सकसपूर्ण लकडाउन र निषेधाज्ञा : संक्रमणसँगै जनताका कष्ट पनि झन् झन् बढ्दै
संसारभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक कदमहरु चालेका छन् । विश्वका धेरै देशहरुमा लकडाउन, निषेधाज्ञा लागू तथा सामाजिक दूरी पालना, नियमित हात धुनुपर्ने लगायत जनस्वास्थ्यका मापदण्ड लागू गरिएका छन् । कतिपय देशले कोरोना संक्रमण रोक्न अनिवार्य मास्क लगाएर हिँड्न कडा नियम लागू समेत गरेका छन् ।
झन्डै ६ महिनादेखि कोरोना भाइरसले उग्र रुप लिएपछि विश्वका धेरै देशले आफ्ना नागरिकलाई घरमै बस्न, स्वास्थ्यकाे मापदण्ड पालना गर्न लगाएपछि अहिले युरोपका देशहरुमा आन्दोलन शुरु भएको छ । जर्मनीको बर्लिन, बेलायतको लण्डन लगायतका सहरहरुमा धेरै मान्छे भेला हुन नपाइने, मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने मान्यताको उल्लंघन गर्दै सरकार विरुद्ध जनप्रर्दशन हुन थालेको छ ।
विश्व स्वास्थ्य संगठनले कारोना रोकथामका लागि लकडाउन जस्ता विधि अपनाउनका लागि सुझाव दिएपछि धेरै देशले त्यसको अनुसरण गरे । तर लकडाउन गर्दैमा कोरोना संक्रमण नरोकिने स्वास्थ्यविद्हरुले बताउन थालेका छन् । कामविहीन भएर घरभित्रै बस्नुपरेपछि आम जनताका जीवन कष्टकर बन्दै गइरहेकाे छ । सामाजिक आर्थिक गतिविधि ठप्प हुँदै जाँदा बाँच्नै गाह्रो पर्ने स्थिति पैदा हुँदै गएपछि नागरिकहरु सरकारले तोकेको नियमको उल्लंघन गर्न थालेका छन् । अझ कतिपयले कोरोना संक्रमणको समस्यालाई सरकार र मिडियाले आवश्यकताभन्दा बढी बढाइचढाइ गरेर चर्चा परिचर्चा गरेर डरलाग्दो र भयभित बनाउने काम गरेको आरोप समेत लगाइरहेका छन् ।
लकडाउन, निषेधाज्ञा जस्ता विधिहरु अपनाउदा समेत संक्रमण रोकथाम हुन नसकेपछि पछिल्लो समय लकडाउन नै समाधान हैन भन्दै संक्रमण रोकथामका लागि सरकारलाई वैकल्पिक विधिहरु चाल्न जनस्वास्थ्यविदहरुले सुझाएका छन् । यहाँ हामीले केही जनस्वास्थ्यविदहरुको सुझावलाई यहाँ प्रस्तुत गरेका छौँ :
पिसिआर टेष्ट हजार रुपैयाँमा झार्नुपर्छ
डा. वावुराम मरासिनी
–लकडाउन मात्र गरेर पनि समस्या समाधान हुँदैन । स्वास्थ्य संकटले आर्थिक संकटपनि निम्त्याँउछ । आर्थिक संकटले सामाजिक संकट निम्त्याँउछ । सरुवा रोगका कारण अफ्रिकाका धेरै देश खत्तम भएका उदाहरणहरु पनि छन् । सन् २०१४ मा लाइबेरिया, सेरियालियोनहरुलाई झन्डै झन्डै जिरोमा पुर्यायो ।
–आर्थिक क्रियाकलापलाई रोक्ने काम पनि गर्नुहुँदैन । दुईटैलाई सन्तुलनमा राखेर लैजानुपर्छ । मान्छेले काम गर्न पाएनन् भने त्यसले आर्थिक र सामाजिक संकट निम्त्याउने खतरा हुन्छ ।
–पिसिआर परीक्षण अब स्वास्थ्य केन्द्रमा मात्र नभई नाका नाकामा खोल्नुपर्छ । पिसिआर परीक्षण सेन्टर अझै धेरै खोल्नुपर्छ ।
–कोही मान्छे काठमाडौं आउन चाहन्छ भने आउन दिने तर २४ घण्टाभित्रको पिसिआर रिर्पोट चाहिने अनिवार्य गराउनुपर्छ ।
–अहिले लिने गरिएको पिसिआर शूल्कलाई घटाएर १ हजारमा झार्नुपर्छ ।
–पिसिआर नेगेटिभ भएकालाई हिँड्न र काम गर्न दिनुपर्छ ।
–काठमाडौं भित्र आउने वा बाहिर जाने सामान्य अवस्थाका मान्छेलाई रोक्न आवश्यक छैन ।
–देशका नाका नाकाहरुमा एक हजार रुपैयाँमा परीक्षण गर्न सक्नेगरी पिसिआर मेसिन राखिदिनुपर्छ ।
–पिसिआर टेष्टको दायरा बढाएपछि प्लेन चलाए पनि हुन्छ, नेगोटिभ रिर्पोट आउनेलाई छोडिदिने र पोजिटिभ आउनेलाई आइसोलेशनमा राखे पुग्छ ।
–भेन्टिलेटर, आइसियू खरिदभन्दा पनि सर्वसाधारणलाई जनचेतना जगाउने काममा बढी केन्द्रीत हुनुपर्छ । ‘प्रिभेन्सन इज बेटर देन केयर’ भनिन्छ दुई चार लाखमा सबैका लागि जनचेतना जगाउन सकिन्छ । एउटा मान्छेलाई आइसियू भेन्टिलेटरमा राख्नुपर्यो भने दुई चार लाख खर्च भइहाल्छ । दुई चार लाख रुपैयाको जनचेतना लाखौका लागि काम लाग्छ ।
स्वअनुशासित र जिम्मेवार हुनुको विकल्प छैन
डा. रवीन्द्र पाण्डे
अमेरकाको सिडिसीले कोरोना संक्रमण परीक्षणमा आफ्नो धारणा परिवर्तन गरेको छ । नयाँ गाइडलाइनमा निम्न समुहलाई परीक्षण गर्नु नपर्ने भनेको छ ।
–लक्षण नभएका व्यक्तिलाई
–जोखिम वर्गमा नरहेका व्यक्तिलाई
–चिकित्सक वा जनस्वास्थ्यकर्मीले सिफारिस नगरेको व्यक्तिलाई
–संक्रमितसंग ६ फिटको दुरीमा रहेर १५ मिनेटसम्म कुराकानी गरेपनि लक्षण नदेखिएको व्यक्तिलाई
–नेपालले पनि यो गाइडलाइन अनुसार परीक्षण गर्ने बताएको छ । संक्रमित व्यक्तिलाई २ हप्ता आइसोलेसनमा राखेर परीक्षण नगरी पठाउने नीति जनस्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण छ ।
–जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्ने, आम नागरिक सचेत भएर सुरक्षाका उपाय अबलम्बन गर्ने, लक्षण देखिएमा १५ दिन आइसोलेसनमा बस्ने तथा निषेधाज्ञा एबम लकडाउन नगरेर आर्थिक गतिबिधि सुचारु नगर्ने हो भने देश आर्थिक रुपमा टाट पल्टिने अवस्था आउन सक्छ ।
–सरकार, मिडिया र आम नागरिक एकजुट भएर स्वअनुशासित र जिम्मेवार हुनुको विकल्प छैन । यो महामारी कहिले नियन्त्रण हुन्छ भन्ने निश्चित नभएकोले रोकथामका उपायलाई हामी सबैले कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।
आफ्नो तर्फबाट गर्न सक्ने सबै काम गरौँ
डा.शेरबहादुर पुन
–लकडाउन समस्याको स्थायी समाधान हैन । यो एउटा माध्यम मात्र हो । अत्यधिक गाह्रो परेको बेला दुई तीन हप्ता केही नियन्त्रण त होला तर मान्छेले व्यवहार परिवर्तन नगर्ने हो भने जस्ताको तस्तै पहिलेकै अवस्थामा आइपुग्छ ।
–अझै पनि हामीसँग समय छ । हामीले आफ्नो तर्फबाट गर्न सक्ने सबै काम गरौँ । अरू देशमा हेर्ने हो भने दैनिक १ सयभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा अहिले यो अवस्था छैन ।
–हामी अहिलेदेखि नै होशियार भएर अपनाउनुपर्ने सावधानीहरु र तयारीमा लागिपर्नुपर्छ ।
–कोरोनाभाइरस जतिसुकै कडा रूपमा आए पनि तपाईं हामी नै सजग भयौँ भने यसलाई अझै पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड हामीले इमानदारिताका साथ पालना गर्नुपर्छ ।
–मुख्य कुरा भनेको हामी सचेत हुनुपर्ने अवस्था छ । आजको परीक्षणमा नेगेटिभ आएका व्यक्तिलाई भोलि पनि सङ्क्रमण हुन सक्छ ।
–लकडाउनको विकल्प भनेकै अहिलेसम्म जारी जनस्वास्थ्यका जुन मापदण्डहरू छन्, ती सबैको पालना गर्नु हो ।
–जस्तै म कुनै हुलमुलमा अनावश्यक रूपमा जादिनँ घरै बस्छु, अफिस गएँ भने पनि दूरी कायम गरेर मास्क लगाएर कुराकानी गर्छु, केही समयको अन्तरालमा साबुनपानीले हात धुन्छु, बेलाबेलामा स्यानिटाइजरको प्रयोग गरेर हात संक्रमणरहित बनाउने गरिरहन्छु, त्यतिञ्जेलसम्म हातलाई नाक मुखमा लग्दिनँ, सरसफाइमा ध्यान दिन्छु, परिवारका सदस्यको पनि जुठो खाँदिनँ, बिरामी भइरहेको कसैलाई छुट्टै राख्ने जस्ता काम गरेँ भने यो सङ्क्रमणबाट जोगिन सकिन्छ । सङ्क्रमण जित्ने तरिका भनेकै यही हो ।
–जनस्वास्थ्यका मापदण्डलाई हामीले कडाइका साथ पालना गरेर गर्यौँ भने सङ्क्रमण करिब करिब पूरै कम भएर जान्छ ।
अब स्मार्ट लकडाउन गर्नुपर्छ
डा.समीरमणि दीक्षित
–सधैंभरी लकडाउन गरेर साध्य चल्दैन ।
–हामीले छिमेकी राष्ट्र चेन्नई र दिल्लीलाई नै हेरौँ, जहाँ अहिलेपनि संक्रमण हजारौंमा र मृत्यु सयौंमा छ । त्यहाँ लकडाउन खुकुलो मात्र हैन उनीहरुले स्कुल र सिनेमा हल बाहेक धेरै कुरा खोल्न थालिसके ।
–अब लकडाउनको विकल्प भनेको विस्तारै खुकुलो पार्ने, मास्क लगाउने, दुरी कायम गर्ने र अगाडि बढ्ने । अब अरु विकल्प छैन, लकडाउन गरेर साध्य नै छैन ।
–हामीले दक्षिण एसियाकै देश भारत पाकिस्तानबाट सिकौँ, सामान्य जनजीविकामा फर्कौ तर मास्क लगाएर दुरी कायम गरेर ।
–लकडाउनको अन्त्य भ्याक्सिन नआइकन नहुन सक्छ । अनियन्त्रित भएको क्षेत्रमा केही समय लकडाउन गर्न सकिन्छ ।
–अब स्मार्ट लकडाउनमा जानुपर्छ । जहाँ धेरै छ त्यहाँ मात्र ध्यान केन्द्रीत गर्ने, अरु ठाउँलाई नगर्ने । जस्तो महाराजगञ्ज, चावेल क्षेत्रमा धेरै देखियो भने त्यो क्षेत्रलाई सिल गर्ने पाटन, भक्तपुर बन्द नगर्ने । अहिले चेन्नई दिल्लीमा पनि यस्तै गरिरहेका छन् ।
–राज्यले संक्रमण बढी भएको टोल टोलमा परिक्षण बढाउनुपर्छ । मास्क लगाउन र सरकारले कडाइका प्रशासन लगाएर भएपनि दुरी कायम गराउन लगाउनुपर्छ ।
लकडाउन, आइशोलेशन केही आवश्यक छैन
डा. पूर्ण शाही
–यो सामान्य रुघाखोकी हो । सामान्य संक्रमणलाई भयावह देखाएर आतंकित पार्ने काम भएको छ ।
–कोरोना मृत्युदर ० दशमलव १ प्रतिशत मात्रै छ त्यसकारण यसलाई महामारी भन्न मिल्दैन ।
–कोरोनाको आतंक सन्त्रासका कारण हजारौंले आत्महत्या गर्न बाध्य भएका छन् ।
–लकडाउन गरेर मान्छेलाई घरमा थुन्ने र मार्ने काम भएको छ । अब जनजीवनलाई सामान्य बनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...