शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलन घोषणाको तयारीमा वायुसेवा सञ्चालक संघ

कार्यसमितिको बैठक बसेर निर्णय लिइने, अहिलेसम्म १० अर्बको आम्दानी गुम्यो
मङ्गलबार, १६ भदौ २०७७, ०९ : २७
मङ्गलबार, १६ भदौ २०७७

काठमाडौं । आन्तरिक हवाई उडानलाई पर धकेल्ने सरकारको निर्णयप्रति हवाई सञ्चालकहरु आक्रोशित बनेका छन् । ५ महिनाभन्दा बढी अवधिसम्म बन्द रहेको उडानलाई खुला गर्ने यसअघिको निर्णय पटकपटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले सरकारको सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।  मन्त्रिपरिषद्को आइतबारको बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै पूर्वघोषणा बमोजिम आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी गरेको संघका महासचिव मनोज कार्कीले जानकारी दिए ।

‘हामीले आन्तरिक उडान बन्द गर्ने निर्णय नलम्ब्याउन सरकारलाई भनेका थियौं । त्यसो गर्ने हो भने आन्दोलन गर्छौं भनेका थियौं । तर सरकारले फेरि १५ दिन उडान नगर्ने निर्णय गरेको छ भन्ने सुनियो । यो अवस्थामा एक्लैले निर्णय गर्नसक्ने अवस्था रहेन, छिटै कार्यसमिति बैठक बोलाएर कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्छौ ।’ समिट एयरका प्रबन्ध निर्देशक समेत रहेका संघका महासचिव कार्कीले त्यसका लागि बुधबारभित्रै कार्यसमिति बैठक बस्ने जानकारी समेत दिए ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको बैठकले भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सबै विमान कम्पनीहरुको नाममा सेफ्टी सर्कुलेसन र सेफ्टी एड्भाइजरी जारी गर्दै भदौ १ गतेदेखि उडानका लागि तयारी गर्न भनेको थियो । सोही अनुसार विमान कम्पनीहरुले अरु तयारीका साथै टिकट बुकिङ समेत गरिसकेका थिए । तर, साउन २९ गते सरकारकै निर्णयबमोजिम क्यानले उडानलाई १५ दिन पर सार्न निर्देशन दिएको थियो । तर, यो अवधि फेरि नसार्न वायुसेवा सञ्चालक संघले सरकारलाई चेतावनी दिएको थियो । तर, संघले चेतावनीसहित विज्ञप्ती जारी गरेको दिन नै सरकारले असोज १ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेपछि संघ आन्दोलन गर्ने अवस्थामा पुगेको हो ।

‘अन्तर्राष्ट्रिय अभ्यासविपरित स्वेच्छाचारी निर्णय’

वायुसेवा सञ्चालकहरुले सरकारको यो निर्णयलाई अन्तर्राष्ट्रिय अभ्यास विपरितको स्वेच्छाचारी निर्णय भनेका छन् । बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेतले सरकारले विश्वमै कतै नभएको आन्तरिक हवाई उडान बन्द गरेर जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति देखाएको बताउँछन् । अरु सेवाभन्दा हवाई उडान कम जोखिमयुक्त हुने र यात्रुहरुको जानकारी र सुरक्षा मापदण्ड अपनाउन सकिने अवस्था हुँदाहुँदै यसलाई बन्द गरिराख्नुको औचित्य नभएको उनको भनाई छ । 

‘कार मोटरसाइकलमा होस् वा  वा एम्बुलेन्समा सुतेर होस्, सरकारले जति नै रोके पनि दिनको ५/७ हजार मान्छे उपत्यकाबाट आवतजावत गरिरहेकै छन् । त्यो आवतजावतलाई सरकारले कसैले पनि रोक्न सक्दैन’ अध्यक्ष बस्नेत भन्छन्, ‘तर, एयरलाइन्सहरुमा एकद्वार प्रणाली हुन्छ । हामी शतप्रतिशत सुरक्षाको ग्यारेन्टी दिन्छौं । सबै यात्रुको नाम, ठेगाना, फोन नम्बर र आधिकारिक प्रमाणत्रपत्र सहितको रेकर्ड पनि हामीसँग हुन्छ । यस्तो अवस्थामा हामीलाई चाहिँ किन रोकिराख्ने ? यसको कुनै औचित्य नै छैन ।’

भारतले पनि सुरक्षा मापदण्ड पालना गरेर सबै प्रकारका आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गरिसकेको छ । त्यसो त भारतमा संक्रमण दर अहिले उच्च दरमा फैलिराखेको छ । आइतबार मात्रै भारतमा विश्वकीर्तिमान राख्नेगरी ७९ हजार ४ सय ५७ जना संक्रमित थपिए । तर उसले हवाई उडान बन्द गरेको छैन । 

आर्थिक वर्ष २०७५/७६ मा वायुसेवा सञ्चालकहरुको आम्दानी १८ अर्ब रुपैयाँ नजिक थियो । तर, आर्थिक वर्ष २०७६/७७ को चैतसम्म करिब १२ अर्ब रुपैयाँमात्र भएको छ । त्यसपछिको ४ महिनामा आम्दानी नगन्य मात्रै छ । सोही कारण ४ महिनामा मात्रै ६ अर्ब रुपैयाँको नोक्सानी भएको छ ।

भारतले उडान मात्रै होइन, उद्योग, व्यापार र कलकारखाना समेत सञ्चालनमा गर्न दिएको छ । शैक्षिक गतिविधिलाई अनलाइनमार्फत् निरन्तरता दिँदै आएको छ । त्यसो, त भारत मात्रै त्यस्तो गतिविधिमा निरन्तरता दिने पहिलो देश होइन । पहिले सुनसान देखिने चीनको उहान शहरमा अहिले निकै भीडभाड हुने गरेको छ । अमेरिकाले सुरुमा केही अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो, पछि त्यो पनि सुचारु गर्यो । तर, आन्तरिक उडान कहिलै बन्द गरेन । तर, नेपालले भने अन्तराष्ट्रिय उडान खुला गरेर आन्तरिक उडान बन्द गर्ने उल्टो नीति लिएको छ ।

१० अर्ब भन्दा बढीको आम्दानी गुम्यो

कोभिड–१९ का कारण भन्दै सरकारले आन्तरिक हवाई उडानमा रोक लगाउँदा अहिलेसम्म १० अर्ब रुपैयाँ भन्दा बढीको आम्दानी गुमेको छ ।  चैत ११ देखि अहिलेसम्मको अवधिमा सो बराबरको आम्दानी गुमेको वायुसेवा सञ्चालक संघको अनुमान छ ।

आर्थिक वर्ष २०७५/७६ मा वायुसेवा सञ्चालकहरुको आम्दानी १८ अर्ब रुपैयाँ नजिक थियो । तर, आर्थिक वर्ष २०७६/७७ को चैतसम्म करिब १२ अर्ब रुपैयाँमात्र भएको छ । त्यसपछिको ४ महिनामा आम्दानी नगन्य मात्रै छ । सोही कारण ४ महिनामा मात्रै ६ अर्ब रुपैयाँको नोक्सानी भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को डेढ महिनासम्म पनि आन्तरिक हवाई कम्पनीहरुको गतिविधि लगभग शुन्य बराबर छ । अर्को १५ दिनको लागि उडान बन्द गर्दा यसको मार थप पर्दै जाने वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्मा बताउँछन् । ‘६ अर्ब रुपैयाँ त अघिल्लो आर्थिक वर्षमा मात्रै गुमाइसकेका थियौं, त्यो पनि वृद्धिदरलाई शुन्य मानेर हेर्दा हो’ बर्मा भन्छन्, ‘सामान्य अवस्था थियो भने हवाई क्षेत्रको वृद्धिदर करिब १२ प्रतिशत थियो । त्यसलाई हिसाब गर्ने हो भने अघिल्लो वर्ष मात्रै ८ अर्ब भन्दा बढी घाटा लागेको छ ।’

सरकारले भदौ १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने भनेपछि कतिपय एयरलाइन्सले टिकटको अग्रिम बुकिङ समेत खुला गरे । तर, पछि फेरि भदौ १५ गतेसम्म नखोल्नु भन्ने निर्णय गरेपछि अधिकांशले त्यो पैसा फिर्ता लगिसकेका छन् । त्योबेला यति एयरलाइन्सले मात्रै झन्डै ४ सय वटा टिकट अग्रिम रुपमा बिक्री गरेको थियो । तर उडान नभएपछि सबैजसोले टिकटको पैसा फिर्ता लगिसकेका छन् ।

त्यसो त, पछिल्लो २ महिना एयरलाइन्स कम्पनीको लागि मुख्य सिजन पनि हो । दशैं तिहारमा हुने उडानका कारण अघिल्लो वर्षमा यो २ महिनामा अग्रिम बुकिङको ट्रेन्ड निकै राम्रो हुन्थ्यो । दशैं आउनुभन्दा २ महिना अघिदेखि नै अग्रिम बुकिङ हुने भएकोले साउनदेखि नै त्यसको चहलपहल सुरु हुन्थ्यो । तर, कोरोनाभाइरसकै कारण यो चहलपहल शुन्यतामा परिणत भएको छ ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने भनेपछि कतिपय एयरलाइन्सले टिकटको अग्रिम बुकिङ समेत खुला गरे । तर, पछि फेरि भदौ १५ गतेसम्म नखोल्नु भन्ने निर्णय गरेपछि अधिकांशले त्यो पैसा फिर्ता लगिसकेका छन् । त्योबेला यति एयरलाइन्सले मात्रै झन्डै ४ सय वटा टिकट अग्रिम रुपमा बिक्री गरेको थियो । तर उडान नभएपछि सबैजसोले टिकटको पैसा फिर्ता लगिसकेका छन् ।

यति एयरलाइन्सले मात्रै यति एयरलाइन्सका जनसम्पर्क अधिकृत सुदर्शन बर्तौला भन्छन्, हाम्रोे टिकट सामान्यतया विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका ठाउँकै लागि बढी हुन्छन् । उहाँहरुलाई त्यहाँ पुग्नैपर्ने अर्जेन्ट हुन्छ । उडान पर सरेपछि उहाँहरुले पैसा फिर्ता लगिसक्नुभएको छ । अब पैसा फिर्ता हुने केही टिकटमो मात्रै बाँकी छ ।’

छोटो उडान भएकोले नेपालमा यसैपनि महिनौंदेखि टिकट बुकिङ गर्ने चलन छैन । दशैंमा टिकट नपाउने भएकोले यस्तो चलन भए पनि यो वर्ष त्यस्तो नदेखिएको बर्तौला बताउँछन् । ‘अघिल्लो वर्ष दशैंका लागि २ महिना अघिदेखि नै बुकिङ सुरु हुन्थ्यो । यसपालि दशैं आउन डेढ महिना मात्रै बाँकी छ तर अझै अन्यौल नै छ ।’ 

किन आनाकानी गर्दैछ सरकार ?

सरकारले आन्तरिक उडान खुलाउन आनाकानी गर्नुमा राजनीतिक अन्यौलता प्रमुख कारण रहेको बुद्ध एयरका अध्यक्ष वस्नेत बताउँछन् । निर्णय गर्ने तहलाई निर्णय गर्न नदिने तर अधिकार राजनीतिक तहमा थोपरेर त्यतिकै राख्ने कारणले यस्तो अवस्था देखिएको हुनसक्ने उनको भनाई छ ।

दोस्रो कारण चाहिँ महामारीको व्यवस्थापनमा सरकार असफल हुनु रहेको उनको भनाई छ । ‘महामारीलाई घटाउने वा यसको प्रभाव अन्त्य गर्न सरकार असफल भइसकेको यो एउटा प्रमाण हो । आन्तरिक उडान र मानवीय क्रियाकलापलाई बन्द गरेर मृत्युदर घटाउन सकिन्ट कि भनेर योजनाबिना नै गरिएको निर्णय गरेकोले पनि यस्तो भएको हुनसक्छ’ अध्यक्ष बस्नेत भन्छन् ।  

वायुसेवा सञ्चालक संघ आफैंले पनि क्यान, मन्त्रालय र सीसीएमसीका अधिकारीसँग समेत प्रयास गरेको थियो । तर, अहिले सरकारका अधिकारीहरु कसैसँग भेट्न नै चाहँदैनन् । मन्त्रालयका अधिकारीहरु यतिबेला सबै निर्णयको साँचो आफूसँग नभएकोले आफूहरुलाई केही नसोध्न आग्रह गर्छन् । ‘यहाँ हामीले भनेर केही पनि हुँदैन । हामीले जे निर्देशन पाउँछौं, त्यही गरिदिने वा मातहतका संस्थालाई भनिदिने हो, अरु कुरा हामीलाई थाहा हुँदैन’ क्यानका एकजना अधिकारी गुनासो गर्दै भन्छन् ।

वास्तवमा उडानसम्बन्धी निर्णय गर्ने अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छ । त्यसभन्दा माथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको सुपर रेगुलेटरीको भूमिका निर्वाह गरिरहेको हुन्छ । तर, यी सबै निर्णय गर्ने अधिकार अहिले कोभिड–१९ रोकथाम तथा उपचार समिति (सीसीएमसी) ले लिएको छ । सो समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्ले सीधै यो निर्णय गर्छ । त्यसैले अलिे सरकारले कार्यान्वयन गर्ने तहसम्म समन्वय गर्न सकेको छैन ।

वायुसेवा सञ्चालक संघ आफैंले पनि क्यान, मन्त्रालय र सीसीएमसीका अधिकारीसँग समेत प्रयास गरेको थियो । तर, अहिले सरकारका अधिकारीहरु कसैसँग भेट्न नै चाहँदैनन् । मन्त्रालयका अधिकारीहरु यतिबेला सबै निर्णयको साँचो आफूसँग नभएकोले आफूहरुलाई केही नसोध्न आग्रह गर्छन् । ‘यहाँ हामीले भनेर केही पनि हुँदैन । हामीले जे निर्देशन पाउँछौं, त्यही गरिदिने वा मातहतका संस्थालाई भनिदिने हो, अरु कुरा हामीलाई थाहा हुँदैन’ क्यानका एकजना अधिकारी गुनासो गर्दै भन्छन् ।

पछिल्लो निर्देशन अनुसार पर्सिदेखि स्वतः हवाई सेवा खुला हुने अवस्था छ । किनकी प्राधिकरणले साउन २५ गते दिएको निर्देशन अनुसार भदौ १ थतेदेखि उडानको तयारी थाल्न भनिएको थियो । पछिल्लो निर्देशनले यसलाई २ साता सारेको मात्रै हो । यसको अर्थ क्यानले पर्सिदेखि वायुसेवा सञ्चालकहरुलाई उडान खोल्न भनेको छ । तर सरकारबाट आधिकारिक निर्णय नआउँदा अर्को निर्देशन दिन समेत क्यानले सकेको छैन । यसले गर्दा बीसौं हजार रोजगारी लाखौं यात्रुहरु रहेको यो क्षेत्र अन्यौलमा देखिएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार यो क्षेत्रमा करिब ४ हजार ५ सयले प्रत्यक्ष र करिब १० हजारले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । सन् २०१९ मा कुल ३५ लाख आन्तरिक हवाई यात्रा भएको थियो । करिब ५० अर्ब भन्दा बढी लगानी भएको यो क्षेत्र १२ अर्ब भन्दा बढीको बैंकिङ कर्जा उपभोग गरेको छ ।

अहिले १० अर्बको क्षेतिमध्ये जहाज कम्पनीको हिस्सा करिब ६३ प्रतिशत र हेलिकोप्टरको हिस्सा करिब ३७ प्रतिशत रहेको जनाइएको छ । जहाजको ६३ प्रतिशत हिस्सामध्ये शहरी क्षेत्रको उडानमा करिब ३६ प्रतिशत, ग्रामीण क्षेत्रको उडानमा करिब २७ प्रतिशत नोक्सानको अवस्था रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप