लकडाउनमा बढ्दो हिंसा
कोरोना एउटा महामारी मात्रै नभएर आपराधिक क्रियाकलापको अर्को महामारी पनि लिएर हामीकहाँ पुग्यो । आखिर कोरोनाको चपेटामा बन्दीजीवन बिताउन बाध्य हामी मानिसहरू अन्य अपराध गर्न पनि पछि परेनौँ ।
अहिलेको लकडाउनको समयमा पनि दिनहुँजसो बालिका बलात्कार र महिला हिंसाका घटनाहरू रोकिएन । बरु झन् प्रश्रय पायो यस्ता घटनाले । भारतको मध्य प्रदेशमा त यतिसम्म क्रुरता देखाए अपराधीले कि सुन्दा पनि आङ नै सिरिङ्ग हुन्छ ।
दिनहुँ सामूहिक बलात्कार अनि बलात्कारका घटनाले तीव्र रूप लिएको छ । सप्तरीमा १२ वर्षीया बालिकालाई दिसा गर्न घरबाट निस्केको मौका पारी स्थानीय युवाले बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै रौतहटमा पनि १० वर्षया बालिकालाई ५५ वर्षीय छिमेकीले दिसा गर्न निस्केको बेला बलात्कार गरेको घटना फेरि सार्वजनिक भयो । त्यसैगरी बर्दियामा एउटा १५ वर्षे बालकले ४ वर्षया नाबालिका बच्चीलाई बलात्कार गरेको तथ्य फेला पर्यो । कैलालीमा त एक दिन पूरा नबित्दै दुईवटा सामूहिक बलात्कार भए । यी प्रतिनिधि घटना हुन् ।
घरभित्र, छिमेकमा, क्वारेन्टाइनमा समेत बलात्कार भए । आखिर किन यति धेरै बलात्कारका घटना भइरहेका छन् त ? बलात्कारीको आपराधिक मानसिकता कसरी बढ्छ ?
बलात्कार खासगरी योजनाबद्ध त हुँदैन तर केही मात्रामा सामूहिक बलात्कार भने योजनाबद्ध नै हुन्छन् । विकृत मानसिकता बोकेका खराब मनोभावकृत मान्छेले नै यस्ता घिनौना अपराध गर्छन् । कतिपयले बदलाको भावले पनि बलात्कार गर्छन् । कोही अत्यन्तै तीव्र यौनेच्छा भएकाले पनि यस्ता घटना घटाउँछन् भने कतिपय नशालु पदार्थ, मादक पदार्थ सेवन गरी होसचेत गुमाउनेहरूबाट बलात्कारजन्य घटना हुन्छन् । यस्ता प्रवृत्तिका घटनामा प्रायः आफन्त पर्छन् जो कि बा, काका, दाजु, मामा, हजुरबा आदि ।
यो सबै गतिविधिले के कुरा पुष्टि गर्छ भने बलात्कार गर्ने अपराधी हाम्रै वरपर मडारिरहेको छ । हाम्रो वरपर हुने बलात्कारजन्य घटना हाम्रो आफन्तबाट र हाम्रो सबैभन्दा नजिकका व्यक्ति र हामीले आफ्नो अभिभावक वा भरोसा मानिएको व्यक्तिबाटै बढि हुँदोरहेछ ।
हाम्रो समाजमा बलात्कारीलाई भन्दा पीडितलाई दोषी देख्ने चलन छ । जब बलात्कार हुन्छ अनि पीडितमाथि अनेक लान्छना लगइन्छ । छोटा लुगा लगाएर, उत्ताउली भएर, परपुरुषसँग मस्केर बोलेर, बैँसले उन्माद चढाएर आदि चाहिँदा नचाहिँदा आरोप लगाइन्छ । अब यदि बलात्कार हुनुका कारण नै यिनै हुन् भने चार वर्षकी बालिकालाई कस्तो बैँस चढ्छ ? उनले लगाउने लुगाको साइज कत्रो हुनुपर्ने हो ? अनि त्यो बच्ची कसरी उत्ताउली हुने हो ? कसरी परपुरुषसँग मस्किने हो ? के उसको त्यो अबोध हाँसो नै पुरुषलाई उत्तेजित पार्ने आपराधिक तत्व हो त ? हामीसँग अनेक प्रश्न छन् तर जबाफ जति पाइन्छ सबै चरित्रमै आघात पुर्याएर पाइन्छ ।
अहिले लकडाउनमा सबै आआफ्नो घरभित्र बन्दी छन् । यस्तो अवस्थामा टाढाको व्यक्तिबाट बलात्कार या हिंसा हुनु नपत्याउने कुरा हो । जति पनि हिंसा भएका छन् नजिककै व्यक्तिबाट भएका छन् । यो अवस्थाले त के देखिन्छ भने पुरुष यति कुण्ठित भइसकेको छ कि उसले आफ्नो कुण्ठा पोख्न मात्रै एउटा स्त्री अङ्ग भए पुग्छ । जुन आफ्नै सन्तानको समेत किन नहोस् । किन यसरी कुण्ठित हुन्छन् पुरुषहरू स्त्रीको त्यो अङ्गदेखि ? आफ्नो न अर्को, उमेर, मानवता केही नहेरी यसरी स्त्रीलाई किन आफ्नो उन्माद पोख्छन् ? किनकि उनीहरू आफ्नो उन्मत्त वीर्य फाल्ने एउटा भाँडो ठान्छन् । यो प्रवृत्तिले नारित्व जोगाउन कसरी सकिन्छ ? आफ्नै बाउ, दाजु, मामा, काका, छिमेकी, शिक्षक, सुरक्षाकर्मी जोसुकैबाट पनि अपराध हुन्छ । अहिले यो लकडाउनमा भएका घटनाले हामी हाम्रा नजिकका आफन्तहरूसँग सचेत हुनुपर्ने अवस्था देखिन्छ । हाम्रा बालबालिकालाई यस्ता घटनाका सम्भावित अवस्थाबारे निर्धक्कसँग बुझाऊँ उनीहरूलाई सचेत गराऔँ । आफ्ना छोरीहरूसँग साथीको व्यवहार गर्दै सचेत गराइएन भने तपाईं हाम्रा वरपर यस्ता घटना फेरि घट्नेछन् । यदि हाम्रा घरमा या टोलछिमेकमा यस्ता घटना घटेका छन् भने ती घटनालाई भित्रै गुपचुप पार्ने काम नगरौँ । नत्र घटना अझै वृद्धि हुनेछन् । सबै सजग बनौँ ।
लकडाउनका कारण बलात्कारका घटना मात्रै हैन महिलाविरुद्ध घरेलु हिंसा पनि बढेको तथ्याङ्क सार्वजनिक भएका छन् । लकडाउन त हाम्रो स्वास्थ्य सुरक्षाका लागि हो हिंसा गर्न हैन । खै बुझेको ? सँगै जीवन बिताउने कसम खाएर विवाह बन्धनमा बाँधिएका पतिपत्नीको एक महिना सँगै घरमा बस्दा नै सम्बन्धले हिंसात्मक रूप लिन्छ भने त्यो सम्बन्धलाई के नाम दिनु । घरायसी हिंसा त भए भए त्यही सम्बन्धलाई लिएर मानिसहरू ट्रोल बनाउँदै छन् जहाँ स्त्रीको मजासँग खिल्ली उडाइएका छन् । यो प्रवृत्ति अर्को हिंसा हो ।
यी हिंसाका सारा पात्र महिला नै किन हुन्छन् ? हामी किन विद्रोह गर्न सक्दैनौ ? के हामीमा पनि पुरुषवादी व्यावहार हाबी भएको हो त ? अब आएर प्रश्न खडा हुन्छ किन बलात्कारका घटना न्यून हुनुको सट्टा बढिरहेको छ त ?
हामी, हाम्रो समाज, हाम्रा न्यायालय, पुलिस प्रशासनका कमी कमजोरीका कारण यस्ता घटना बढेको देखिन्छ । सामाजिक बहिष्कार वा इज्जत जाने डरले, ज्यान मार्ने धम्कीले पीडितले न्याय खोज्न जान हिच्किचाउँछन् । न्यायका लागि याचना गर्दा सुरुदेखि नै शाब्दिक बलात्कारको वर्षात् हुन्छ । पीडितको आवाज दबाइन्छ । पुलिसकहाँ यस्ता घटना दर्ता गराउनै धौधौ हुन्छ । भैहाल्यो भने फेरि त्यहाँ पनि पीडितले न्याय पाउने चान्स रहँदैन । राजनीतिक संरक्षण हुन्छ अपराधीलाई । अनि पैसाका चलखेल हुने । त्यसपछि अपराधी निरपराध बनेर घुम्छ पीडित मानसिक यातना बोकेर बाँच्न बाध्य हुन्छ । यसैकारण अपराध बढ्दो छ । यदि अपराधीलाई कानुन बमोजिम कारबाही हुने हो । राजनीतिक संरक्षण नहुने हो भने अवस्य बलात्कारजन्य घटनाको न्यूनीकरण हुन्थ्यो कि ?
घरभित्र बसेर सकारात्मक कामभन्दा बढी अश्लील फिल्म हेर्ने, मादक पदार्थ सेवन गर्ने गर्नाले पनि यस्ता घटनालाई बल पुगेको छ । लकडाउन वास्तवमै घरायसी सम्बन्धका लागि श्राप बन्न पुगेको देखिन्छ । सकारात्मक सोचौँ । असल काममा ध्यान लगाऔँ । अपराध न्यूनीकरण गर्न सबैले ध्यान दिऊँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल