कोरोना जितेका प्रहरीको अनुभूति : अस्पतालमा राम्रो उपचार पाएँ

पछिल्लो समय नेपाल प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । बिहीबारसम्म एक हजार ९५४ प्रहरी संक्रमित भएका छन् । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।
ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) महेश राज पन्त पनि कोरोनामुक्त भएर आफ्नो जिम्मेवारीमा फर्किसके ।
संक्रमण पुष्टि भएसँगै घरपरिवार, आफन्तमा एक किसिमको त्रास सिर्जना भएको पन्तको भनाइ छ । उनी भन्छन्, ‘संक्रमणमुक्त भए पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सामाजिक व्यवहार फरक हुँदोरहेछ ।’
पन्तको अनुभूति उनकै शब्दमा :
सामाजिक सुरक्षा, शान्ति व्यवस्था, अपराध रोकथाम तथा नियन्त्रण गर्ने मुख्य काम नेपाल प्रहरीको हो । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका छ ।
यही विषम् परिस्थितिमा देश र जनताको सुरक्षाको लागि काम गर्दागर्दै नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरुमा पनि कोरोना भाइरस संक्रमण फैलिँदै गएको छ ।
प्रहरी प्रधान कार्यालयमा संक्रमण देखिएसँगै मैले पनि साउन १६ गते पीसीआर परीक्षणका लागि स्वाब दिएँ । स्वाब दिएको २ दिनपछि अर्थात् १८ गते संक्रमण पुष्टि भयो ।
त्यसअघि मलाई कुनै लक्षण देखिएको थिएन । नियमित ड्युटीमा कार्यरत थिएँ । कामको सिलसिलामा फिल्डमै खटिएको थिएँ ।
संक्रमण पुष्टि भएपछि मलाई सशस्त्र प्रहरी अस्पताल, बलम्बुको आइसोलेसनमा राखियो । संक्रमण पुष्टि भएसँगै घरपरिवार, आफन्तमा एक किसिमको त्रास सिर्जना भयो । केही दिनसम्म घरपरिवार कसैलाई पनि खबर गरिनँ ।
केही समय डर लागे पनि अन्य व्यक्तिलाई निको हुँदै गएको देख्दा आत्मबल बढ्दै गयो । संक्रमण भएको २० दिनपछि भदौ ५ गते संक्रमणमुक्त भएँ ।
अस्पतालमा राम्रो उपचार पाएँ । चिकित्सकहरुको राम्रो व्यवहारले मलाई रोग जित्न निकै सहयोग गर्यो । चिकित्सकहरु नजिक आउँदा निकै खुसी लाग्ने र बाँच्ने आशा बढ्दो रहेछ । चेकअप सबै तोकिएकै समयमा हुन्थ्यो ।
देश र जनताको सुरक्षाको लागि आन्तरिक तथा बाह्य लकडाउनमा ड्युटी गर्ने क्रममा संक्रमण पुष्टि भएको थियो । संक्रमणमुक्त भएर आए पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सामाजिक व्यवहार नै फरक हुँदै गयो ।
कोरोना एक महामारी हो । जुनसुकै व्यक्तिलाई पनि संक्रमण हुनसक्छ । सामाजिक दूरीसँगै सद्भाव पनि कायम राख्न आवश्यक देख्छु ।
सामाजिक विभेदका कारण मानिस डिप्रेसनमा जान थालेका छन् । यसले कोरोनाभन्दा ठूलो महामारी सिर्जना गर्नसक्छ । यस विषयमा सामाजिक चेतना फैलाउन आवश्यक छ ।
हामी संक्रमणको उच्च जोखिममा भएका कारण यदि संक्रमण भइहालेको अवस्थामा शारीरिक तथा मानसिक रुपमा कमजोर नभई आत्मबल बढाउन सबैमा आग्रह गर्दछु ।
पछिल्लो समयमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायमा पनि संक्रमण बढ्दै छ । सुरक्षा कवच मास्क, पञ्जा, स्यानिटाइजरको उचित प्रयोग गरी सेवा प्रवाह गर्नका लागि सबैमा आग्रह गर्दछु ।
साथै समुदाय, संगठन र नेपाल सरकारलाई पनि देश र जनताको सुरक्षामा खटिएका प्रहरीको हौसला बढाउन आग्रह गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ