शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीमा थुप्रिन थाल्यो पैसा

बैङ्कको पैसा सहकारीतर्फ आउन थालेको आशङ्का
बिहीबार, १८ भदौ २०७७, ०८ : ०१
बिहीबार, १८ भदौ २०७७

पछिल्लो समय सहकारीहरुमा पनि पैसा थुप्रनेक्रम बढेको छ । कर्जा माग गर्नेभन्दा निक्षेप राख्नेहरु बढी छन् । सहकारीमा पैसा राख्नेहरु बढ्नुमा पछिल्लो समय सहकारीले आम मानिसको विश्वास जित्दै गएको विश्लेषण विज्ञहरुले गर्न थालेका छन् । अर्कोतर्फ बैङ्कहरुले बचतमा ज्यादै न्यून ब्याजदर दिएपछि त्यता राखेको निक्षेपसमेत सहकारीमा आउन थालेको हो कि भन्ने अनुमान छ ।

सहकारीहरुले कारोबार गर्ने राष्ट्रिय सहकारी बैङ्कमा साउन यता निक्षेप सङ्कलनमा ह्वात्तै वृद्धि भएको छ । साउन र भदौमा सात अर्बभन्दा बढी निक्षेप सहकारी बैङ्कमा आएको छ । अहिले बैङ्कसँग ५० प्रतिशतभन्दा बढी तरलता (लगानीयोग्य रकम) रहेको बैङ्कका सीईओ (प्रमुख कार्यकारी अधिकृत) बद्री गुरागाईंले जनाएका छन् ।

भदौ लागेयता २०/२५ करोड रुपैयाँ मात्र सहकारी बैङ्कबाट झिकिएको छ । सहकारी संस्थाहरुले निषेधाज्ञाको समयमा सो रकम झिकेका हुन् । यो सामान्य अवस्थाभन्दा केही बढी भएको बैङ्कका सीईओ गुरागाईंले जानकारी दिए ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरु दशँैको लागि पैसा झिक्न आउनेक्रम विस्तारै बढ्ने भएकाले दशैँको जोहो गर्न रकम झिक्ने क्रममा केही वृद्धि भएको हुनसक्ने अनुमान सहकारी बैङ्कको छ । यद्यपि पहिलो चरणको लकडाउन घोषणाको केही दिन पैसा झिक्नेहरु ह्वात्तै बढे पनि निषेधाज्ञामा सामान्य अवस्थाभन्दा ५/१० करोड मात्र तलमाथि भएको गुरागाईंको भनाइ छ ।

निषेधाज्ञाका कारण बैङ्कका सबै शाखा खुल्न सकेका छैनन् । शाखा खुल्ने हो भने निक्षेप अझै बढ्ने अवस्था देखिएको छ । सहकारी बैङ्कको उपत्यकामा रहेका ९ वटा शाखामध्ये आलोपालो गरी ४ वटा शाखा मात्र खुलेको छ । गुरागाईंका अनुसार उपत्यका बाहिर सम्पूर्ण शाखा कार्यालय बन्द छन् ।

पहिलो चरणको लकडाउनभन्दा निषेधाज्ञाको समयको प्रभाव बैङ्कमा कम देखिएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए । उनी भन्छन्, ‘निषेधाज्ञामा झिकिएको रकम सामान्य समयभन्दा ५÷१० करोड बढी मात्र हो । यो भनेको होलसेल लेन्डिङमा सामान्य हो ।

निषेधाज्ञाका कारण बैङ्कका सबै शाखा खुल्न सकेका छैनन् । शाखा खुल्ने हो भने निक्षेप अझै बढ्ने अवस्था देखिएको छ । सहकारी बैङ्कको उपत्यकामा रहेका ९ वटा शाखामध्ये आलोपालो गरी ४ वटा शाखा मात्र खुलेको छ । गुरागाईंका अनुसार उपत्यका बाहिर सम्पूर्ण शाखा कार्यालय बन्द छन् ।

राष्ट्रिय सहकारी बैङ्क सहकारी सङ्घ संस्थाको बैङ्क हो । कारोबारका लागि सहकारी संस्थाहरुलाई सहज होस् र नगद झिक्ने र राख्ने सुविधाबाट वञ्चित नगराउन बैङ्कले सीमित शाखा खोलेर भए पनि सेवा दिएको छ । राष्ट्रिय सहकारी बैङ्कको नेपालभर १२ हजारभन्दा बढी सहकारी संस्थाहरु सदस्य छन् । ती सहकारी संस्थाहरुले सहकारी बैङ्कसँग कारोबार गर्ने गरेका छन् ।

यता ३५ सयभन्दा बढी बचत तथा ऋण सहकारी संस्था सदस्य भएको नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ (नेफ्स्कुन) मा भदौ यता ३ अर्ब रुपैयाँ झिकिएको छ । २ अर्ब ७५ करोड रुपैयाँ बचत आएको नेफ्स्कुनका कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेले बताए । सदस्य सहकारीमा जम्मा भएको रकम नेफ्स्कुनमा निक्षेपको रूपमा आउने गरेको छ । नेफ्स्कुनको ऋण लगानी ७ करोड छ जुन न्यून भएको पोखरलले बताए ।

सहकारीले चर्को ब्याजदर लिने गरेको भन्ने आलोचनापछि गत वर्ष सहकारी विभागले उनीहरुले लिने ब्याजदरको सीमा तोकेको थियो । तर अहिले लगानी गर्ने क्षेत्र खुम्चिएपछि सहकारीमा पैसा थुप्रन थाल्यो जसले लगानी योग्य रकम बढ्न गयो । र सहकारीहरुले पनि ब्याजदर घटाउन थाले ।

बैङ्कको पैसा सहकारीतर्फ आउन थालेको आशङ्का

सहकारीमा पछिल्लो समय निक्षेप बढ्नुमा बैङ्कहरुले कम ब्याज दिँदा बढी ब्याज पाउने लोभमा सहकारीतिर आउन थालेको आशङ्का नेफ्स्कुनका कायममुकायम सीईओ पोखरेलको छ । उनी भन्छन्, ‘सहकारीले ब्याजदर घटाउँदा पनि बैङ्कको भन्दा सहकारीकै ब्याजदर बढी छ । केही पैसा बढी ब्याज पाउने लोभले बैङ्कबाट सहकारीतिर आएकोले सहकारीमा पैसा बढेको छ ।’

सहकारी बैङ्कका सीईओ गुरागाईका अनुसार ५० प्रतिशतभन्दा बढी अधिक तरलता सो बैङ्कमा छ । तरलता व्यवस्थापनका लागि सहकारी बैङ्कले सो रकम मुद्दती निक्षेपमा राख्दैछ । अहिले कर्जाभन्दा बढी निक्षेप थुप्रिएपछि सहकारीहरुले ब्याजदर समेत घटाउन थालेका छन् । भदौ १० गते मात्र सहकारी बैङ्कले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैङ्कले बचतमा २.२५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र कर्जाको ब्याजदरमा साढे ६ देखि साढे १० प्रतिशतसम्म लिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सहकारीले चर्को ब्याजदर लिने गरेको भन्ने आलोचनापछि गत वर्ष सहकारी विभागले उनीहरुले लिने ब्याजदरको सीमा तोकेको थियो । तर अहिले लगानी गर्ने क्षेत्र खुम्चिएपछि सहकारीमा पैसा थुप्रन थाल्यो जसले लगानी योग्य रकम बढ्न गयो । र सहकारीहरुले पनि ब्याजदर घटाउन थाले ।

यता नेफ्स्कुनले पनि केही समय अघि ब्याजदर घटाएको छ । अझै त्यसलाई पुनरावलोन गरेर ब्याज घटाउने पक्षमा नेफ्स्कुन छ ।

अहिले बचतमा न्यूनतम साढे तीन प्रतिशतदेखि ५ प्रतिशतसम्म छ । कर्जामा ११ प्रतिशतसम्म छ । पोखरलेका अनुसार नेफ्स्कुनले ब्याज तीन प्रतिशतसम्म घटाएको हो । जुन भदौ १ देखि लागू छ ।

मुलुकभर सञ्चालित साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ५ सय ७८ वटा बचत तथा ऋण सहकारी संस्था छन् । यो कुल सहकारी संस्थाको ३९.३४ प्रतिशत हो । केही सहकारीको सहकारी सिद्धान्तविपरीत क्रियाकलापले अन्य सहकारीलाई समेत बदानाम गराएको विज्ञहरुले आरोप लगाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप