पीसीआरसँग हारेका एक बुबाको पीडा
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार दिउसो साढे १ बजे महोत्तरीका रामसागर बरही एउटा आँखा ब्यान्डेज गरिएकी छोरीको हात समातेर अस्पताल प्रवेश गर्छन् ।
उनी 'कोरोना जाँच कहाँ गराउने हो ?' भनेर अस्पतालका कर्मचारीलाई सोध्छन् । तर, ‘आज त बन्द भइसक्यो’ भन्ने जवाफ सुनेर उनी अवाक हुन्छन् ।
आफ्नी माइली छोरी निशा कुमारी घरमा दाउरा भाँच्दै थिइन् । तर भाँच्दै गरेको दाउराले उनको एउटा आँखामा घोच्यो ।
आँखामा घाउ भएपछि उनी महोत्तरीबाट छोरीलाई सिरहाको लाहानस्थित आँखा अस्पताल लगे । तर सो अस्पतालले काठमाडौंमा रहेको तिलगंगा आँखा अस्पताललाई रिफर गरिदियो ।
एम्बुलेन्सलाई ११ हजार तिरेर उनी बुधबार काठमाडौँ आइपुगे । गौशालाको गेष्ट हाउसमा बसे । बिहान तिलगंगा आँखा अस्पतालमा जचाउन जाँदा आँखाको अप्रेशन गर्नुपर्छ, त्यसभन्दा पहिला कोरोना जाँचको पीसीआर रिपोर्ट लिएर आउन भनियो ।
उनलाई पीसीआर परीक्षण कहाँ गर्छ थाहा थिएन । कसैले बानेश्वरमा परीक्षण गर्छ भनिदिए । उनी सोध्दै खोज्दै पैदल बानेश्वर पुगे तर कहाँ गर्छ थाहा भएन । फेरि मान्छेहरुलाई सोधेर टेकुमा पीसीआर परीक्षण हुन्छ भन्ने थाहा पाए ।
तर टेकुमा शुक्रराज ट्रपिकल अस्पताल कहाँ छ उनलाई थाहा नै थिएन । सोध्दै सोध्दै पैदल २ घण्टा लगाएर साढे १ बजे उनी टेकु अस्पताल आइपुगे तर त्यतिबेलासम्म पीसीआर टेष्टका लागि स्वाव लिने काम बन्द भइसकेको थियो ।
उनले मधेशी मूलकै डाक्टरसँग आफ्नो गुनासो सुनाइरहेका थिए । डाक्टर भन्दै थिए–‘तपाईं चाँडो आउनुपथ्र्यो, ढिलो भइसक्यो । ओपीडीको समय बिहान १० बजेबाट १ बजेसम्म मात्र हुन्छ । स्याम्पल कलेक्सन ११ बजेदेखि १ बजेसम्म हुन्छ । अहिले पीसीआर स्याम्पल कलेक्सन गर्ने मान्छे नै गइसकेको छ । अब कसले गर्छ ? आज हुँदैन अब भोलि आउनुस ।’
उनले टिकट बिक्री भइसकेकोले भोलि आउन भनिरहेका थिए । अस्पतालमा रहेका कर्मचारीसँग पनि उनी आग्रह गरिरहेका थिए तर काम नभएपपछि उनी निराश भए ।
उनकी छोरीको आँखामा चोट लागेको ५ दिन बितिसकेको छ । शुक्रबार फेरि पैदल गएर उनले स्वाव टेष्ट गर्न दिएका छन् । अब फेरि अर्को दिन उनले गौशालाबाट हिँडेरै टेकु पुगेर रिपोर्ट ल्याउनुपर्नेछ । अनि त्यसको भोलिपल्टबाट मात्र उनकी छोरी निशाकुमारीको अप्रशेन सुरु हुनेछ ।
अस्पतालबाट गौशाला फर्कदै गर्दा उनले गुनासो पोखे–‘छोरीको आँखा खराब भइसक्यो । अब कहिले अप्रेशन हुने हो थाहा छैन । हिँड्दा हिँड्दा दुई जनाको खुट्टा पनि थाकिसक्यो अब भोलि फेरि हिँडेर आउनुप-यो । फेरि रिपोर्ट लिन पनि हिँडेरै आउनुप-यो ।’
रामसागरले तिलगङ्गा आँखा अस्पतालमा कोरोनाको रिपोर्ट पेश गर्न ३ दिन गौशाला–टेकु–गौशाला ओहोरदोहोर गर्नुपर्ने भएको छ ।
कुनै एउटा स्वास्थ्य समस्या भएर उपचारका लागि अस्पताल जाने विरामी कोरोनाको परीक्षणको रिपोर्टका लागि भौतारिँदा भौतारिँदा बिग्रिएको स्वास्थ्य झन् जटिल बन्ने देखिएको छ ।
यसबारेमा हामीले अस्पतालका निर्देशक डा.सागर राजभण्डारीलाई जेष्ठ नागरिक, अत्यावश्यक अवस्थामा रहेकाहरुलाई तत्काल पीसीआर परिक्षण गरेर दिन सकिँदैन भनेर सोध्यौँ । उनले सो अस्पतालले इर्मजेन्सी सेवा नदिने, जस्तो सुकै अवस्थाको विरामी वा समस्या परेको मान्छे आएपनि दैनिक ३ सय भन्दा बढीको स्वाब संकलन र परीक्षण गर्न नसकिने बताए । अस्पतालको क्षमता ३ सय मात्र भएको बताउँदै टिकट सकिएपछि परीक्षण नहुने जानकारी दिए ।
सांसदको हातमा १६ जनाको टिकट
अस्पतालको हाताभित्र १६ जनाको एउटा समूह बसेको थियो । मुगुका नेकपा सांसद गोपालबहादुर बमले मुगु जाने १६ जना जम्मा पारेर बिहानै आएर टिकट खरिद गरिसकेका रहेछन् ।
उनीहरु पीसीआर रिपोर्ट आएपछि १६ जनाको टोली काठमाडौँबाट तारा एयरको विमान चार्टर गरेर सिधै मुगु जाँदै रहेछन् । प्रतिव्यक्ति १५ हजारका दरले काठमाडौँबाट मुगु जाने तरखरमा रहेको सुनाए ।
जनताकौ एउटा जनप्रतिनिधिको हैसियतले सांसद बमलाई महोत्तरीबाट सोध्दै खोज्दै घाइते छोरीलाई लिएर आएको एकजना बृद्ध परीक्षण गर्न नपाई फर्कनुपरेको अवस्थालाई कसरी लिनुहुन्छ भनेर जिज्ञासा राख्यौँ । केहीबेर पछि आफ्नो परीक्षण हुनेमा ढुक्क भएर बसेका सांसद बमले नेपाल देश गरिब रहेको, सरकारको पनि समस्या रहेको र स्वास्थ्यकर्मीको पनि अभाव भएको तर्क दिँदै पीसीआर परीक्षण अनिवार्य गर्ने हो भने गरिब जनताका लागि छिटो र सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने बताए ।
काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टिकट शुल्क बाहेक कोरोना परिक्षणको शुल्क लाग्दैन । सिमित मात्रामा मात्र परीक्षण गर्ने भएका कारण हरेक दिन दिउसो १ बजेपछि जानेहरु परीक्षण नगराइ फर्कने गरेका छन् ।
गम्भीर प्रकृतिका विरामी, दुर्घटनाका घाइते, तत्काल उपचार गर्नुपर्ने अवस्थाका विरामीका लागि तत्काल पीसीआर परीक्षण र रिपोर्ट दिने व्यवस्था नगर्दा विरामी र उनीहरुका आफन्तले हैरानी पाइरहेका छन् ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्