केन्द्रीय संस्करण
कारोनाभाइरस

नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम ?

person explore access_timeभदौ १५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् ।

३८ हजार संक्रमितमध्ये को व्यक्ति कसरी संक्रमित भए ? स्वास्थ्य मन्त्रालयसँग यसको यकिन तथ्यांक छैन । मन्त्रालय अझै कोरोनाभाइरस समुदायस्तरमा नफैलिसकेको बताउँछ । तर, पछिल्लो समय ‘ट्राभल हिस्ट्री’ नै नभएका संक्रमितहरुको संख्या भने देखिएको स्वीकारोक्ति स्वास्थ्य मन्त्रालयको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारी सबै संक्रमितको ट्राभल व्यवस्थित गर्न नसकिएकोले बताउँछन् । तर, कोरोनाभाइरसको संक्रमण समुदायस्तरमै पुगेको अवस्था नरहेको उनको दाबी छ ।

त्यसो त समुदायस्तरको संक्रमण कस्तो अवस्थालाई समुदायस्तरको संक्रमण भन्ने अन्यौल कायमै छ । कुनै टोलभित्र बस्ने मान्छे वा उसको परिवारका सदस्यमध्ये कोही त्यो टोलबाहिर गएको छैन, तर उसलाई संक्रमण भएको छ भने त्यसलाई समुदायस्तरमा फैलिएको रुपमा मान्नेहरु एकातर्फ छन् । अर्कोतर्फ, समुदायका अधिकांश व्यक्तिलाई कोरोना संक्रमण भएको संक्रमणरहित मान्छे नै सुरक्षाको लागि बाहिर जानुपर्ने अवस्थालाई मात्रै समुदायस्तरको संक्रमण मान्नुपर्ने अर्को विचार पनि छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको अवस्थालाई ३ चरणमा मात्रै विभाजन गरेको छ । पहिलो चरण विदेशबाट फर्केकाहरु मात्रै संक्रमित भएको अवस्था हो । धेरैजसो देशले यो चरण क्रस गरिसकेका छन्, त्यसैले यसको यतिबेला औचित्य नै छैन । दोस्रो चरण, विदेशबाट आएका व्यक्तिको परिवारमा संक्रमण भएको वा उसले भ्रमण गरेको ठाउँका व्यक्तिलाई संक्रमण हुने अवस्था हो । त्यसभन्दा माथि हुने सबै प्रकारको संक्रमणलाई तेस्रो चरण मानिन्छ । तर, तेस्रो चरण निकै भयावह अवस्था देखाउने भएकोले सरकारले अहिले पनि अहिलेको अवस्थालाई तेस्रो चरणको मान्न चाहँदैन ।

यहाँ चर्चा गर्न खोजिएको विषय कम्युनिटी ट्रान्समिसनको होइन, नोटबाट हुनसक्ने भाइरसको संक्रमणको हो । कोरोना महामारी फैलिएसँगै डब्लुएचओले बैङ्क नोटबाट कोरोना संक्रमण हुनसक्ने भन्दै नगद कारोबार गर्न नहुने बतायो । विश्व स्वास्थ्य संगठनको त्यो आग्रहसँगै विश्वका कतिपय देशले केन्द्रीय बैङ्कमा फिर्ता भएको नोटलाई फेरि बाहिर नपठाउने वरु त्यहीँ नष्ट गरिदिने समेत गर्न थाले । त्यसमध्येको एउटा देश चीन पनि थियो ।

त्यो घोषणापछि केही देशले भने नोट कारोबारमा कडाइ गर्न थाले, अहिले पनि गर्दै आएका छन् । युरोपमा कोरोनाभाइरस संक्रमण देखिँदै गर्दा अमेरिकाले युरोपेली मुलुकबाट आएका नोटलाई १० दिनसम्म होल्ड गरेर मात्रै प्रयोग गर्ने नीति लिएको थियो । किनकी त्योकेला डब्लुएचओले नोटमा कोरोना ९ दिनसम्म सक्रिय हुनसक्ने जनाएको थियो । 

अहिले विश्वका सबैजसो देशहरुले कोरोना संक्रमण फैलिन नदिन भन्दै नोटलाई संक्रमणरहित बनाउने गरेका छन् । नेपालमा पनि बैङ्क तथा वित्तीय संस्थाहरुले त्यो प्रक्रिया अपनाइरहेका छन् । नेपाल राष्ट्र बैङ्कदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले नोटलाई त्यसरी ‘डिस्इन्फेक्ट’ गर्ने गरेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल, राष्ट्र बैङ्कले बजारबाट आउने सबै नोटलाई संक्रमणरहित बनाएर मात्रै राख्ने गरेको र बैङ्क तथा वित्तीय संस्थालाई पनि त्यही अनुसारको निर्देशन दिने गरेको बताए ।

‘हामीले डिसइन्फेक्ट गराउने प्रयास गरेका छौँ । बैङ्कहरुलाई नि त्यही निर्देशन दिएका छौं । तर, कति गर्नुभएको छ, कति गर्नुभएको छैन भनेर अनुगमन गर्न चाहिँ सकेका छैनौँ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘बैङ्कहरुले पालना गर्नुभएकै होला भन्ने लागेको छ ।’ तर कार्यकारी निर्देशक नेपाल नोटकै कारण कोही संक्रमित भएको अवस्था नरहेको बताउँछन् ।

एनआईशी एशिया बैङ्कका चिफ बिजनेस अफिसर अर्जुन खानियाँ अहिले आफूहरुले बैङ्कमा आएका सबै नोटलाई छुट्टै कर्मचारीबाट स्प्रे (डिसइन्फेक्टेड) गर्न लगाएर मात्रै काउन्टरका कर्मचारीलाई दिने गरेको बताउँछन् । त्यसरी संक्रमणरहित बनाउने कर्मचारीलाई पीपीई लगायत सुरक्षा सामाग्री उपलब्ध गराइएको भए पनि उनीहरुले त्यसको प्रयोग गर्नुपर्ने आवश्यकता महशुस नै नगरेको उनी बताउँछन् । नोटकै कारण कोरोना सरेको आशंका अहिलेसम्म नगरिएको खानियाँको भनाइ छ ।

संक्रमित धेरै भेटिए, कारण अरु नै

कोरोनाभाइरसको संक्रमणबाट अहिले सबैजसो बैङ्क तथा वित्तीय संस्था अछुतो छैन । ग्लोबल आईएमई बैङ्कबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको कोरोनाको संक्रमण यतिबेला करिब दुई दर्जन वाणिज्य बैङ्कमा पुगिसकेको छ ।

प्राइम कमर्शियल बैङ्कको मुख्य कार्यालयमा एकैपटक डेढ दर्जनलाई कोरोना देखियो । त्यसैगरी, एभरेष्ट बैङ्क, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, एनएमबि बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, नेपाल एसबीआई बैङ्क लगायतका बैङ्कहरुमा कोरोना संक्रमण देखिइसकेको छ । त्यसरी संक्रमितको संख्या मुख्य कार्यालय र शाखा कार्यालयहरुमा उत्तिकै देखिएको छ ।

प्रमुख कार्यालयहरुमा डिस्इन्फेक्ट गर्ने प्रणाली राम्रो हुने भए पनि कर्मचारी अभावका कारण शाखा कार्यालयमा सबै सुविधा उपलब्ध नहुने स्वीकारोक्ति बैङ्करकै छ । तर, नोट संक्रमणरहित नभएकोले कोरोना सर्यो भन्ने अवस्था अहिलेसम्म आशंका समेत गर्नु नपरेको उनीहरु बताउँछन् ।

त्यसो त बैंकिङ क्षेत्रबाहेक सयौँ गुणा बढी नगद कारोबार त्योभन्दा बाहिर हुन्छ । आवतजावतमा सास्याका कारण ठूला र व्यवसायिक कारोबारहरुको भुक्तानी यतिबेला अनलाइन वा वालेटबाट हुन थालेका छन् । तर रिटेल कारोबारमा अहिले पनि आधुनिक भुक्तानीको पहुँच छैन । त्यतिमात्रै होइन, वित्तीय कारोबार गर्ने सहकारी संस्था, रेमिट्यान्स कम्पनी र तिनका एजेन्ट, सब–एजेन्टहरुले ठूलो मात्रामा नगद कारोबार गर्छन् । तर, उनीहरुले यसलाई संक्रमणरहित बनाउने कुनै मापदण्ड अपनाउने गरेका छैनन् । तर, अहिलेसम्म नोटबाट संक्रमण भएको प्रमाण पाइएको छैन । संक्रमणले आधा लाखको बाटो लिँदा अहिलेसम्म नोटबाटै कोरोना फैलिएको खबर अहिलेसम्म कहिँकतै फैलिएको छैन ।

त्यसो त जनस्वास्थ्यविद्हरु नोटलाई कोरोना संक्रमणको माध्यमको रुपमा हेर्न नमिल्ने बताउँछन् । जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित भाइरसको संक्रमण सबै माध्यमबाट हुनसक्ने सम्भावना भए पनि नोट प्रमुख माध्यम नभएको बताउँछन् ।  ‘कोरोना महामारी कुनै पनि वस्तुबाट सर्नसक्छ, त्यसैले नोटबाट सर्दैन भन्ने होइन । तर, नोट त्यति जोखिमपूर्ण भने मानिँदैन । अहिलेसम्म नोटबाट कोरोनाभाइरस सरेका पुष्टि भएको छैन,’ दीक्षित भन्छन् ।

विश्व स्वास्थ्य संगठनले भने नोटलाई कोरोनाको मात्रै नभएर अरु हजारौं किटाणुको घर भएको बताउँदै सकभर नोटको कारोबार नै नगर्न भनिरहेको छ । तर, जनस्वास्थ्यविद्हरु त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

एकजना अर्का स्वास्थ्यविद् भन्छन्, ‘डब्लुएचओले भनेपछि त्यसलाई सीधै इन्कार गर्न स्वास्थ्यकर्मीलाई ठूलै आँट चाहिन्छ । तर, नोटबाट संक्रमण हुने कुरा सैद्धान्तिक रुपमा मात्रै सही छ । तर नोटबाट संक्रमण त्यसरी फैलिन्थ्यो भने आजको दिनमा विश्वमा निरोगी मान्छे कोही पनि हुने थिएनन् होला ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.