शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साझाको प्रश्न : ‘अब कोही भोकै बस्नु पर्दैन’ भन्ने प्रधानमन्त्री कहाँ छन् ?

शुक्रबार, १९ भदौ २०७७, १३ : ४०
शुक्रबार, १९ भदौ २०७७

कोरोनभाइरसको नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा न्यून आय भएका नागरिकहरुको विचल्ली भएको प्रति साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को बहुआयामिक संकटमाझ देशभरका विपन्न तथा न्यून आयका नागरिकहरूको जीवनयापन अत्यन्त कष्टकर बनेको बताएका हुन्।

‘साँझ–विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाईरहेका दारूणिक दृश्य सार्वजनिक भईरहेका छन,’ विज्ञप्तिमा भनिएको छ, ‘दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो।’

कयौँ नागरिक खान नपाएर र विरामीहरू अस्पताल नपाएर मर्ने अवस्था सिर्जना भएको बताउँदै पार्टीले यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहेको आरोप लगाएको छ ।


‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो ?, विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘“अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन् ?’

स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर नपुग्ने पार्टीको जिकिर छ । पार्टीले सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरी देखिइरहेका दारूणीक अवस्थालाई तुरून्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

साथै, यो कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका सम्पूर्ण मनकारी व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक पार्टीले आभार व्यक्त गरेको छ । ती व्यक्ति र संस्थाहरूलाई हर प्रकारका सम्भाव्य सहयोग गर्न पार्टीका सदस्य, शुभेच्छुक लगायत सबैलाई विज्ञप्तिमा अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप