शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय पुस्तक नीति चाँडै कार्यान्वयनमा ल्याइने

सोमबार, १५ भदौ २०७७, २१ : ४१
सोमबार, १५ भदौ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना र पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गरिने बताएका छन् ।

सामुदायिक र सार्वजनिक पुस्तकालयलाई हरेक स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्दै लैजाने नीति सरकारको छ । सरोकार भएका पक्षले उक्त नीति र गुरुयोजनाको कार्यान्वयनमा जोड दिँदै आएका छन् ।

तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माणसम्बन्धी काम पनि छिट्टै हुने आशा पनि व्यक्त गरे ।

उनले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीन तहका सरकारको भूमिका रहने भए पनि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

पूर्वविज्ञानमन्त्री गणेश साहले पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गर्न प्रदेशस्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलाई आग्रह गरे । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नुपर्ने माग गरे ।

सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय सङ्घका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ र झापा जिल्लाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो  भने नुवाकोटको बेलकोटगढी नगरपालिका¬–१० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेललाई प्रशंसापत्रबाट सम्मानित गरियो । सो अवसरमा तेह्रौँ पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।

शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले नेपालमा पठन संस्कृतिको विकास र विस्तारमा आएको सकारात्मक परिवर्तनले पुस्तकालयको आवश्यकता र महत्व अझ बढाएको उल्लेख गरे ।

यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ रहेको थियो  ।

नेपालमा २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आइएको छ । विसं १८६९, भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो ।

तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी पुस्तक चिताइ तहबिलको जिम्मेवारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप