शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा भटाभट कोरोना संक्रमण

सुरक्षा र उपचारको उचित बन्दोबस्त नहुँदा वीर अस्पताल आफैँ कोरोना स‌ंक्रमणको इपिसेन्टर बन्दै
मङ्गलबार, १६ भदौ २०७७, २१ : ४४
मङ्गलबार, १६ भदौ २०७७

गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ ।

कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ ।

यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।

वीर अस्पतालको इमर्जेन्सी कक्षमा कोरोनाका लागि आइसोलेसनका नाममा ५ वटा वेड छुट्याएको छ । तर सो छुट्याइएको बेड पनि सुरक्षित नभएको कारण सोही ठाउँबाट समेत संक्रमण सर्ने खतरा छ ।

हामीलाई प्राप्त जानकारी अनुसार, वीर अस्पतालमा कोभिड र ननकोभिड दुवैथरिका विरामीहरुलाई छ्यासमिस पारेर राखिएका छन् । अहिले पनि युरो सर्जिकल वार्डमा भर्ना गरिएका १४ जना विरामीहरुमध्ये ५ जना कोरोना संक्रमितलाई सँगै राखिएको बुझिएको छ । त्यसै गरी आइसीयूमा पनि एकजना कोभिड विरामीलाई ननकोभिड विरामीसँगै राखिएको पनि बुझिएको छ ।


यतिखेर सरकारले बौलट्टीपूर्ण ढंगले विभिन्न अस्पतालहरुलाई कोरोना अस्पताल गरेर विरामी भर्ना गर्नुलाई नै पुरुषार्थ ठानेको हो कि भन्ने अनुभूति हुन थालेको छ । यो किन पनि भने सरकारले कोभिड अस्पताल घोषित गरेपछि त्यहाँ गैर कोभिड विरामीहरुमा संक्रमण सर्न नदिनका लागि गर्नैपर्ने जनस्वास्थ्यका अत्यावश्यक प्रबन्धहरु गर्नेतिर खासै ध्यान दिइरहेको छैन । कतिसम्म भने अहिले वीर अस्पतालमा कोरोनाका विरामीलाई उपचार सेवा प्रदान गरिरहेका डाक्टरहरुबाट नै गैर कोरोनाका विरामीहरुलाई उपचार गराउने खतरनाक काम समेत भइरहेको बुझिएको छ । वीर अस्पतालमा खटिएका नर्सहरुले कोरोनाका विरुद्ध उचित सुरक्षा प्रबन्धको माग गर्दा उनीहरुलाई राजीनामा दिन धम्काइने गरिएको पनि बुझिएको छ । 


रातोपाटीलाई प्राप्त एउटा इमेल : सरकारको ध्यान यसमा पुग्ला ?

नमस्ते सम्पादक ज्यू, मेरो आमा क्यान्सर बाट पिडित हुनुन्छ उहालाई icu मा राखेर उपचार गर्नुपर्छ भन्नू भएको थियो डाक्टरले र वीर अस्पताल लागाएत कुनै पनि अस्पतालले ICU मा भर्ना लिन मानेन र अन्तमा ICU मा राखेर चलाउनुपर्ने औषधि बिर अस्पतालको अन्कोलोजि (oncology) Ward मै राखेर दिन थालिएको थियो कोरोनाको कारण एक्कासी अस्पताल बन्द गर्नु पर्ने भयो बिरामी घर लैजानु भन्ने निर्देशन आयो र के गरम गरम भयो यस्तो अवस्थामा अरु अस्पतालले पनि बिरामी भर्ना लिने अवस्था छैन घरमा झनै अप्ठ्यारो भएमा बिरामिलाई के गर्ने भन्ने उपाया छैन म जस्ता धेरै बिरामी छैन । कोरोनाको कारण भन्दा पनि अरु नै रोगको उपचार नपाएर मर्ने अवस्था आयो कोरोना आयो भन्दैमा गरिबहरुको उपचार गर्ने अस्पताल पूर्ण रुपमा बन्द गर्नु नै अचुक उपाया हो त? गम्भीर बिरामिलाई घर पठाउनुको सट्टा अन्य बिकल्प केही छैनन त? यो बिषयमा एकचोटि सत्यतथ्य बाहिर ल्याईदिनु पर्यो र असतालको प्रमुखको राय बाहिर ल्याउनुहुन र अन्य सम्बन्धित निकायाको समेत राय बाहिर ल्याउनुहुन बिनम्र अनुरोध गर्दछु

(हामीले यस इमेल सन्देशलाई भाषा सम्पादन समेत नगरी जस्ताको तस्तै प्रकाशित गरेका छौं । –रातोपाटी)


यतिखेर वीर अस्पतालमा स्वास्थ्य मन्त्रालयले इमर्जेन्सी कक्षका अच्यूत नाम गरेका डाक्टरलाई फोकल पर्सन तोकेर उनकै समन्वयमा भटाभट कोरोनाका विरामीहरु भर्ना गर्ने काम भइरहेको जानकारी प्राप्त भएको छ । डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी तथा त्यहाँ उपचार गराउन आउने विरामीहरुको ज्यानमाथि नै खेलवाड हुने गरी विना तयारी र उचित प्रबन्ध गरिएको यो खालको कार्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का पदाधिकारीहरु तथा वीर अस्पतालका निर्देशक समेत अकर्मण्य र लाचार देखिएका छन् ।

अहिले सुरक्षाको उचित प्रबन्ध र उपचारको आवश्यक तयारीबिना वीर अस्पताललाई कोभिड अस्पताल बनाएपछि उक्त अस्पताल नै कोभिडको केन्द्रबिन्दू बन्दै गएको छ । यसका विरुद्ध त्यहाँ कार्यरत डाक्टरहरुको विभिन्न संगठन तथा कर्मचारी युनियनहरुले पटक पटक नाम्सका पदाधिकारीहरु तथा वीर अस्पतालका निर्देशकलाई लिखित तथा मौखिक अल्टिमेटम दिइसकेका छन् । तर अहिले पनि त्यसमाथि कुनै सुनुवाइ भएको छैन । आफूहरुले उठाएका जायज मागको सुनुवाइ नभएमा वीरगञ्जका चिकित्सकहरुले सामुहिक राजीनामा दिएको जस्तो स्थिति आउने सक्ने चेतावनी डाक्टरका संगठनहरुले उपकूलपतिलाई दिइसकेको बुझिएको छ भने स्थितिमा सुधार नभए नाम्स तथा वीर अस्पतालका जिम्मेवार पदाधिकारीहरु विरुद्ध नै आन्दोलन गर्ने तयारी समेत भइरहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप