेवारी लिन सक्ने मन्त्रीको कमी बालुवाटारले महसुस गरिरहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई त्यो भूमिकामा उतार्न खोजेको भए पनि विभिन्न काण्डमा मुछिएका कारण पछिल्लो समय उनलाई सरकारको जिम्मेवारीबाट झिकेर पार्टीको जिम्मेवारीमा लैजाने मनस्थितिमा प्रधानमन्त्री पुगेको स्रोत बताउँछ । 

यद्यपि मन्त्रिपरिषदमा हेरफेर गर्ने अधिकार प्रधानमन्त्री केपी शर्माओलीमै निहीत छ । तर नेकपाको घोषणापत्र बनाउनेदेखि फुटको संघारमा पुग्दा पार्टीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका खेलेका गौतम स्वयं पनि सांसद पदमै चित्त बुझाउलान् र पार्टीले समेत उनलाई त्यसैमा सीमित गर्ला भन्ने अनुमान गलत हुनसक्छ । किनभने जब जब पार्टीमा संकट आउँछ, त्यतिबेला सबैजसोले गौतमलाई नै खोज्ने र सम्झने गर्दछन् । उनको यही भूमिकाका कारण पनि यसअघि अनेक पटक उनलाई प्रतिनिधिसभाको उपनिर्वाचनमार्फन संसद बनाउने चर्चासमेत चलेको थियो । 

गौतमले आफू सरकारमा सामेल हुने या नहुने भन्नेबारे खुलेर केही बताएका छैनन् । तर उनले आफु राष्ट्रियसभामा जान तयार रहेको घोषणा गर्दा भनेका थिए, ‘महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाए त्यो जिम्मेवारी पुरा गर्न तयार छु ।’ गौतमको यो भनाइ उनी एक्लैले व्यक्त गरेका होइन्न् । पार्टी शीर्ष नेताहरुसँगको चरणचरणको छलफल र सम्भावित जिम्मेवारीका हिसावले उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेताहरुसँगको एकसरो छलफल, गौतमको इच्छा र सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंगो नेकपासहित जनताको चाहना तथा नेकपाभित्रको शक्ति समीकरण समेत ख्याल गरेर अध्यक्षद्वय ओली र प्रचण्डका साथै नेकपा सचिवालयले उनलाई राष्ट्रियसभामा मनोनित गर्न सर्वसम्मत निर्णय गरेको हो । 

अब रह्यो कुरा गौतमले कुन मन्त्रालय पाउछन् त ? उनी निकटकाहरुले बताएअनुसार गृह, रक्षा र अर्थ मन्त्रालय उनको रोजाइमा छन् । डा. युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै अर्थ मन्त्रालय खाली हुँदैछ । तर, गौतमको पहिलो रोजाइमा भने गृहमन्त्रालय परेको छ । गृहमन्त्रालयको जिम्मेवारी हाल रामवहादुर थापा ‘बादल’ले सम्हालिरहेका छन् । यदि बादलको ठाउँमा गौतमलाई लाने हो भने बादलले ठाउँ खाली गर्नुपर्ने हुनसक्छ । त्यसो गर्दा कि त बादललाई अर्को मन्त्रालयमा स्थानान्तरण गर्नुपर्छ कि सरकारबाट बाहिरै बस्नुपर्ने हन्छ ।

पछिल्लो समय प्रचण्डभन्दा पनि ओलीको रोजाइमा बढी पर्ने गरेका बादललाई प्रधानमन्त्री ओलीले सरकार बाहिर पठाउलान् भनेर कमैले विश्वास गर्न सक्लान् । उनलाई अर्को मन्त्रालयको जिम्मेजारी दिनु ठिक हुने बालुवाटारको निश्कर्ष रहेको जानकारहरु बताउँछन् । त्यसो गर्दा बादललाई रक्षा मन्त्रालयमा सारेर गौतमलाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिनुपर्ने हुनसक्छ ।

अब बादल रक्षामा आउँदा अहिलेका रक्षा मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल के गर्छन् त ? भन्ने अर्को प्रश्न उठ्छ । त्यसबेला पोखरेललाई माहाधिवेशनमा केन्द्रीत हुनेगरी पार्टीको जिम्मेवारी दिने समझदारी ओली समूहमा मोटामोटी भइसकेको बताइन्छ । 

बालुवाटारबाटै अर्थ मन्त्रालय चलाउने 

मन्त्रिमण्डल हेरफेरको चर्चा र अर्थमन्त्री खतिवडा बाहिरिने निश्चित भएसँगै अब अर्थमन्त्री को होला भन्ने चासो पनि जोडिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले खतिवडालाई अझ शक्तिशाली बनाउने तयारी गरेको बुझिएको छ । त्यसका लागि अर्थमन्त्रालय आफै राख्ने ओलीको चाहना छ । त्यसपछि सरकारबाट बाहिरिएका खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार बनाउने र उनैबाट पुनः अर्थमन्त्रालय सञ्चालन गर्ने योजना ओलीको छ ।

त्यसो गर्दा खतिवडा ओलीसँग थप नजिक हुने मौका पाउनेछन् भने मुलुकले कोरोनाभाइरसको कहरबाट आर्थिक मन्दी बेहोर्नु परेका बेला विश्व बैंक लगायत दातृ निकायबाट ऋण लिएर भए पनि अर्थतन्त्र धान्न सकिने ओलीको बुझाइ छ । किनभने अन्तर्राष्ट्रिय दातृ निकायमाझ खतिवडा जति लोकप्रिय र काबिल ठहरिएका छन्, त्यो गतिमा काम गर्नसक्ने अरु कुनै नेता छैनन् भन्ने प्रधानमन्त्री ओलीको विश्वास रहेको स्रोतको दावी छ । यदि ओली यो निश्कर्षमा पुगेमा अर्थमन्त्रीका लागि चर्चामा आएका विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि चर्चामै सीमित बन्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप