शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डले प्रवाह गरेको सन्देशको अर्थ

सोमबार, १५ भदौ २०७७, १६ : ३३
सोमबार, १५ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एउटा सन्देश प्रवाह गरेका छन् । न कुनै सन्दर्भ, न कुनै उत्सव, न कुनै बैठक तर उनको भनाई उनको फेसबुक, ट्वीटर र इन्स्ट्रग्रामबाट प्रवाहित भएको छ । “पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।”

नेकपाभित्र पार्टीको विधि र पद्धतिको कुरा चलिरहेका बेला अध्यक्ष प्रचण्डको यस्तो भनाइ आएको हो । पार्टीको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनलाई अध्यक्षद्धयले अनुमोदन गरिसकेका छन् । त्यसबारे थप छलफलका लागि सचिवालयको बैठक भदौं १८ गतेको लागि बोलाएको छ । सचिवालयमा छलफल भइसकेपछि सो प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा लगिनेछ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले समाजिक सञ्जालबाट सार्वजनिक गरेको यो भनाई तुलसीलाल अमात्यको स्मृति दिवसको अवसरमा व्यक्त गरिएको विचारको एक अंश हो । तुलसीलाल अमात्यको स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचार विवादमा आएको थियो । त्यही कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको पद्धति र विचारको कुरा गर्दै अध्यक्ष एव्म प्रधानमन्त्री ओलीेले नै पार्टी विभाजन गर्न खोजेको, नेकपा एमाले उनकै इसारामा दर्ता हुन लागेको जस्ता अभिव्यक्ति दिएका थिए । त्यसले गर्दा अध्यक्षद्धय ओली र प्रचण्डबीच दूरी बढेको थियो ।

ओली पक्षले अध्यक्ष प्रचण्डलगायतले पद तथा कुर्सीका लागि पार्टीमा विवाद गरिरहेको आरोप लगाई रहेका थिए तर प्रचण्डहरुले पार्टीभित्र पद र कुर्सीका लागि नभएर पार्टीको विधि र पद्धतिका लागि कुरा उठाइरहेको स्पष्ट अडान लिँदै आएका थिए । र, अहिले आएर फेरि एकपटक अध्यक्ष प्रचण्डले आफ्नो फेसबुक, ट्वीट्टरमार्फत त्यही कुरामा जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप