शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट भारतमा ३७ लाख, विश्वभर २ करोड ५९ लाख सङ्क्रमित

बुधबार, १७ भदौ २०७७, १५ : ३१
बुधबार, १७ भदौ २०७७

नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतमा कूल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ ।  अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म सङ्क्रमितको कूल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो ।   तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा कूल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

भारतमा अहिले पनि ८ लाख १ हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभर दुई करोड ५९ लाख २५ हजार ४७० जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६१ हजार ६६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ । 

मृत्यु भएका र सङ्क्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा ६२ लाख ५८ हजार २८ जना सङ्क्रमित हुँदासम्म एक लाख ८८ हजार ९०७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना सङ्क्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो ।

डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुँदै विश्वभर फैलिएको हो । यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभर फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय बैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन्। 

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ, जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेको उक्त अखबारले जनाएको छ ।  –पिटिआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप