मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूमा माउ पार्टीको भन्दा चर्को विवाद, महर र तामाङबीच जुहारी

बुधबार, १७ भदौ २०७७, १४ : ०७
बुधबार, १७ भदौ २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूमा विवाद चुलिँदो छ । संगठनमा देखिएका समानान्तर गतिविधि र सामाजिक सञ्जालमा जारी आरोप प्रत्यारोपबाट पनि अनेरास्ववियूभित्र झाङ्गिएको विवाद प्रष्ट देख्न सकिन्छ । माउ पार्टी नेकपामा देखिएको विवादकै रुपमा अनेरास्ववियूमा पनि विवाद देखिएको हो । नेकपामा असार १० गते सुरु भएको स्थायी कमिटी बैठकबाट विवादले उग्ररुप लिएपछि अनेरास्ववियूमा पनि त्यसको प्रभाव देखिएको हो ।

अनेरास्ववियूका संयोजक र सह–संयोजकबीच देखिएको ध्रुवीकरणले नै अनेरास्ववियूभित्र विवाद बढाएको हो । संगठनका तर्फबाट विज्ञप्ति जारी गर्दा संयोजक र सहसंयोजकै नामबाट संयुक्त विज्ञप्ति जारी गर्ने प्रचलन रहे पनि ८ असार यता उक्त प्रचलन तोडिएको छ । आन्तरिक विवादकै कारण अनेरास्ववियूमा संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङको संयुक्त विज्ञप्ति निस्किन छोडेको हो । 
महरले गुटगत भेला गरेपछि समानान्तर गतिविधि गर्नु परेको तामाङ पक्षको भनाइ छ । महरले गुटगत भेला गरेको केही दिनमै तामाङले साउन ९ मा एकलौटी विज्ञप्ति जारी गरेका थिए । उनको त्यो क्रम रोकिएन । साउन २० मा तामाङले फेरि एकलौटी विज्ञप्ति जारी गरिदिए । 

गुटगत भेलाबाट महर पनि विज्ञप्तिको प्रतिश्पर्धामा उत्रिए । महरले पनि साउन २५, २७ र भदौ ४ मा गरी तीन पटक एकलौटी रुपमा विज्ञप्ति जारी गरे । यता, तामाङद्वारा भदौ १२ मा जवाफी विज्ञप्ति जारी भयो । जसको तरंग सामाजिक सञ्जालमा पनि देखियो ।

महर र तामाङका कार्यकर्ता सामाजिक सञ्जालमार्फत एक अर्कालाई विधि र पद्धतिको पाठ सिकाइरहेको देख्न सकिन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निकट महर र पुष्पकमल दाहाल (प्रचण्ड) निकट तामाङबीचको जुहारीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष मध्यमार्गी रुपमा प्रस्तुत भएको देखिन्छ ।  यता पूर्व माओवादीमा अनिल शर्मा खेमाले पनि उनीहरुको लफडालाई नियालिरहेको छ ।

नेपाल समूहका नेता सुधेश पराजुली र शर्मा निकट पञ्च सिंह समूहले लोक हसाउने काम बन्द गर्न र समस्याको समाधान कमिटीबाट गर्न दुवै पक्षलाई सुझाएको छ । पार्टीभित्रको अन्तरसंघर्ष समाधानको दिशातिर मोडिए पनि अनेरास्ववियूभित्र चर्किदो छ । संगठन एकताका बाँकी काममा विलम्ब हुँदा विवाद चर्किन पुगेको महर र तामाङ पक्षको मत छ । अनेरास्ववियूमा अहिलेसम्म केन्द्रमा संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीमात्रै टुंगो लागेको छ ।

९ सदस्यीय सचिवालय, प्रदेश कमिटी, संयोजक र सह–संयोजकबाहेक जिल्ला कमिटी, विभाग र विश्वविद्यालय तहका इकाईको एकताले पूर्णता पाएको छैन । संगठनभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न निकाय नहुँदा विवाद सतहमा आएको नेताहरुको बुझाइ छ ।

महर र तामाङ जुहारी
सहसंयोजक तामाङ भने महरको कार्यशैलीका कारण समस्या पैदा भएको जिकिर गर्छन् । उनले भने, ‘अनेरास्ववियूभित्र लफडा पार्टीकै अन्तरसंघर्षको रिफ्लेक्सनका रुपमा देखा परेको हो । उहाँहरुबाट पार्टी एकताको पक्षमा उभिने, पार्टी नेतृत्वलाई पार्टी एकता बचाउनका लागि दबाब दिने, सहयोग गर्ने र सुझाव दिनेभन्दा पनि पार्टीभित्रको अन्तरविरोध जस्ताको त्यस्तै ल्याउन खोजियो । संगठनको संयोजककै नेतृत्वमा छुट्टै गुटभेला गरियो । त्यो गर्नुपर्ने कुनै जरुरी थिएन । उहाँले कार्यशैलीले संगठनभित्र समस्या देखा प¥यो ।’

त्यसपछि आफूहरु बाध्य भएर फरक ढंगबाट गतिविधि गर्न थालेको तामाङको भनाइ छ । उनले भने, ‘अनेरास्ववियूमा सामूहिक रुपले सहकार्य गर्ने वातावरण छैन । यो परिस्थिति संयोजकले नै खडा गर्नुभयो । विद्यार्थी विभाग हेर्ने पार्टीका नेतासहितको छलफलमा यसको समीक्षा नगरि अगाडि जान सक्ने अवस्था छैन ।’

तर संयोजक महर भने तामाङको आरोपप्रति आक्रामक देखिए । महरले भने, ‘सँगै बस्न मन छैन भने जहाँ जान मन लाग्छ गइहाले भैगो नि ! संयोजकसँग सहकार्य गर्न मन छैन वा सकिँदैन भने आफ्नो मन लागेको गरे भइगो । अध्यक्षले संगठन चलाउँछ । अध्यक्षले गुट चलाउँछ र ? मानसिक रुपमा विक्षिप्त भएर साथीहरु यस्ता बेतुककका कुरा गर्छन् । संगठनमा कहीँ विवाद छैन ।’

तर तामाङ भने सामाजिक सञ्जालमा चलेको आरोप प्रत्यारोपको शृंखला महरकै निर्देशनमा खडा गरिएको बताउँछन् । उनले भने, ‘यसमा कार्यकर्ताको केही दोष छैन । कार्यकर्ताले त नेतृत्वले जे ग¥यो, त्यसलाई सिकोमात्र गरेका हुन् । यो परिस्थिति आउन नदिन संगठनभित्र विधि बसाल्ने र एकरुपता कायम गर्ने कुरामा संयोजकले जुन भूमिका खेल्नुपथ्यो, त्यो भूमिका निर्वाह गर्न नसक्दा यो परिस्थिति सिर्जना भयो ।’

महरले भने आफूमाथि प्रश्न उठाउने तामाङसँग नैतिक धरातल नभएको बताए । ‘प्रश्न उठाउने मान्छेले अरुलाई एक औँला उठाउँदा तीनवटा औँला आफूतिर फर्किएको पनि हेर्नुपर्छ । प्रश्न उठाउन पाइन्छ,’ उनले भने, ‘तर प्रश्न उठाउने नैतिक धरातल मसँग छ कि छैन भनेर साथीहरुले बुझ्नुपर्छ । हरेक प्रश्नको सामना गर्न र हरेक प्रश्नको जवाफ दिए समाधान गर्न म तयार छु ।’
संगठनभित्र अस्तित्वको खोजी भइरहको उनको भनाइ छ । महरले भने, ‘साथीहरु उफ्रिएका छन् । आफ्नो अस्तित्व खोजेका होलान् ।’

समाधान के ?
तामाङका अनुसार संगठनमा पैदा भएको गतिअवरोध हल गर्न एकताका बाँकी काम जतिसक्दो चाडो सकेर एकता महाधिवेशन गरी संगठनभित्रका सबै मनोविज्ञानलाई सम्बोधन गर्न सक्नु पर्दछ । 
उनले भने, ‘पूर्व एमाले समर्थित अनेरास्ववियू र पूर्व माओवादी समर्थित अनेरास्ववियू क्रान्तिकारी भन्ने मनोविज्ञान कायम छ । यस्तो अवस्थामा अहिलेको विवादको अहिले प्राविधिक हल होला तर दीर्घकालीन हल महाधिवेशनले मात्र गर्छ ।’

उनका अनुसार पार्टीको महाधिवेशनभन्दा पहिले छोटो बाटोबाट अनेरास्ववियूको एकता महाधिवेशन गर्दा दीर्घकालीन रुपमा समाधान निस्किन्छ ।
संयोजक ऐन महर संगठनभित्रको विवादबारे गम्भीर देखिँदैनन् । उनले भने, ‘संगठनभित्रको विवाद केही होइन र छैन । साथीहरुका पुराना बानी र व्यवहारहरु छुटेका छैनन् । सम्झाइ बुझाइ गरेपछि सबै सकिन्छ । केही दिनमा साथीहरुलाई बेलाएर उहाँहरुको कुरा सन्छु । मेरो कुरा पनि सुनाउँछु ।’

विगतमा पार्टीमा अन्तरविरोध बढेकाले त्यसको असर स्वाभाविक रुपमा अखिलमा परेको महरको बुझाइ छ । उनले भने, ‘पार्टीभित्रको अन्तरविरोध एक प्रकारले समाधान हुँदैछ । यहाँ पनि समाधान भइहाल्छ । साथीहरुका राजनीतिक उद्देश्य हुन् भने समाधान खोजिन्छ । षड्यन्त्रमुलक छन् भने मान्य हुँदैन ।’

यस्तै नेकपाका विद्यार्थी फाँटका इन्चार्ज हितमान शाक्यले पनि पार्टीभित्रको अन्तरविरोधको असर विद्यार्थी संगठनमा परेको बताए ।
उनले भने, ‘पार्टीभित्र देखिएको समस्याको असर हो । पार्टीभित्र समझदारी विकास भइरहेको छ । त्यही अनुसार अखिलमा पनि अब मिल्छ ।’ विवादलाई आफूले नियालिरहेको भन्दै उनले अनेरास्ववियूका नेताहरुसँग छलफल भइरहेको बताए । शाक्यले भने, ‘एकताका केही काम पार्टीले नै टुंग्याउन बाँकी छ । पार्टीमा विवादको गाँठो फुकेपछि यताको पनि फुकेर गइहाल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप