शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा विश्व अर्थतन्त्र र नेपालको सामाजिक संरचना

बुधबार, १७ भदौ २०७७, १२ : ३२

कोरोना भाइरस चीनको उहान सहरबाट सुरु हुँदै विश्वको सवै मुलुकहरुमा भयाभव अवस्थामा सङ्क्रमित भइरहेको छ । कोरोना भाइरसले विश्वजगतमा रहेका हरेक व्यक्तिहरुलाई एकै पटक ग्रस्त, भयभीत र आतङ्कित बनाएको छ । यसको अन्त्य गर्ने खोज सफल हुन सकिरहेको छैन । विश्वका अति शक्तिशाली राष्ट्रहरु पनि यस महामारी सङ्क्रमणबाट अछूत रहन सकेनन् । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट रहेका अमेरिका, ब्रिटेन, इटली, स्पेन, फ्रान्स जस्ता प्रभावशाली मुलुकमा कोभिड–१९ का कारण लाखौँ मनिसका जीवन लिइसकेको यथार्थ हाम्रो सामु स्पष्ट छ । हालसम्ममा विश्वभरमा झण्डै ९ लाख मानिसको मृत्यु भइसकेको छ । कोरोना निराकरणको कुनै औषधि तथा खोेपको परीक्षण भइरहेको तथ्य बाहिर आए पनि खोपको प्रयोगबाट स्वस्थ बनाउने सुनिश्चितता नहुँदा यो भाइरस विश्वकै लागि चुनौतीपूर्ण रहेको छ । 

कोरोना भाइरस सङ्क्रमणले संसारलाई त्रसित बनाउँदा नेपाल अछुतो रहने कुरै भएन । तर विश्व स्वास्थ सङ्गठनले सुरुमै अति जोखिम रहेको देशहरुको सूचीमा नेपाललाई राखेको छ । तर पनि विश्वका धेरै मुलुकहरुमा सङ्क्रमण द्रुतगतिमा बढिरहेको बेला नेपाल सुरक्षित नै देखियो । तर केही समय यता यस सङ्क्रमणको गति अकल्पिनिक रूपमा फैलिन थालेको छ । स्वास्थ सेवामा सहज पँहुच, सर्वसुलभ र गुणस्तरीय सेवा, स्वास्थकर्मी र अस्पतालको उचित व्यवस्थापन गर्न सरकार जुटेको देखिँदैन । जनताको जीवन सुरक्षामा सरकारले गैरजिम्मेवारीपन देखाएको छ । पीसीआर जाँचको उचित व्यवस्थापन हुन सकेको छैन । समयमा रिपोर्ट नदिँदा अन्य मानिसमा सङ्क्रमण फैलिने, फैलिरहेको यथार्थप्रति सरकार अझ गम्भीर देखिएको छैन । यी सेवाहरुको कमीका कारण आज निम्न वर्गहरुको जीवन धरापमा पर्न गएको छ । कोरोनाको भयाभय रूप भोगिरहेका अन्य मुलुकहरुको जस्तो दुर्दशाकोे आकलन आम नागरिकले गरिरहेका छन् । यस्तो मानवीय संवेदनशील विषयमा पनि आर्थिक अनियमता गर्नेहरुको संरक्षण गर्ने सरकार त्यति मात्र नभई लकडाउनको फाइदा उठाएर लोकतान्त्रिक पद्धतिको उपहास गरिरहेको देख्दा जनता मर्माहत बनेका छन् । सरकार आफ्नो शक्ति सञ्चय, भ्रष्टाचार र सत्ता बचाउनमा मात्र केन्द्रित रहेको स्पष्ट देखिन्छ । 

कोभिड–१९ ले भित्र्याएको विकराल परिस्थिति अझ लामो समय रहने निश्चित देखिन्छ । यसैको कारण विश्व वातावरणमा देखापर्ने आर्थिक, सामाजिक, सांस्कृतिक, पारिवारिक, स्वास्थ शिक्षा लगायत अन्य विविध क्षेत्रको प्रतिकूल प्रभाव बारेमा राज्यले आगामी दिनका लागि समयमा नै विशेष रणनीति तर्जुमा र कार्यान्वयनमा जोड लगाउनुपर्ने देखिन्छ । अहिले विश्वको मानचित्रमा कोरोना महाविपत्तिले मानवजीवनको साथै विश्व अर्थतन्त्रको संरचनालाई तहसनहस पारिरहेको यथार्थ सङ्केत बाहिर आइसकेको छ । विशेषतः विश्वको औद्यौगिक र व्यापारिक क्षेत्रको केन्द्रविन्दु रहेको चीनको आर्थिक सङ्कटको चपेटाले विश्वको आर्थिक गतिलाई धराशायी पार्न सक्छ ।

यसैकारण कोरोना विपत्ति माथि विजय प्राप्त गर्न सङ्घर्ष गरिरहेका विभिन्न मुलुकका सरकार प्रमुखहरु आगामी दिनमा देखिने आर्थिक विपत्तिबाट जोगिन योजना तर्जुमा र पूर्वतयारीतिर उन्मुख भइसकेका छन् । यस कोरोना सिर्जित मानवीय क्षति त्यसैगरी विश्वव्यापीकरणले निम्त्याउने आर्थिक समस्याले नेपाललाई दीर्घकालीन सङ्कटको भुमरीमा पार्न सक्ने स्पष्ट देखिन्छ । वैदेशिक रोजगार, उद्योग र विशेषगरी पर्यटन उद्योग आदि क्षेत्रबाट नेपालको गार्हस्थ उत्पादनमा झण्डै ३० प्रतिशत योगदान रहेको र नेपालको अर्थव्यवस्थालाई ठूलो मद्दत गरिरहेकोमा अबका केही वर्षहरु कोरोना प्रभावबाट ठूलो आर्थिक विपत्ति आउने निश्चित छ । तसर्थ कोरोनालाई परास्त गर्दै मुलुकको आर्थिक अवस्था र आर्थिक सङ्कटलाई सामान्य स्थितिमा लैजान अन्य मुलुकहरुले जस्तै नेपाल सरकार यथाशीध्र तयारीमा लाग्न जरुरी छ । विशेषत हाम्रो मुलुक कृषि प्रधान रहेकाले कृषिमा आधारित ६७ प्रतिशत कृषक जनसङ्ख्याको मनोबललाई वृद्धि गर्न सरकारले विशेष कार्यक्रम प्रदान गरी कृषि प्रणालीलाई अझ मजबुत र आधुनिकीकरणमा लैजान सकेमा नेपालीहरु भोकै बस्नुपर्ने अवस्था आउँदैन । 

जनताको जीवन सुरक्षामा सरकारले गैरजिम्मेवारीपन देखाएको छ । पीसीआर जाँचको उचित व्यवस्थापन हुन सकेको छैन । समयमा रिपोर्ट नदिँदा अन्य मानिसमा सङ्क्रमण फैलिने, फैलिरहेको यथार्थप्रति सरकार अझ गम्भीर देखिएको छैन । यी सेवाहरुको कमीका कारण आज निम्न वर्गहरुको जीवन धरापमा पर्न गएको छ ।

सरकारका स्थानीय र केन्द्रीय निकायले लकडाउनमा रहेका जनतालाई राहतको ठूलो धनराशी खर्च गरिएको भनेको छ । तर पहिचान बिनाको राहत सहयोग यथार्थ र आवश्यक व्यक्तिहरुले नपाएको खुल्न आएको छ । यस वर्षको आर्थिक बजेटको विनियोजित रकम कोरोना कहरका कारण खर्च तथा परिचालनमा कमी हुने सुनिश्चित नै छ । तसर्थ कृषि क्षेत्रमा उक्त रकम लगानी गरी नेपालको अर्थतन्त्रमा छिट्टै सुधार गर्ने मार्ग प्रशस्त गर्नुपर्दछ । कृषि उत्पादनका लागि तयारी गर्ने मौसम भएको समयमा लकडाउनका कारण कृषकलाई मल बीउबिजन अनुदान दिने व्यवस्था गर्न नसक्नु र आगामी दिनका लागि पनि यसको व्यवस्थापनमा चासो नदेखाउँदा भोलिका दिनमा भोग्नुपर्ने भोकमरीको चिन्ताले कृषकहरु मर्माहत भएका छन् । 

आर्थिकका साथै शैक्षिक, सामाजिक, पारिवारिक संरचना र स्वास्थ समस्याहरुकोे प्रतिकूल प्रभाव पनि नेपालले बेहोर्न पर्नेछ । शैक्षिक क्षेत्रलाई अन्य विकसित मुलुकहरुले अपनाएको प्रविधि अनलाइन शिक्षा नीति र विद्यालय सुचारु गरी हजारौँ बालबालिकाको शिक्षाको अधिकार र उनीहरुको भविष्यप्रति राज्यको ध्यानाकर्षण भएको देखिँदैन । 

विश्वका धेरै मुलुकहरुले कोरोनाबाट बच्ने सुरक्षाका मापदण्ड अपनाई स्कुल, विश्वविद्यालय समेत सुचारु गरिसकेको छ । उच्च शिक्षाका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थीलाई नो अब्जेक्सन सर्टिर्फिकेट दिनबाट सरकारले वञ्चित गर्दा उच्च शिक्षा प्राप्त गर्ने युवा विद्यार्थीको अभिलाषा माथि सरकारले कुठाराधात गरेको ठहर्ने छ । 

त्यसैगरी सामाजिक र पारिवारिक संरचनामा अबका दिनहरुमा ठूलै परिवर्तन देखापर्नेछ । पश्चिमा मुलुकहरु एकल पारिवारिक संरचनाको विकासमा अभ्यस्त भइसकेका छन् । एकल परिवारमा बालबालिका आफ्ना बुज्रुक हजुबुबा हजुरआमाको सद्भाव, संरक्षण र पारिवारिक तथा सामाजिक संस्कारभन्दा टाढा रहँदा प्रायः उनीहरु एक्लोपनको कारण मानसिक समस्याबाट ग्रस्त हुनपुगेका छन् । यसरी मानसिक समस्याबाट लाखौँ मानिसहरुको अनाहकमा मृत्यु भइरहेको छ । अमेरिकामा मात्र प्रत्येक वर्ष ४१ हजार मानिसको ज्यान डिप्रेसनले लिन्छ । यसरी संसारमा प्रतिवर्ष कुल जनसङ्ख्याको ४.४ प्रतिशत डिप्रेसनका कारण जीवन समाप्त भइरहेको आकडाले देखाएकोे छ ।

लामो समयसम्म व्यस्त एकल जीवन विताउने संस्कार भएको पश्चिमा समाजमा भने समस्या बढ्दै गएको र हिंसा, आत्महत्या आदिको प्रतिशत गत वर्षभन्दा यस वर्ष संसारकै आकडा झण्डै दुगुना पुग्ने अनुमान विभिन्न सञ्चार माध्यमले जनाएको छ । आधुनिक स्वतन्त्र परिवारको परिकल्पनामा बनेको समाज र परिवारका हजाराँै हजार युवा एक्लोपनले नै डिप्रेसनका शिकार भएका र यसैका कारण अपाङ्गताबाट पनि लाखौँ जनसङ्ख्या प्रभावित भइरहेको छ । तसर्थ यस सामाजिक दूरीले मानिसलाई एक्लोपन बनाउने र कोरोनाभन्दा भयाभय अवस्था सिर्जना हुनसक्ने देखिन्छ । युरोप र अमेरिका लगायतका देशहरुको तुलनामा नेपालको आँकडा निकै न्यून देखिन्छ । यसको कारण हाम्रो संस्कार संयुक्त परिवारको संरचना जहाँ पूर्वजले थालनी गरेका संस्कृति र संस्कारको निरन्तरबाट समाजलाई एकताबद्ध हुनमा मद्दत गरिरहेको छ ।

संयुक्त पारिवारिक वातावरणले आपसको माया संरक्षणले धेरै समस्या घरमै समाधान हुने र अप्रिय घटनाहरु हुनबाट बच्न सकेको हो । तर केही समय यता नेपाली समाजले पनि पश्चिमा मुलुकहरुले जस्तै स्वतन्त्र पारिवारिक संरचनाको अनुसरण गरेसँगै सामाजिक कलह र विचलन बढ्दै गएको छ । जसका कारण बलात्कार, हिंसा, हत्या घटनाहरु प्रत्येक दिन सुनिरहेका छौँ । कोरोनाको कारण लकडाउन, निषेधज्ञाको समयमा यस्ता घटनामा वृद्धि भएको र डिप्रेसनका कारण नेपालमा पनि आत्महत्या गर्नेको सङ्ख्यामा निकै वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।  

युरोप अमेरिका जस्ता अति विकसित मुलुकहरुले केही समयदेखि समाजमा डिप्रेसनले निम्त्याएको अपराधीकरण हिंसा, बलत्कार, हत्या आदि समस्याहरुको न्यूनीकरणका लागि सामाजीकरण सिद्धान्तको आधारमा एक आपसमा सद्भाव कायम राख्न विविध जनजागरण कार्यक्रमहरु सञ्चालित गर्दै आएका थिए । तर अबका दिनमा सामाजिक दूरीले यसको महत्त्व र प्रभावकारितामा कमी ल्याउने निश्चित छ । त्यसैकारण, कोरोना सङ्कटभन्दा भविष्यमा आउन सक्ने आर्थिक तथा सामाजिक समस्याले मानव जीवनमा सिर्जना हुने विकराल अवस्थाको खतराबाट मुक्त हुन आजैका दिनदेखि सम्बन्धित निकाय र आम नागरीक सवै सचेत रहनु पर्दछ ।

नेपालको संविधानअनुसार कानुनले प्रत्येक छोराछोरीले बाबुआमालाई आर्थिक तथा सामाजिक हैसियत अनुरूपको सेवा, सम्मान र हेरचाह गर्नुपर्ने दायित्वको बोध गराएको छ । आम नेपाली नागरिकले कोरोना, आर्थिक सामाजिक र पारिवारिक समस्याबाट टाढा रहन हाम्रो पारिवारिक र सामाजिक परम्परा संस्कारलाई सुदृढ बनाउँदै कानुनी मर्यादाको पालनसँगै यस समस्यामाथि विजय प्राप्त गर्न जागरुक रहौँ । सामाजिक दूरी अपनाऔँ सुरक्षित रहाैं। 

लेखक नेपाली काँग्रेस, केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महालक्ष्मी उपाध्याय डिना
महालक्ष्मी उपाध्याय डिना
लेखकबाट थप