कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
![कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार](https://rpcdn.ratopati.com/media/albums/bp_koirala_cancer_uWIqGhUPon.jpg)
कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताए । कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए ।
“क्यान्सरका बिरामीलाई कोरोना सङ्क्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ”, उनले भने । कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताए ।
अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिए । उनले पिसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए ।
क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७०० देखि ८०० बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता
-
बबरमहल डुबानमा परेपछि यसरी गरियो रेस्क्यू, तस्बिरहरू
-
नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)
-
प्रहरीमाथि कुटपिट गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन