आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अफगान राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषद घोषणा

आइतबार, १४ भदौ २०७७, १९ : ५६
आइतबार, १४ भदौ २०७७

काबुल । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानसँग शान्तिवार्ता गर्नेगरी राष्ट्रिय मेलमिलापका लागि एक परिषदको घोषणा गरेका छन् । प्रस्तावित परिषदले तालिबानसँग शान्ति सम्झौताका निम्ति मार्गप्रशस्त गर्नेछ । 

संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच गत फेब्रुअरीमा भएको सम्झौताले अन्तर–अफगान शान्तिवार्ताका लागि ढोका खोलेको थियो । तर तोकिएको समयावधिभित्र दुबै पक्षबीच शान्तिवार्ता नभएको भन्दै अमेरिकाले असन्तोष प्रकट गर्दै आएको छ । खासगरी अफगान जेलमा बन्दी रहेका पाँच हजार तालिबानीको रिहाईको विषयले सरकार र तालिबानबीचको वार्तामा ढिलाई भइरहेको छ । 

अफगान सरकारले हालसम्म चार हजार ६०० तालिबान लडाकूलाई रिहा गरिसकेको भए पनि गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न ३२० जना लडाकूलाई भने रिहाई गरिएको छैन ।  अफगान राष्ट्रपति घानीले शनिबार अबेर एउटा वार्ताको सहजीकरणका लागि ४६ सदस्यीय परिषदको घोषणा गरेका छन् । उक्त परिषदको नेतृत्व गत राष्ट्रपतीय निर्वाचनमा पराजित तर वर्तमान सरकारमा सहभागी अब्दुल्लाह अब्दुल्लाहले गरेका छन् ।

घानीले नै घोषणा गरेको यो परिषदक २१ सदस्यीय वार्ता टोलीभन्दा पृथक रहेको छ । यो टोलीले कतारमा तालिबान समूहसँग वार्ताका लागि चाँडै दोहा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।  तर पछिल्लो पटक घोषणा गरिएको परिषदले वार्ता टोलीले गर्ने सहमतिका बुँदामाथि विचारविमर्श गरी अन्तिम निर्णय दिनेछ । नयाँ घोषित परिषदमा अफगानिस्तानका वरिष्ठ राजनीतिक व्यक्तित्वहरु सहित नौ जना महिला प्रतिनिधिहरु रहेका छन् । साथै परिषदमा पूर्व राष्ट्रपति हमिद कारजाईलाई पनि राखिएको थियो तर उहाँले सरकारले गठन गरेको त्यस्तो परिषदमा बस्न अस्वीकार गरेका छन् ।

परिषदमा वर्षौंदेखि अफगान युद्ध लडेका मुजाहिद्दीन र जिहादी नेताहरुका साथै सन् २०१६ मा घानीसँग शान्ति सम्झौता गरेका गुलबुद्दीन हिक्मतयार, खुँखार आतंकवादी अब्दुर रसूल सयाफ समेतका नेताहरु छन् ।  तर तालिबान समूहले भने २० सदस्यीय वार्ता टोली मात्र बनाएको छ जसलाई सरकारसँग वार्ता गर्ने सम्पूर्ण अख्तियारी दिइएको छ । तालिबान समूहले आफ्ना नेता मुल्लाह हिबातुल्लाह अखुनजादाका विचारलाई मात्र अगाडि बढाउने बताइसकेको छ । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप