शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको धक्का : पोखरा विमानस्थल निर्माण समयमै नसकिने

सोमबार, १५ भदौ २०७७, ११ : २७
सोमबार, १५ भदौ २०७७

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लक्ष्यअघि नै नसकिने भएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सकेर उडान भर्ने लक्ष्य लिएको विमानस्थलको काम कोरोना महामारीको कारण समयमै नसकिने भएको हो ।

सन् २०२१ भित्रमा निर्माण सक्ने म्याद तोकिए पनि निर्माण कम्पनीले लक्ष्यभन्दा ६ महिनाअघि नै ०२१ जुलाईमा उडान भर्ने लक्ष्यका साथ काम थालेको थियो । तर कोरोना कहरका कारण निर्माणको काम लक्ष्य अगावै नसकिने भएको छ । कोरोना कहरका कारण विमानस्थलका निर्माण कार्य लक्ष्यअघि नै नसकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । लक्ष्यभन्दा अगावै आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोरोना कहरका कारण कामदारको अभावले काम समयमै नसकिने उनले बताए ।

‘कोरोना महामारी सुरु भयो, लगत्तै लकडाउन भयो । नेपालमा अहिले पनि सङ्क्रमण बढिरहेको छ । त्यसो भएकाले ६ महिनाअघि नै हामी सम्पन्न गर्न सक्दैनौँ,’ उनले भने, ‘यो त हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौँ । अब हाम्रो टार्गेट भनेको समयमै सकाउने हो । समयमै सम्पन्न गर्नका लागि चाहिने कामको गति छैन ।’

स्ट्रक्चर निर्माणका धेरैजसो काम सकिए पनि इक्युपमेन्ट स्ट्रक्चरको काम बाँकी रहेको उनले सुनाए । फिनिसिङको काम अहिले भएकै कामदारले चलाई रहेको र इक्युपमेन्ट स्ट्रक्चरको लागि चीनबाटै कामदार मगाउनुपर्ने उनले बताए । 

इक्युपमेन्ट स्ट्रक्चरको काम ६ महिनाभित्र सकिन्छ । ‘६ महिना पनि लाग्दैन । त्यसमा टेस्टिङ लगायतका काम हुँदा १, २ महिनाको समय लाग्ने हो । त्यो त काम सकिइसकेपछि गर्दा पनि हुन्छ,’ उनले भने, ‘उडान सुरु गर्न काम सकेपछि पनि अलिकति समय लाग्छ । व्यवस्थापन, सुरक्षा, टिकेटिङ, एअरलाइन्स लगायतका कुरा टुङ्ग्याउँदा करिब ४ देखि ६ महिना लाग्छ । व्यवस्थापनका लागि उहाँहरुसँग पटक पटक छलफल गर्नुपर्छ । बाहिर एजेन्सीबाट हुने काम पनि उहाँहरुबाट पनि हुनुपर्छ  । सरकारी निकायबाट इमिग्रेसन, कस्टम सबै सेटअप तयार गर्नु प¥यो । ती सम्पूर्ण काम सक्न ४ देखि ६ महिना लाग्छ ।’

निर्माणका आवश्यक सामग्री ल्याइसकेको हुनाले जनशक्ति आउने बित्तिकै काममा तीव्रता आउने उनले बताए । सीमा नाका खुला भएको हुनाले निर्माण सामग्रीको खासै समस्या नभएको उनल सुनाए । निर्माण सामग्री ल्याउन कुनै समस्या नभए पनि कामदारको अभाव अहिले निर्माण कार्यमा खट्किइ रहेको छ ।

चीनबाट आउनुपर्ने २ सय कामदार अहिले उतै रोकिएर बसेका छन् । २४४ चिनियाँ र  ११८ नेपाली कामदारले अहिले विमानस्थलमा काम गरिरहेका छन् । काम सकिएका केही कामदार स्वदेश फर्किसकेका छन् । करिब सयको हाराहारीमा कामदार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै जाने छन् ।

स्ट्रक्चरका धेरैजसो काम सकिएको खण्डमा विशेष दक्ष जनशक्तिको आवश्यकता रहेको आयोजना प्रमुख मुनाकर्मील बताए । त्यस्तो खालको जनशक्ति चीनबाटै आउने भएकाले समस्या रहेको उनले बताए । भिसा पाएर कामदार नेपाल आएको खण्डमा काममा कुनै समस्या नरहने उनको जिकिर छ ।

लकडाउन सुरु हुनु ३, ४ महिनाअघि नै आवश्यक सामान ल्याइएको हुनाले पनि लकडाउनको बीचमा पनि निर्माणको काम नरोकिएको उनले सुनाए । सीमा नाका खुकुलो भएको हुनाले निर्माण सामग्री ल्याउन सजिलो भएको उनले बताए । ‘सामान ल्याउन त सजिलै छ । तर कामदार ल्याउन सकि रहेका छैनौँ । त्यही नै समस्या हो । कामदारको नै मुख्य समस्या हो,’ उनले भने ।

कामदार ल्याउन आवश्यक पहल भइरहेको उनले सुनाए । कामदार समयमै ल्याउन सके लक्ष्य अगावै काम सकिने उनले बताए ।  

कोरोना सन्त्रास फैलिए पनि आफूहरुले काम भने नरोकेको उनले सुनाए । बीचमा केही समस्या समस्या भए पनि केही कामदार मार्च महिनामा आएपछि काम नरोकिएको उनले सुनाए ।

अहिले विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, लाइटिङका कामहरु सकिइसकेको छ । केबुलका काम पनि सकिइसकेको छ । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको आयोजना प्रमुख मुनाकर्मीले बताए । मेकानिकल, इलेक्ट्रिकलका काम पनि भइरहेको छ । विमानस्थलको निर्माण कार्य ६३ प्रतिशत सकिएको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिएको छ । विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर यो विमानस्थल बनाउन सुरु गरिएको हो ।

विमानस्थलका लागि ०३२ सालमा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहणको सूचना जारी गरी २०३४ सालबाट मुआब्जा वितरण गर्न थालिएको थियो । तत्कालीन समयमा १ सय ५० घर परिवार विस्थापित भएका थिए । ०७५ मा अन्तिम पटक भनी आउटर पेरिफेरल रोडको नाममा तारबारको वरिपरि १० मिटर चक्लाइको जग्गा अधिग्रहण गरिएको थियो ।

विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिणपूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटानको काम पनि भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप