सावधान ! हतारमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएसँगै प्रयोगशालाहरूमा परीक्षण गराउनेको भीड लाग्न थालेको छ । आशंका लाग्नासाथ कोरोना परीक्षण गराइहाल्नु पर्छ कि पर्दैन भन्नबारे सर्वसाधारणमा अन्योल नै छ । निरोगिताको प्रमाणपत्र आवश्यक पर्नेहरु भने पीसीआर परीक्षण गर्नैपर्ने अवस्थामा छन् । परीक्षण गराउनेको चाप बढेसँगै पछिल्लो समय भनसुन गरेर हतार–हतार परीक्षण गराएको पनि पाइन्छ । यसरी परीक्षण गर्नु कति उचित हो ? संक्रमितको सम्पर्कमा आएकाले तुरुन्तै स्वाब परीक्षण गर्न हुन्छ कि हुँदैन ? एक पटक कोरोना संक्रमण भएर निको भएपछि पुनः संक्रमण हुन्छ कि हुँदैन ? पीसीआर परीक्षणले शत प्रतिशत सही नतिजा दिन्छ कि दिँदैन ? आदि बारेमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी –
संक्रमितको सम्पर्कमा आएको आशंका गर्नेबित्तिकै स्वाब परीक्षण गराइहाल्नु पर्छ ? स्वाब परीक्षण कुन अवस्थामा गराउनुपर्ने हो ?
कोरोना संक्रमितको सम्पर्कमा आउनेबिबिकै पीसीआर परीक्षण गर्नु हुँदैन, सम्पर्कमा आउनेबित्तिकै परीक्षण गर्दा नतिजा सही नआउन सक्छ । संक्रमितको सम्पर्कमा आएको ५÷७ दिनपछि मात्रै पीसीआर परीक्षण गरेमा सही नतिजा आउँछ । संक्रमण भएको आशंका गरेको दिनदेखि ५÷७ दिनपछि स्वाबको परीक्षण गर्दा राम्रो हुन्छ ।
जसको शरीरमा भाइरसको लोड कम हुन्छ, त्यस्ताको शरीरमा जाँच गर्ने क्रममा भाइरस छुट्ने सम्भावना हुन्छ । यदि भाइरस छुट्यो भने गलत नतिजा आउने सम्भावना धेरै हुन्छ । आशंका लागेर हतारमा स्वाब परीक्षण गर्दा ‘नेगेटिभ’ आउने भएकाले ५÷७ दिनपछि मात्र कोरोना परीक्षण गर्नु उचित हुन्छ ।
सामान्यतया आशंका लागेर तुरुन्तै स्वाब परीक्षण गर्दा शरीरमा भाइरसको लोड, विकास कम हुन्छ । र, सही नतिजा आउँदैन । तर कहिलेकाहीँ संक्रमितको सम्पर्कमा आएको आशंका लागेर तुरुन्तै कोरोना परीक्षण गर्दा पनि कोरोना पोेजेटिभ देखाउँछ ।
पीसीआर परीक्षण गर्दा कस्तो—कस्तो अवस्थामा फल्स रिजल्ट आउन सक्छ ?
नेगेटिभ आउने भन्ने कुरा पत्ता लगाउने किटको क्षमतामा भर पर्छ । अहिले विभिन्न अनुसन्धानहरुले के भन्छ भने झण्डै–झण्डै ६७/७० प्रतिशतको हाराहरीमा आरटी पीसीआरले रिजल्ट देखाउने क्षमता हुन्छ । करिब तीस प्रतिशत टेष्ट फल्स देखाउने सम्भावना हुन्छ ।
डा. शेरबहादुर पुन
यसको अर्थ के हो भने परीक्षण गरिएका झण्डै एक सयजनामध्ये तीसजनाको रिजल्ट फल्स देखाउन सक्छ । यसमा व्यक्तिको शरीरमा भाइरसको लोड कति छ, स्याम्पल लिँदा कसरी लिइयो, नमुना स्याम्पललाई परीक्षण गर्ने स्थानसम्म कसरी पु-याइयो, स्याम्पल लिएदेखि नतिजा आउने बेलासम्म कहिलेकाहीँ मानवीय गल्ती पनि हुन सक्ने जस्ता पक्षहरुले पनि भूमिका खेल्छ ।
त्यसैगरी, पीसीआर गर्दा कहिलेकाहीँ प्राविधिक गल्ती पनि हुन सक्छ । यी सबै कुराले अन्तिम रिजल्ट आउँदा ठुलो प्रभाव पर्छ । यी सबै कुरा मिल्यो भने रिजल्ट सही आयो । स्याम्पल परीक्षण गर्दा १०० प्रतिशत पूर्णरूपमा प्रक्रिया पु-याएर काम गरेको खण्डमा पनि ६७ देखि ७० प्रतिशतमात्रै सही रिजल्ट आउँछ । त्यसैले ७० प्रतिशत सही तथ्य पत्ता लगाउने यसको क्षमता भएको अनुसन्धानहरूले देखाएको छ । नियमहरू पालना नगरेको खण्डमा त्योभन्दा पनि कम प्रतिशतको रुपमा रिजल्ट आउन सक्छ ।
कोरोनाको लक्षण देखापरेर पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने तर लक्षण देखिन छाडेपछि पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आएको घटनाहरू पनि पाइन्छ, के पीसीआरको गड्बडीले यस्तो भएको हो ?
कोरोनाको लक्षण देखापरेर पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने तर लक्षण देखिन छाडेपछि पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आउने नहोला भन्न त सकिदैंन । शरीरमा भाइरसको लोड कम हुँदा स्वाब संकलन गरिएको छ भने वा राम्रोसँग स्वाब संकलन गरिएन भने वा जाँच गर्ने क्रममा सामान्य गल्ती हुँदा पनि अपवादमा त्यस्तो हुन सक्छ ।
कोरोना निको भइसकेपछि शरीरमा कति समय भाइरस बस्छ ?
कोरोना निको भइसकेपछि शरीरमा कति समयसम्म भाइरस रहन सक्छ भन्नेबारे अनुसन्धानहरूले ठ्याक्कै निक्र्यौल गर्न सकेको छैन । शरीरमा कोरोना संक्रमण भएर पनि निको भइसकेपछि भाइरस सक्रिय रहँदैन भन्ने कुरा अनुसन्धानले देखाइसकेको छ । तर कहीलेकाहीँ शरीरमा भएको भाइरसको पार्टीकललाई पीसीआरले समात्ने खालको नभएमा अपवादको रुपमा देखाउन सक्छ । तर त्यो भाइरस शरीरमा सक्रिय खालको हुँदैन ।
कोरोना संक्रमित व्यक्ति निको भएपछि पुनः केही समयपछि त्यही व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ, कोरोनालाई एकपटक जितिसकेपछि पनि ढुक्क हुन नसकिने रहेछ, हैन त ?
पुनः कोरोना संक्रमित भएको कुरा वर्तमान समयमा संसारभर नै चासोको विषय बनेको छ । एक पटक संक्रमण भएर निको भएपछि कसैलाई फेरि कोरोना संक्रमण किन हुन्छ भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ । किनभने सबैमा त्यस्तो देखिएको छैन । कोरोना संक्रमण भएर निको भएका व्यक्तिलाई पुनः संक्रमण भएको निकै थोरै घटना छन् । त्यसैले यस विषयले अनुसन्धानको लागि ढोका खोलेको छ ।
अनुमान चाहिँ यसभन्दा अघि नै गरिएको थियो । किनभने हाम्रो शरीरमा यो भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता (एन्टीवडी) दुई—तीन महिनाभन्दा बढी हुँदैन भनेर प्राइमरी अनुसन्धानले भनेको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले त्यसलाई आधार मानेर ढुक्क नहुन भनेको थियो । यस विषयमा अध्ययन तथा अनुसन्धान हुँदैछ । त्यसैले हाम्रो लागि पुनः संक्रमण हुन सक्छ है भन्ने संकेत हुन सक्छ ।
पुनः कोरोना संक्रमण कतिलाई हुन्छ, किन हुन्छ भन्ने बारेमा वैज्ञानिकहरू वर्तमान समयमा अनभिज्ञ छन् । अहिलेसम्ममा पुनः कोरोना संक्रमण हुने केश बढेको देखिदैंन । यस विषयलाई भावी दिनहरूमा अनुसन्धानले प्रष्ट पार्ने आशा गरौं ।
नेपालमा लक्षणसहित र लक्षणविहीन गरी दुई थरीका संक्रमित पाइएका छन्, कुन संक्रमितबाट बढी जोखिम हुन्छ ?
कोरोना संक्रमण पक्कै पनि लक्षणविहीनभन्दा लक्षणसहितका संक्रमितबाट जोखिम हुन्छ । लक्षणविहीनले तुलनात्मकरुपमा धेरै कमलाई कोरोना सार्न सक्ने वैज्ञानिक अनुसन्धानबाट खुलेको छ । तर लक्षणविहीन संक्रमित भन्दैमा सावधानी नपनाएको खण्डमा झन् अरुलाई कोरोना फैलिन सक्छ । लक्षणसहित संक्रमितलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या हुन्छ । तर लक्षणविहीनमा यस्ता खालमा समस्या नदेखिए पनि कोरोना अरुलाई सर्दैन भन्ने हुँदैन । त्यसैले लक्षणसहित र लक्षणविहीन दुवै थरीले पूर्णरुपमा सावधानी अपनाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत