शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभामा जान ‘रस्साकस्सी’ : पार्टी भन्छ, ‘गौतम’, प्रधानमन्त्री भन्छन्, ‘खतिवडा’

विकल्पमा पौडेललाई अर्थमन्त्री बनाउने ओलीको दोस्रो प्रस्ताव
बिहीबार, १८ भदौ २०७७, ०९ : ११
बिहीबार, १८ भदौ २०७७

काठमाडौँ । राष्ट्रियसभा सदस्य पदमा राष्ट्रपतिबाट मनोनित हुने तीनमध्ये एक रिक्त पदमा कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सकस भएको छ ।

यद्यपि बिहीबार ३ बजे बस्ने सचिवालय बैठकले कार्यदल प्रतिवेदनबाहेक रिक्त राष्ट्रियसभाको एक सदस्यमा कसलाई पठाउने भन्नेबारे छलफल गर्ने नेकपा सचिवालयका एक सदस्यको भनाइ छ ।

बुधबार बेलुकामात्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । कार्यदल प्रतिवेदनसँगै गौतमको राष्ट्रियसभा प्रवेशबारे भेटवार्तामा छलफल भए पनि सहमति भने जुट्न सकेन ।

सो पदमा उपाध्यक्ष वामदेव गौतम र विगत ६ महिनादेखि संघीय सांसदविनै मन्त्रीको जिम्मेवारी पाइरहेका डा. युवराज खतिवडा आकांक्षी छन् । खतिवडा भदौ २० भित्र राष्ट्रियसभा सदस्य नबने मन्त्रिरिषदबाटै बिदा हुनेछन् । त्यसैले प्रधानमन्त्री ओली खतिवडालाई सदस्य चयन गर्न लागिपरेका छन् । त्यसका लागि बुधबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर खतिवडाको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए ।

सो भेटमा ओलीले गौतमलाई पुरानै कुरा दोहोर्याउँदै डोल्पाबाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेका थिए । तर गौतमले प्रतिनिधिसभाको चुनाव कहिले हुने भन्ने नै निश्चित नभएकाले अहिले नै आफु राष्ट्रियसभामा जाने भन्दै फागुन १४ को निर्णय कार्यान्वयन गर्न ओलीलाई सम्झाएका थिए ।

राष्ट्रिय सभामा जाने उपाध्यक्ष गौतमको चाहनामा प्रधानमन्त्री ओलीबाहेक सिङ्गो पार्टीको साथ छ भने खतिवडाको पक्षमा प्रधानमन्त्री ओलीमात्र छन् ।

नेकपा सचिवालय बैठकले फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरे पनि त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । निर्णय कार्यान्वयन नगरेको भन्दै ओलीसँग नेताहरु असन्तुष्ट रहँदै आएका छन् ।

केही दिन अघिमात्रै उपाध्यक्ष गौतमले आफू राष्ट्रियसभा सदस्य हुन तयार रहेको ‘जनाउ’ दिँदै सचिवालयका नेताहरुसमक्ष सहयोगको आग्रह नै गरिसकेका छन् । यसबारे गौतमले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई पनि अब आफु पछि नहट्ने बताइसकेका छन् । बुधबार बेलुका दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि गौतमबारे कुराकानी भएको थियो तर सहमति भने जुट्न सकेन ।

स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्रीले खतिवडा र प्रचण्डले गौतमलाई सिफारिस गर्नुपर्ने अडान राखेका थिए । दुई नेताबीच गौतम कि खतिवडा भन्नेमा एकमत नभएपछि बैठकमै छलफल गर्नेगरी बालुवाटारबाट प्रचण्ड हिँडेका थिए । प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै ओलीले गौतमसँग एक घण्टा कुराकानी गरेका थिए ।

नेताहरुबीचको यो रस्साकस्सीबीच सचिवालय बैठकले गौतम र खतिवडामध्ये कसलाई पठाउला या अन्य कुनै मध्यमार्गी उपाय खोज्ला भन्नेबारे नेकपा वृत्तमा चासो बढेको छ ।

यद्यपि गत फागुन १४ गते बसेको सचिवालय बैठकले आफुलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको र त्यो निर्णय कार्यान्वयन हुनुपर्ने गौतमको भनाइ छ । गौतमको यो भनाइमा अध्यक्ष प्रचण्डसहितका बहमत सचिवालय सदस्य सहमत भए पनि ओली अझै सहमत भैसकेका छैनन् ।

वैशाख २० पछि चुपचाप बसेका गौतमले अचानक यो बेला राष्ट्रिय सभामा जाने कुरा निकाल्नुमा गौतम कसैको उक्साहटमा लागेको हुनसक्ने आँकलन ओली पक्षले गरिरहेको छ ।

गत वैशाख १७ मा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमण सकिएपछि आफू राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्दा गौतम त्यसमै सहमत भएका थिए । पार्टी विवाद चर्किरहेको र पार्टीभित्रैबाट ओलीको राजिनामा मागिएका बेला ओलीले त्यस्तो  प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावपछि गौतम खुलेरै ओलीको बचाउमा लागेका थिए ।

त्यसपछि वैशाख २० मा बसेको सचिवालय बैठकमा गौतमले आफू राष्ट्रि यसभामा नजाने सुनाएका थिए । गौतम स्वयम्ले राष्ट्रिय सभामा नजाने बताएपछि उक्त बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि गौतमको राष्ट्रिय सभा जाने चर्चा केही समय सेलाएको थियो ।

गत साता एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री केपी ओलीले गौतमको राष्टिय सभा जाने कुरा ‘च्याप्टर क्लोज’ भएको भन्दै युवराज खतिवडालाई नै सिफारिस गर्ने स्पष्ट संकेत गरेका थिए ।

ओलीको यो संकेतपछि गौतमले पुरानो निर्णय कार्यान्वयनको माग अघि सार्दै आफु तयार रहेको बताएका हुन् । गौतमको यो मागसँगै राष्ट्रिय सभाको एक पदका लागि दुई जनाको दावेदारी कसरी व्यवस्थापन हुन्छ भन्नेमा नेकपाका शीर्ष नेताहरु नै अन्योलमा छन् । वरिष्ठ नेता झलनाथ खनाल गौतमका सवालमा फागुनमै निर्णय भैसकेकाले थप छलफल गर्नु नपर्ने बताउँछन् ।

कसलाई पर्ला चिठ्ठा ?

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गौतम राष्ट्रिय सभामा नजाने बताएसँगै खतिवडालाई सिफारिस गर्ने बचन नै दिइसकेको ओली निकटका नेताहरु बताउँछन् । तर, अहिले गौतमले आफ्नो धारणा फेर्दै पुनः जाने मनसाय राखेपछि पनि गौतमलाई चिढ्याउने अवस्थामा भने ओली नरहेको बताइन्छ ।

त्यसैले ओलीले सहमति खोज्ने प्रयास गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ६ बुँदे प्रस्ताव अघि सारेर आफूलाई साथ दिएका गौतमलाई ‘एडजस्ट’ गरेरै जानु उपयुक्त हुने ओलीको बुझाई छ । यसो गर्दा पार्टी निर्णय कार्यान्वयन गरेजस्तो पनि देखिने र गौतम आफ्नै कित्तामा उभिने भएकाले गौतमको प्रस्ताव यो पटक अस्वीकार गर्ने पक्षमा ओली नभएको उनी निकट स्रोतको भनाइ छ । तर गौतमलाई स्थान दिँदा खतिवडा भने मन्त्रिपरिषदबाट बाहिरिनुपर्ने हुन्छ । किनभने यो क्याविनेटमा खतिवडा नै प्रधानमन्त्रीका खास विश्वासपात्र मन्त्री हुन् जो, ओलीले जे भन्यो त्यही मान्छन् । यदि खतिवडालाई निरन्तरता दिन नसके र समिकरण नमिले ओलीले अर्का विश्वासिला पात्र महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिन चाहेको बुझिएको छ ।

‘यदि यो विकल्पमा दुई अध्यक्षबीच कुरा मिलेमा खतिवडा भदौ २१ पछि पूर्वअर्थमन्त्रीमा सीमित हुनेछन्’, ओली निकटकै एक स्थायी समिति सदस्य भन्छन्, ‘गौतमका विषयमा फागुनको निर्णयलाई वैशाखको निर्णयले खारेज गरिसकेको छ । यदि उहाँ (गौतम) राष्ट्रिय सभामा जाने अड्डी मै रहनुभयो भने पुनः सचिवालयले निर्णय गर्नसक्छ तर मन्त्री हुने सम्भावना संविधानतः कमै देखिन्छ ।’

विकल्प यो पनि हुनसक्छ

ती नेताका अनुसार यस्तो अवस्थामा नेताहरुबीच अन्य विकल्पमा पनि छलफल हुनसक्छ । त्यो भनेको गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा लैजान कुनै एक सदस्यलाई राजीनामा दिन लगाउने । यसो गर्दा खतिवडा र गौतम दुवैको व्यवस्थापन गर्न सकिने विकल्प भए पनि त्यसो गर्दा त्यति राम्रो सन्देश नजाने भएकाले नेताहरु सकभर त्यो विकल्पमा गैहाल्छन् भन्न सकिदैन ।

त्यसो गर्दा फेरि नेकपामा रहेको तीन समुहमध्ये कसको मान्छेलाई ब्याक (फिर्ता) गर्नेभन्ने प्रश्न उठ्छ । त्यसका लागि पहिलो रोजाई राष्ट्रपतिबाट मनोनित हाल सांसद रहेकामध्येबाट एक जनालाई पार्टीले फिर्ताका लागि प्रस्ताव गर्नसक्छ तर त्यसका लागि एक महिला अनिवार्य भएकाले महिलालाई राजीनामा गर्न लगाउन मिल्दैन । त्यो अवस्थामा प्रचण्ड पक्षका रामनारायण विडारीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । तर गौतमका लागि विडारीको राजीनामा माग्न त्यति उचित हुनेछैन र प्रचण्ड त्यसमा सहमत हुने छैनन् । विडारी पूर्वमाओवादी पक्षका भनेर चिन्निछन् । यस्तो अवस्थामा यो विकल्प पनि काम लाग्ने देखिदैन । यस्तो बेलामा नेपाल पक्षबाट पनि मैदान खाली गर्ने पक्षमा कुनै सांसद तयार हुने देखिदैनन् ।

त्यसकारण बरु ओली पक्षकै एक निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर उनको ठाउँमा गौतम र खतिवडा दुवैलाई सिफारिस गर्ने विकल्पमा समेत छलफल हुनसक्ने सम्भावना रहेको नेकपाका एक नेता बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप