बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै

बुधबार, १७ भदौ २०७७, १२ : ४७
बुधबार, १७ भदौ २०७७

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो । यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो । गन्तव्य स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम पनि भइरहेको नगर प्रमुख गिरीले बताए ।


यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको उनले बताए । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप