शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपामा बहस : बामदेवका हकमा फागुन १४ कि वैशाख २० को निर्णय आधिकारिक ?

बुधबार, १७ भदौ २०७७, २० : ३८
बुधबार, १७ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेपछि पार्टीभित्र देखिएको विवाद केही साम्य भएको थियो । तर उपाध्यक्ष बामदेव गौतमको विषयलाई लिएर पार्टीमा पुनः विवाद उत्पन्न भएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा ल्याउने किन नल्याउने भन्ने विषयमा विवाद देखिएपछि अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच दुरी बढेको छ । त्यति मात्र होइन, कार्यदलले बुझाएको १७ बुँदे प्रतिवेदनमाथि छलफलका लागि बिहीबार ११ बजे सचिवालय बैठक बस्दै छ ।

भदौं १३ गते बोलाइएको सचिवालयको बैठक पनि उपाध्यक्ष गौतमको विवादका कारण स्थगित भएको थियो । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार भदौ १२ गते अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको छलफलमा पनि उपाध्यक्ष गौतमको कुरा उठेको थियो । प्रधानमन्त्रीसमेत रहेका अ‍ोलीले आफू अर्थमन्त्री डा.युवाराज खतिवडालाई नै निरन्तरता दिने निर्णय गरिसकेको र यो कुराको जानकारी राष्ट्रपतिलाई समेत गराई सकेकाले पछि हट्न दवाव नदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।
 
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने, ‘गौतमजीलाई कतै नकतै एडजस्ट गर्छु, त्यस विषयमा उहाँसँग कुरा भइसकेको छ ।’ त्यसपछि प्रचण्डले ‘यस विषयमा पार्टीमा छलफल गरेर नै निर्णय गरौं या यसअघि भएका निर्णयलाई कार्यान्वयन गरौं’ भनि प्रतिकृया दिएपछि प्रधानमन्त्री ओली झस्केका थिए । 


सचिवालयको बैठक बस्यो भने फेरि गौतम बारेमा लफडा हुने थाह पाएर प्रधानमन्त्री ओलीले भदौं १८ गतेका लागि बैठक तय गरेको अध्यक्ष प्रचण्ड निकट रहेका ती नेताले बताए । उपाध्यक्ष गौतम विषयमा छलफल हुने भएको छ । किनभने गत फागुन १४ गते बसेको सचिवालयकै बैठकले नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वय गराउन प्रचण्ड पक्षका नेताहरुले दवाव दिइरहेका छन् ।

त्यसमा सचिवालयका सदस्य झलनाथ खनाल र माधवकुमार नेपालले पनि प्रचण्डलाई साथ दिएका छन् । उनीहरुले पनि उपाध्यक्ष गौतमको बारे पार्टीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने कुरामा जोडदिएका छन् । 

तर प्रधानमन्त्री अ‍ोली पक्षका नेताहरुले फागुन १४ गते भएको निर्णयलाई बैशाख २० गते बसेको निर्णयले उल्टाएको दावी गरिरहेका छन् । अ‍ोली निकट एकजना स्थायी कमिटीका सदस्यले भने, ‘फागुन १४ गते बसेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको कुरा सही हो । तर त्यसपछि वैशाख २० गते बसेको सचिवालयको बैठकले त्यो निर्णयलाई उल्टाएर उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने  निर्णय गरेको छ । प्रधानमन्त्री ज्युले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा नै लैजाने प्रयास गरिरहनु भएको छ ।’
बैशाख २० गते बसेको सचिवालय बेठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजाने पहल गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभामा आएपछि प्रधानमन्त्रीका लागि ढोका खुल्नेछ ।’ 

यही कुरालाई टेकेर प्रधानमन्त्री अ‍ोलीले गौतमलाई प्रतिनिधिसभामा लैजाने पहलमा लागेको ती नेताले रातापाटीलाई बताए । तर, उपाध्यक्ष गौतमले स्वयं आफू प्रतिनिधिसभामा नजाने बरु फागुन १४ गते भएका निर्णय अनुसार राष्ट्रियसभामा जाने प्रतिकृया दिइसकेका छन् ।
 
उनले यो कुरा प्रधानमन्त्री ओलीलाई पनि भनिसकेको बताइएको छ । प्रतिनिधिसभाको चुनाव गर्ने उपयुक्त समय नरहेकाले आफू राष्ट्रसभामा जाने कुरा प्रधानमन्त्री अ‍ोली समक्ष स्पष्ट पारिसकेका छन् । तर प्रधानमन्त्री ओलीले ‘प्रतिनिधिसभामा कसरी ल्याउने त्यो चिन्ता मेरो हो । तपाई चुपचाप बस्नुस् सबै कुरा म मिलाउँछु’ भन्दा पनि गौतम सहमत भएका छैनन् । उनलाई मनाउने प्रयास अझै जारी रहेको छ ।

अहिले गौतम अर्थमन्त्री बन्नका लागि राष्ट्रिसभामा जानका लागि तयार भएका छन् । तर जतिबेला यो निर्णय भएको थियो त्यतिबेला उनले नै राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधानमा राखे मात्र आफू त्यसको सदस्य बन्ने नत्र नबन्ने प्रतिकृया बैठकमै दिएका थिए । 

त्यसपछि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल बनेको थियो । त्यसमा सुवास नेम्वाङ र खिमलाल दोवकोटालाई पनि सदस्यको रुपमा राखिएको थियो । तर पछि प्रधानमन्त्री अ‍ोलीले नै यो कार्यदल पार्टीले आधिकारीक रुपमा गठन नगरेको प्रतिकृया दिएपछि त्यतिकै भताभुङ भएको थियो । 

कार्यदल बनाउने निर्णय फागुन ११ गते बसेको सचिवालयको बैठकले गरेको थियो तर त्यो निर्णय बाहिर ल्याइएको थिएन । पछि मिडियामार्फत मात्र सार्वजनिक भएको थियो । सार्वजनिक भएपनि त्यतिबेला त्यो कार्यदलबारे भएको निर्णय कसैले स्वीकार गरेको थिएनन् । जसलाई सोध्दा थाह छैन भनेर मात्र पन्छिने गरेका थिए । कार्यदल त्यतिकै निस्कृय भएर समाप्त भयो । त्यही बीचमा अर्थात फागुन १४ गते उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर संविधान संशोधन नहुने भएपछि उपाध्यक्ष गौतमले पनि त्यतिबेला राष्ट्रियसभामा जाने कुनै चासो लिएका थिएनन् । 

उनी आफू प्रधानमन्त्री बन्ने भएपछि मात्र राष्ट्रिय सभा वा प्रतिनिधिसभामा जाने अडान लिएपछि २०७७ बैशाख २० गते बसेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यमा लैजाने निर्णय गरेको थियो ।

आज यिनै दुई खालको निर्णयलाई लिएर दुई पक्षको बीचमा विवाद देखिएको छ । प्रचण्ड पक्षले फागुन १४ गते भएको निर्णय अनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने दवाव दिइरहेका छन् भने ओली पक्षका नेताहरुले बैशाख २० गते भएको निर्णय अनुसार नै उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने पहल भइरहेको अडानमा छन् । 

यी अडानहरु अब कहाँ गएर टुगिंएला यसै भन्न सकिँदैन । त्यसका लागि सचिवालयको बैठक कुर्नै पर्ने हुन्छ । गौतमलाई प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउने प्रतिवद्धता दाहोर्याउन प्रधानमन्त्री अ‍ोली साउन १३ गते उपाध्यक्ष गौतमको निवास पुगेका थिए । ओली र प्रचण्डको बीच पावरसेयरीङ्गको विवाद चलिरहेको बेला उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि सबभन्दा बढी खुशी प्रधानमन्त्री ओली भएका थिए । 

किनभने त्यो प्रस्ताव ओलीको पक्षमा थिए । त्यो खुशी थाम्न नसकेर प्रधानमन्त्ती ओली त्यही दिन साँझ श्रीमतीसहित गौतम निवास पुगेका थिए र त्यहाँ गएर खुशी साटासाट गरेका थिए । प्रधानमन्त्री ओलीले आफूले गरेको प्रतिवद्धता अनुसार नै तपाईलाई प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउने हो, त्यसका लागि आफूले पहल समेत शुरु गरिसकेको कुरा राखेको स्रोतको दावी छ । 

अहिले हुन लागेको मन्त्री हेरफेरमा गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाउने प्रतिवद्धता पनि प्रधानमन्त्री अ‍ोलीले गरेका थिए । त्यस दिन उपाध्यक्ष गौतमले त्यसमा कुनै सहमति जनाएका थिएनन् । किनभने यसअघि पनि पटक पटक यस्ता प्रस्ताव आइसकेकाले यसमा आफ्नो केही प्रतिकृया नरहेको प्रतिकृया दिएका थिए तर अहिले आएर राष्ट्रियसभामा गएर उपप्रधान तथा अर्थमन्त्री बन्न पनि तयार भएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप