बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले मानसरोवर क्षेत्रमा तैनाथ गरेको मिसाइल सजिलै दिल्ली पुग्नसक्छ !

मङ्गलबार, १६ भदौ २०७७, ०० : १८
मङ्गलबार, १६ भदौ २०७७

एजेन्सी । चीनले तिब्बतस्थित कैलाश मानसरोव क्षेत्रमा शक्तिशाली मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भर्खरै खिचिएका सेटेलाइट तस्बिरहरुमा कैलास मानसरोवर ताल नजिकै एक मिसाइल साइट निर्माण गरिएको र त्यहाँ शक्तिशाली मिसाइलहरु तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरुको आरोप छ । दि इपोक टाइम्सलाई उदृत गर्दै हिन्दी जागरण डटकमले लेखेको छ- ‘चीनले विकास गर्दै लगेको मिसाइल र तैनाथी छिमेकीहरुसँग सम्बन्ध भड्काउने रणनीतिको अर्को चरण हो ।’ चीनको यो कदमले भारतसँगको सीमा सम्बन्ध अझ तनावपूर्ण बनाउन सक्ने जनाइएको छ ।

‘ओपन सोर्स इन्टिेलिजेन्सले खिचेको तस्बिरका अनुसार चीनले कैलाश मानसरोवर क्षेत्रमा आफ्नो सैनिक परिचालन गरेको मात्र छैन, उसले मानसरोवर नजिकै एक मिसाइल साइट पनि निर्माण गर्दैछ । यो कदमले चीनले सीमानामा शान्ति नचाहेको देखिँदै गएको छ’ जागरणले लेखेको छ । त्यस्तै भारतको रायपुरस्थित पण्डित रविशंकर शुक्ला विश्वविद्यालयका रक्षा प्रध्यापक गिरीशकान्त पाण्डेले दि इपोक टाइम्ससँगक टेलिफोन वार्तामा कैलास मानसरोवरको मिसाइल बेस चीनको तिब्बत स्वायत्त क्षेत्रको व्यापक सैन्यकरणको नीति अन्तर्गत नै निर्माण भैरहेको दाबी गर्नुभएको सो पत्रिकाले जनाएको छ ।

कैलास मानसरोवर छेउमा अहिले डिएफ २१ मिसाइल राखिएको जनाइएको छ । यो मध्यम खालको ब्यालिष्टक मिसाइल हो, जसले २२ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । यसले भारतीय राजधानी नयाँदिल्लीसहित उत्तर भारतका सबै प्रमुख शहरहरुसम्म पुग्न सक्ने क्षमता राख्दछ । 

कैलास मानसरोवर ताललाई भगवान शिवको घर भनेर चिनिन्छ । भारतीयहरु यो क्षेत्रलाई ठूलो धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रको रुपमा मान्ने गर्छन् । तिब्बती बौद्ध धर्माबलम्बीहरुले यो पर्वतलाई राजा रिम्पोचे भन्ने गर्छन् । त्यस्तै जैन धर्माबलम्बीहरुले यसलाई अष्टपद माउन्टेनका रुपमा हेर्ने गर्छन् । जहाँ उनीहरुका २४ धर्मगुरुहरुले पहिलोपटक धार्मिक ज्ञान प्राप्त गरेका थिए । यस्तो धार्मिक स्थलमा मिसाइल तैनाथ गरेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले चीनको चर्को आलोचना गरिरहेका छन् । यो मिसाइलको साइट चीनबाट बग्ने चार ठुला नदीहरु सिन्धु, ब्रम्हपुत्र, सतलज र कर्णालीको उद्गमस्थल हो ।

पाण्डेका अनुसार चीनले भारतीय सीमामा सन् २००६ देखि २०१० का बीच १८० वटा रणनीति परियोजना सुरु गरिसकेको थियो । जसमध्ये ४ वटा ठुला एयर स्ट्राइप्स, १४ वटा साना एयर स्ट्राइप र १७ वटा रडार स्टेशनहरु पनि पर्छन् । उनले चीन यी मिसाइलहरुमार्फत भारत र हिन्द महासागरलाई लक्षित गर्न गरिरहेको दाबी गरे । उक्त मिसाइल साइट भारतको उत्तराखण्डको पिथौरागढबाट १०० किलोमिटरको दूरीमा पर्दछ । चीनले यदि दुई देशबीचको सीमामा मिसाइल हमला गरिहाल्यो भने उसले केही सेकेन्डमै भारतमा मिसाइल हान्न सक्छ । चीन र भारतबीच अहिले पूर्वी लद्धाखमा तनाव जारी छ । केही महिनाअघि लद्धाखमा २ देशका सेनाबीच भएको भीडन्तमा थुप्रै भारतीय सेना मारिएका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप