शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुलिस डाक्टरलाई लेखिटियोस् (कविता)

शुक्रबार, १९ भदौ २०७७, १३ : ०५
शुक्रबार, १९ भदौ २०७७

 लखेट पुलिसलाई
लखेट डाक्टरलाई
धपाउ तिम्रा ती बस्तीबाट
खेदिरहनु तिम्रो समाजबाट, समुदायबाट
निषेधाज्ञा त यी पुलिसलाई लगाइयोस्
कफ्र्यु त यी डाक्टरलाई लगाइयोस्
यहाँ यिनलाई नलखेट्ने दिन
तिम्रो ज्यान जोगिने खतरा छ
झन् तिमीलाई मृत्युले भेट्न नपाउने खतरा छ
हो, लखेट पुलिसलाई
लखेट डाक्टरलाई
यता तिम्रो ज्यान जोगिने खतरा छ ।
 
यी प्रहरीहरू डन्ठा लिएर तिम्रा बस्तीमा आउँदा
तिमी सुरक्षित हुने भय उत्तिकै छ
यी डाक्टरहरू सिटामोल बोकेर तिम्रा छेउमा आउँदा
तिमीलाई निको हुने भय उत्तिकै छ
तिमी किन जीवनको भयमा बाँचिरहन्छौ !
किन मृत्युको पर्खाइमा बाँचिरहन्छौ
बरु गर, छिट्टै गर
यो रोगसँग साक्षात्कार गर
यी पुलिसलाई लखेट
यी डाक्टरलाई लखेट
यिनलाई नलखेट्ने दिन
तिम्रो ज्यान जोगिने खतरा छ ।।
 
तिमीलाई मेरो यो छातीमा ढुुङ्गा हान्नेपूर्ण छुट छ
तिमीलाई मेरो टहरोमा आगो लाउने पूर्ण छुट छ
तिमी लखेट्न सक्छौ, लखेट उनीहरूलाई
तिमीबाट
तिम्रो घरबाट
तिम्रो गल्लीबाट
तिम्रो बस्तीबाट
तिम्रो समाजबाट, समुदायबाट
उनीहरू लखेटिएपछि
तिमी रोगले लखेटिनु नपरोस्
तिमी शोकले नुहाउनु नपरोस्
तैपनि लखेट उनीहरूलाई
यहाँ यिनीलाई नलखेट्ने दिन
तिम्रो ज्यान जोगिने खतरा छ ।
 
हिजो डाक्टर निकालिए
नर्स निकालिए
आज पुलिसलाई निकाल
निकाल बिस्तारै मानवता
त्यो मुटुको कुनाबाट
आखिर के बाँकि रह्यो र निकालिन ?
ननिकालिएको तिम्रो एउटा ज्यान छ, प्राण छ
त्यही बचाएर बसिरहेको यिनी पनि निकालिएपछि
लखेटिएपछि पनि
यही कामना छ
तिमीले तिम्रो प्राण त्यो ज्यानबाट निकाल्नु नपरोस्
बरु लखेट यिनीलाई
यहाँ यिनलाई नलखेट्ने दिन
तिम्रो ज्यान जोगिने खतरा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा मरासिनी
शारदा मरासिनी
लेखकबाट थप