‘बिरामीको ज्यान जोगाउन गाउँगाउँ डुलेँ, आफै संक्रमित हुँदा हेला पाएँ’
साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट आएको खबर राष्ट्रिय खोप कार्यक्रमका लागि चुनौतीपूर्ण थियो । लामो मिहिनेतले नियन्त्रण भइसकेको भ्यागुते रोग एक्कासी समुदायमा देखापरेको खबर आएको थियो । चालु आर्थिक वर्षमा प्रदेशस्तरबाट सञ्चालन गरिने स्वास्थ्य कार्यक्रमको कार्यसञ्चालन निर्देशिका बनाउने र सँगसँगै कोभिड–१९ र अन्य नियमित क्रियाकलापको व्यस्तताले शरीरमा फरक किसिमको थकावट महसुस भइरहेको थियो ।
थला नपरुन्जेल बिरामी भएको महसुस नगर्ने र अन्तिम अवस्थामा मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा जाने प्रायः जसो नेपालीको बानी हुन्छ र म पनि त्यसबाट अछुतो छैन । मेरो झोलामा दुखाई कम गर्ने, बान्ता रोक्ने, ग्यास्ट्रिक र केही एन्टिबायोटिक गरी एक–एक पत्ता औषधि सदैव रहिरहन्छ । यसपल्ट पनि त्यस्तै भयो– ज्वरो आउलाजस्तो, जिउ दुखेजस्तो र शरीरमा थकान महसुस भएजस्तो ।
आफुसँग भएको प्राथमिक उपचारको सामग्री लिएँ र शरीरलाई पूर्ववत् रुपमा काम गर्न बाध्य बनाएँ । दार्चुलामा ‘आउटबे्रक’ भएको भ्यागुते रोगको समुदायस्तरमा खोज पड्ताल र प्रभावितको उपचार, ब्यवस्थापनसमेत गर्नुपर्ने निर्देशकज्यू र परिवार कल्याण महाशाखाबाट निर्देशन भएपश्चात सर्भिलेन्स मेडिकल अफिसर र जिल्लाका खोप अधिकृतसहितको टोली बनाई दार्चुलाको यात्रा तय भयो । तर शरीरको अवस्था अनुकुल थिएन । जिम्मेवार निकायमा बसेर जिम्मेवारी लिईसकेपछि सधै आफ्नो अनुकलमात्रै हेर्नु नैतिकताले पनि दिँदैन, त्यसमा पनि निर्देशक डा. गुणराज अवस्थीसँग काम गर्नु प¥यो भने उहाँको स्पिडसँग आफुलाई अनुकुल बनाउँदै लानुपर्ने हुन्छ । अन्यथा पछाडि छुट्ने सम्भावना सदैव रहिरहन्छ । यसै कुराले हामीहरुलाई आफ्नो काम समयमै सम्पन्न गर्न पे्ररित गरिरहन्छ ।
पूर्वनिर्धारित समयअनुसार हामी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका लागि प्रस्थान ग¥यौं । यात्राको दौरान प्रायः मलाई केही असहज महसुस भइरहन्छ र यस पटक पनि यसैको निरन्तरताको रुपमा चित्त बुझाएँ । डडेल्धुराबाट थप उकालो लागे पश्चात वाकवाकीसँगै रिंगटा लागेजस्तो महसुस हुन थाल्यो । तैपनि आफ्नो जिम्मेवारीबोधले हार मान्न दिएन । मानसिक रुपमा सशक्त भए पनि शारीरिक रुपले अशक्त भएको महसुस त्यतिबेला भयो, जतिबेला खोड्पे र पाटनको मध्यतिर गाडीबाट ओर्लिन खोज्दा आँखामा अन्धकार छायो । आँखा खोल्दा सहयात्री तीनैजना मलाई बीच सडकबाट उठाउने असफल प्रयास गरिरहेका थिए, जिउ सयौँ मान्छेले एकै पटक कुटेको जसरी दुखिरहेको थियो । बेहोसीमा सडकमा पछारिदा अनुहार र शरीरको अन्य भागहरुमा सामान्य चोट लागेर रगत बगिरहेको थियो । केही छिनको बिश्रामपछि फेरि यात्रा निरन्तर अगाडि बढ्यो । बाटोमा पर्ने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य चेकजाँच गर्दा रक्तचाप अलि घटेको प्रमाणित भयो । त्यसैको कारणले अघिको घटना भएको निश्कर्ष निकालँे ।
गाडीको बाटो सकिएपछि भ्यागुते रोग फैलिएको भनिएकोे समुदायसम्म पुग्न झण्डै दुई घन्टाको पैदल यात्रा गर्नु प¥यो र समुदायको अवस्था मूल्याङ्कन गर्दै जाँदा घरका अधिकांश बालबालिकाले एउटा पनि खोप नलगाएको पाइयो । सबै बालबालिका १२ वर्ष माथिका भएकाले पुरानो कुरा कोट्याउनु उचित लागेन । परिवार कल्याण महाशाखाले उपलब्ध गराएको गाईडलाइन बमोजिम शंकास्पद बिरामीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भयो ।
पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरी फर्किने बेलासम्म शरीरमा थप कमजोरी तथा स्वाद र गन्धको भेउ नपाउने अवस्था सिर्जना भइसकेको थियो तापनि मैले कोरोना संक्रमणको आशंका गर्न सकिनँ । घर फर्किदा श्रीमती र छोरीलाई झण्डै मेरोजस्तै लक्षण देखिन थालिसकेको थियो । सेती अस्पतालमा नर्सको रुपमा कार्यरत मेरी श्रीमतीले भोलिपल्टै पिसीआर परीक्षणका लागि स्याम्पल दिइन्, जसको नतिजाले हामीलाई स्तब्ध बनायो ।
भोलिपल्ट मेरो र छोरीको परीक्षणसमेत ‘पोजेटिभ’ आएपछि हामीलाई केही समय निर्णय शुन्यताको अवस्थामा पु¥यायो । अवस्था जतिनै खराब भए पनि आफैले आफैलाई सम्हाल्नुको विकल्प हामीसँग थिएन । अन्तमा हाल बसिरहेको क्वाटर (डेरा) मा सेल्फ आईसोलेसन बस्ने निर्णय गरियो, जुन आजका मितिसम्म निरन्तर चलिरहेको छ ।
सामाजिक अपहेलना
घटना १ :
हामी सपरिवार संक्रमित भएको सूचना म तिनै ब्यक्तिलाई मात्रै दिन चाहन्थेँ, जो पछिल्लो केही समय म र मेरो परिवारको सम्पर्कमा आएका थिए । र यो कुरा कन्ट्याक्ट ट्रेसिङका लागि महत्वपूर्ण मानिन्छ । तर मेरो डेरासँगैको क्वाटरमा बस्ने एकजना ब्यक्तिले हामीमा कोरोना संक्रमण भएको तथ्य हाम्रो परिवारको विवरण खुल्ने गरी सामाजिक सञ्जालमार्फत निकै अपमाजनक रुपमा सार्वजनिक गरे । यतिमात्र होइन, हामी ‘क्वाटरमै आइसोलेसनमा बसेको’ भनेर पनि उनले कुरा उठाए जुन मेरो नजरमा अमानवीय र गैरकानुनी थियो ।
घटना २ :
दिनेश खबर पत्रिकाले मेरो ब्यक्तिगत विवरणको हेडलाइन बनाउँदै समाचार सार्वजनिक गरी थप मर्माहत बनायो, जुन कुरा नेपालको संविधान प्रदत्त गोपनियताको मौलिक हकविरुद्ध थियो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिलले समेत निर्देशिका जारी गर्दै संक्रमितको अनुमतिबेगर पहिचान नखुलाउन आग्रह गरे पनि त्यसलाई पालना भएन ।
माथि उल्लेखित घटना आइसोलेसन शुरु भएदेखि भोग्दै आइरहेका सामाजिक अपहेलनाका प्रतिनिधि घटनामात्रै हुन् । केही दिनदेखि यस्ता सामाजिक भेदभाव र अपहेलनाको पुलिन्दा तयार भएको छ । हामी स्वास्थ्यकर्मी कर्तव्य पालनको सिलसिलामा कोरोना संक्रमित हुनु सामान्य कुरा हो । तर संक्रमणलाई अपराध जसरी वर्णन गर्नु आफैमा निकृष्ट कार्य हो ।
सरकारसँग अपेक्षा
- देशमा बन्दाबन्दी भएपश्चात देशको स्थायी सरकार भनिएको प्रशासनतन्त्र झण्डै घरमा बसीबसी तलब भत्ता लगायतका सेवा सुविधा निस्फिक्री ढंगले खाइरहेकै छ । कोरोनाविरुद्ध फ्रन्ट लाइनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी आफ्नो जिम्मेवारी र दायित्वअनुसार लडिरहेका छन् । यो युद्धमा कोरोनाविरुद्धका योद्धामात्र होइन, उनीहरुका परिवार समेत संक्रमित हुने क्रम दिनदिनै बढिरहेको छ र सँगसँगै सामाजिक अपहेलना र दुब्र्यवहारका घटनामा समेत वृद्धि भइरहेको छ । यस्तो बेलामा राज्यका प्रशासनिक निकायमा बस्ने ब्यक्तित्वहरुले संक्रामक रोग ऐन २०२० र मुलुकी अपराधसंहिताको बारेमा अन्तरवार्तामात्रै दिँदै हिँड्नुभन्दा सामाजिक दुब्र्यवहार गर्ने यस्ता व्यक्ति÷संस्थालाई कानुन बमोजिम कारवाही गरी संक्रमितको मनोबल उच्च बनाउनुपर्ने देखिन्छ ।
- हरेक दिन कोराना संक्रिमितको संख्या बढिरहेको छ र नियन्त्रण हुने नामोनिशान छैन । सीमित श्रोत–साधन भएको हाम्रोजस्तो देशमा संक्रमितको संख्या यसरी तीव्र गतिमा वृद्धि हुनु शुभसंकेत होइन । विश्व स्वास्थ्य संगठनका अनुसार पनि जम्मा संक्रिमितको झण्डै २० प्रतिशतमा सामान्यदेखि जटिल लक्षणहरु देखिने र यीमध्ये केहीलाई अक्सिजन सप्लाईको आवश्यकता पर्ने तथा केहीलाई सघन अपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । संक्रमितको संख्या यसरी दिनदिनै बढ्दै जाने हो भने लक्षणसहितका सबै बिरामीलाई अस्पतालमा भर्ना गरेर राख्न नसक्ने अवस्था आउँछ । यस्तो अवस्था आउनु अगावै सरकारले निजी क्षेत्र र समुदायसँग मिलेर समुदायस्तरमा अक्सिजन सिलिन्डर र बिरामीको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउने मेसिनको उपलब्धता सुनिश्चित गर्नु पर्दछ । यसले लक्षण भएका र अक्सिजनको मात्रै आवश्यकता भएका बिरामीको समुदायस्तरमै ब्यवस्थापन गर्न सहज हुनेछ साथै अस्पतालहरुमा जटिल समस्या भएका बिरामीहरुको व्यवस्थापन सहज ढंगले गर्न सकिने छ ।
अन्त्यमा
कोरोना संक्रमण कुनै अपराध होइन, यो एउटा रोगमात्रै हो । कोरोना संक्रमितलाई अपराधीको जस्तो ब्यवहार नगरौं । कति जना त तपाईको उपचार, तपाई र तपाईको परिवारलाई सुरक्षा प्रदान गर्ने दौरानमा संक्रमित भएका छन् । यतिबेला उहाँहरुलाई तपाईको मिठोबोली, सद्भाव र सान्त्वनाको खाँचो छ । त्यसैले सकिन्छ भने सद्भाव देखाऔं, सकिन्न भने भेदभाव नगरौं किनकि यो घटना तपाईको जीवनमा समेत घट्ने उत्तिकै सम्भावना हुन्छ ।
(स्वास्थ्य निर्देशनालय, दिपायल डोटीमा कार्यरत जोशी हाल सपरिवार कोरोना संक्रमित भई धनगढी, कैलालीमा सेल्फ आइसोलेसनमा बसिरहेका छन् । –सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?