शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपामा चुनाव चिन्ह विवाद : गाई र हलो तानातान

आइतबार, १४ भदौ २०७७, १८ : १२
आइतबार, १४ भदौ २०७७

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सो पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ । गत २८ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भएपछि एकताको आधार पत्रमाथिको व्याख्या र विवादित विषयमा सहमतिको खोजी जारी छ ।

राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा थापा समूहका दीपक बोहोरा, बुद्धिमान तामाङ्ग र  राजेन्द्र लिङ्देन रहेका छन् भने राणा–लोहनी समूहबाट विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना छन् ।  कार्यदलले चुनाव चिन्ह बाहेकका विषयमा मोडामोटी खाका तयार पारेर निर्णय गर्ने अधिकार तीन अध्यक्ष (थापा–राणा–लोहनी) लाई नै दिइएको छ ।

कार्यदलले तयार पारेको प्रतिवेदन र चुनाव चिन्हका विषयमा अध्यक्षत्रय थापाm राणा, लोहनीबीच शुक्रबार राणाको निवासमा छलफल भएको थियो । छलफलमा पार्टी एकता हुँदादेखि विवाद देखिएको निर्वाचन चिन्हका विषयमा सहमति हुन सकेन । राप्रपामा कमल थापा समूह जसरी पनि गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने अडानमा छ भने राण–लोहनी समूह हलोको पक्षमा रहेको छ ।

पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्ह विवाद फेरि बल्झिएको हो । 
राप्रपाका दुई समूहवीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुंगो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन । जबकी यही भदौ मसान्तसम्म राप्रपाले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसक्नु पर्नेछ ।

कार्यदलका सदस्य श्यामप्रसाद तिमिल्सिनाका अनुसार झण्डामा सहमति जुटिसकेको छ । उनले भने, ‘झण्डा गाई अंकित हुनेछ, तर चुनाव चिन्हमा अझै छलफल जारी छ । चुनाव चिन्ह हलो राख्ने गरी निर्णय होला, भोलिसम्म जसरी पनि चिन्ह पनि टुंगो लाग्छ ।’

कार्यदलका तत्कालीन दुई पार्टीमध्ये एउटाको चुनाव चिन्ह र अर्कोको झन्डा राख्ने कुराका कार्यदल सहमत भएको तिमिल्सिनाको दावी छ । उनले भने, ‘विषय हाम्रो कार्यक्षेत्रभित्र थिएन । यसबारे निर्णय लिने अधिकार अध्यक्षत्रयलाई भएकाले सहमति टुंग्याउने कार्यदलको निचोड थियो ।’ यस्तै राप्रपाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एकमात्र सांसद समेत रहेका लिङ्देलले पनि विवादित विषयमा सहमति भइसकेको दावी गरे । 

उनले भने, ‘पार्टीमा सैद्धान्तिक समस्या छैन । राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र संघीयताको विकल्पमा सुदृण स्थानीयतासहित दुई तहको सरकार राज्य संरचनाका विषयमा सहमति भइसकेको छ ।’ चिन्ह र झण्डाको विषयमा पनि  विवाद नहुने गरी समाधान निकाल्न लागिरहेका उनले बताए ।

लिङ्देलले भने, ‘एउटाको झण्डा भए अर्कोको चुनाव चिन्ह राखेर जान सकिन्छ । यसलाई केन्द्रीय समिति वा महाधिवेशनमा लगेर सर्वसम्मत रुपमा जाने विषयमा छलफल भइरहेको छ । यो समस्याका रुपमा अब रहँदैन ।’ 
केही दिनअघि नेता बिक्रम पाण्डेको बालुवाटारस्थित निजी कार्यालयमा बसेको बैठकमा पनिपार्टी पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन ।

दुई समूहबीचको  चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ । थापा समूहकै केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ ।
तर अध्यक्ष थापालगायतले भने पार्टीले हिन्दु राष्ट्रको मुद्दा बनाएकाले गाई छोड्दा मुद्दा कमजोर तर्क गरिरहेका छन् । 

चुना चिन्हकै विषयलाई थप छलफलपछि टुंग्याउने र निर्वाचन आयोगमा दल दर्ताका जानका लागि अध्यक्षत्रयले शनिबार र शनिबार कानुनविद्हरुसँगसुझाव मागेका थिए । त्यसका लागि वकिलहरु सुशील पन्त, राजु बस्नेत र चन्द्रकान्त काफ्ले शनिबार छलफल गरेर सुझाव पठाएका छन् । 

तीनै अध्यक्ष हटाउन कार्यकर्ताको दबाब

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा समेत निर्वाचन चिन्ह सहितका विषयलाई ६ महिनाभित्र टुंग्याउने भनिएको थियो ।

विवाद समाधानका लागि अध्यक्षत्रय पटक पटक वार्तामा बसिसकेका छन् । तर सहमति हुन सकेको छैन । अहिलेसम्म पार्टी दर्ता समेत हुन नसकेपछि अध्यक्षत्रयमाथि हस्तक्षप गर्न कार्यकताबाट दबाब आइरहेको तिमिल्सिाले बताए । 

उनले भने, ‘तीन वटै अध्यक्ष हटाएर नयाँ मान्छे आएर हस्तक्षप गर भनेर दबाब आइसक्यो । तीन अध्यक्षले सहमति जुटाउन सक्दैनन् भने तीनै जनालाई हटाएर नयाँ नेतृत्व दिनुहोस् । हामी साथ दिन तयार छौँ भनिरहनु भएको छ ।’

दुई दिनभित्र अध्यक्षत्रयले निर्णय नलिएर नयाँ बाटोमा जान आफूहरु पनि तयार रहेको तिमल्सिनाले बताए ।  उनले भने, ‘दुई दिनभित्र अध्यक्षले मिलाउनु भएन भने अब सोच्नुपर्ने अवस्था आएको छ । कार्यकर्ताको दबाब थेग्न नसक्ने भएकाले कार्यकर्ताको भावना अनुसार जान बाध्य हुन्छौँ ।’

तर, लिङ्देलले कार्यदलले टुंग्याउन बाँकी विषयलाई अध्यक्षत्रयले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइसकेको एक दुई दिनमा सहमति तय हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कुनै विषयमा सहमति हुन नसकेर तत्कालीन पार्टीहरु अलग अलग बाटोमा जाने छुट छैन । यो कुरा अध्यक्षले पनि बुझ्नु भएको छ । कार्यकर्ताको भावना अनुसार एक दुई दिनमा निर्णयमा पुग्नुहुन्छ भन्ने विश्वास छ ।’ आगामी वैशाखमा पार्टीको एकता महाधिवेशन गर्ने गरी तयार भइरहेको पनि उनको भनाइ छ । महाधिवेशन र संघर्षका कार्यक्रमसँग सँगै लिएर जाने लिङ्देलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप