केन्द्रीय संस्करण
काँग्रेसमा विरासतको बोलबाला

विरासतको छाता ओढेर नेतृत्व परिवर्तनको हुङ्कार

अझै पनि बीपी, गणेशमान र महेन्द्रनारायण निधिकै इतिहास कोट्याइँदै

person explore access_timeभदौ १४, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ ।
१४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधिवेशन हुनेमा आशंका देखिएको छ । किनकि १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका समेत कोरोना महामारीका कारण विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञाले गर्दा प्रभावित भइसकेको छ ।

नियमित समयमा महाधिवेशन आयोजना गर्न नसक्दा पार्टीको विधानले गरेको व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थपिएको हो । थपिएको समयभित्र पनि महाधिवेशन हुन सकेन भने संविधानअनुसार बढीमा अर्को ६ महिनासम्म म्याद थप्न सकिन्छ ।

कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आगामी दिनमा के–कस्ता परिस्थिति सामना गर्नुपर्ने हो भन्ने प्रष्ट छैन । त्यसैले पनि संस्थागत रुपमा काँग्रेस अझै पनि महाधिवेशनको तयारीमा होमिन सकेको छैन तर सो पार्टीका नेताहरु व्यक्तिगत रुपमा महाधिवेशन केन्द्रित प्रचारवाजीमा उत्रिन थालिसकेका छन् ।

पार्टीका केही नेताले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसके । केहीले प्रत्यक्ष रुपमा र केहीले अप्रत्यक्ष रुपमा आफूलाई सभापति पदको उम्मेदवारका रुपमा उभ्याएका छन् ।

‘विरासत’ कै बोलवाला
नेपाली काँग्रेसमा नेतृत्वका लागि ‘विरासत’ कै बोलवाला बढ्दै गएको छ । पार्टीका संस्थापक नेतादेखि लिएर पञ्चायतकालको प्रतिकुलताका बाबजुद पार्टीको संगठनमा ऊर्जा भरेका केही प्रभावशाली नेताका वंशज नै अहिले सभापति पदको दावी गर्ने होडमा अगाडि देखिएका छन् ।

महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला, सुजाता कोइराला लगायतले पार्टी सभापति पदका लागि आकांक्षा राखेका छन् । यी सबै ‘वंशवाद’सँग जोडिएका नाम हुन् । पार्टीको पहिलो पुस्तामा यिनका पितापुर्खा भएकै कारण काँग्रेसको राजनीतिमा यिनले अरुको तुलनामा बढी अवसर र मौका पाएको प्रष्ट छ, यद्यपि केहीले पार्टीमा समकालीन नेतासरह योगदान पनि गरेका छन् । तर अवसर हात पार्ने सवालमा ‘विरासत’ कै कारण अन्य समकालीनको तुलनामा यिनीहरु प्राथमिकतामा पर्ने गरेको पाइन्छ ।

प्राध्यापक गुणनिधि न्यौपाने नेपाली काँग्रेसमा ‘विरासत’ को राजनीतिले प्रश्रय पाइरहेको बताउँछन् । ‘विरासतको राजनीति गर्नेहरु पनि छन्, त्यसलाई तोड्ने पनि छन्,’ उनले भने, ‘कोइराला परिवारको विरासतलाई शेरबहादुर देउवाले तोडे, अहिले पहिलो पुस्ताका विभिन्न नेताका विरासतहरुबाट देउवाको विकल्पमा चुनौती दिने काम भइरहेको छ ।’

विश्वेश्वरप्रसाद कोइरालापुत्र डा. शशांक कोइराला, महेन्द्रनारायण निधिपुत्र विमलेन्द्र निधि, गणेशमान सिंहपुत्र प्रकाशमान सिंह, गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालालाई ‘राजनीतिक विरासत’को संज्ञा दिइन्छ । यद्यपि यिनीहरु राजनीतिक रुपमा क्षमता नभएका व्यक्ति भने होइनन्, तर विरासतकै कारण यिनीहरुले क्षमता एवं आवश्यकताभन्दा बढी मौका र अवसर पाएको आरोप लगाउनेहरु प्रशस्त छन् ।
प्राध्यापक न्यौपाने नेपाली काँग्रेसमात्र मात्र नभई नेपालकै राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिको ठूलो योगदान रहेको बताउँछन् । तर उनीहरुकै गुण र क्षमता उनीहरुका ‘विरासत’ मा खोज्न नहुने न्यौपाने बताउँछन् ।

विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिलगायतले आफ्नो फाइदाका लागि नभई देश र जनताको फाइदाका लागि राजनीति गरेको उनको भनाइ छ । ‘देश र जनतालाई केही दिन्छु भनेर उहाँहरु राजनीतिमा होमिनु भएको थियो, अनेक दुःख कष्ट झेल्नुभयो,’ उनले भने, ‘अहिले सुख–सुविधा र सत्ताका लागि राजनीति गर्नेहरु धेरै छन् ।’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ पनि पार्टीको राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिको विरासत झाङ्गिदै गएको बताउँछन् । ‘तर विरासतका रुपमा मात्र नभई उहाँहरुमा क्षमता पनि देखिएको छ,’ उनले भने, ‘विरासत आफैमा एउटा फाइदा हुनसक्छ तर विरासत भएरमात्र पनि हुँदैन, क्षमता चाहिन्छ । उहाँहरु क्षमता भएर नै यहाँसम्म आउनुभएको हो । कार्यकर्ताले नै उहाँहरुलाई यहाँसम्म ल्याएका हुन्, विरासतले मात्र आउनुभएको होइन ।’

केन्द्रीय सदस्य गुरुराज घिमिरे राजनीतिक विरासतप्राप्त व्यक्तिमा उच्च आत्मविश्वास हुने बताउँछन् । ‘उसको जीवनका भोगाइ, राजनीतिक धरातल, सूचना तथा देश–विदेशसँगको सम्बन्ध आदिले गर्दा जब्बर बनिसकेको हुन्छ,’ उनले भने, ‘लरोतरो आँधीतुफानले उसलाई हल्लाउन सक्दैन, यो उसका लागि फाइदाको कुरा हो ।’
तर राजनीतिमा यतिले मात्र नपुग्ने उनी बताउँछन् । ‘उसमा दक्षता चाहिन्छ, प्रतिश्पर्धात्मक क्षमता चाहिन्छ, आत्मविश्वास पनि चाहिन्छ,’ केन्द्रीय सदस्य घिमिरे भन्छन्, ‘यी आधारभूत कुरा उसमा भएन भने नेता हुन सक्दैन, मूर्तिमात्र हुन्छ ।’

नेतृत्व परिवर्तनमा विरासतको छाया
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुने दावी कतिपय नेताहरुले गरिरहेका छन् । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पुस्तालाई १४ औँ महाधिवेशनबाट स–सम्मान बिदा गर्ने युवा नेताहरु बताउँछन् ।

केन्द्रीय सदस्य गुरुराज घिमिरे देउवा र पौडेललाई बिदा दिएर अब दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुने बताउँछन् । ‘त्यसो त युवाले नै नेतृत्व लिनुपर्छ भनेर आवाज उठिरहेको छ,’ उनले भने, ‘दोस्रो पुस्तालाई पनि एक कार्यकाल दिउँ भनेर पनि कुरा भइरहेको छ, त्यो हो भने दोस्रो पुस्तालाई नेतृत्व दिएर महामन्त्रीसहित ६० प्रतिशत हिस्सा युवालाई दिनेगरी १४ औँ महाधिवेशनबाट अगाडि बढ्न सकिन्छ ।’

तर त्यसरी आउने दोस्रो पुस्ताको नेतृत्व पनि ‘विरासत’ अन्तर्गत नै हुने सम्भावना रहेको उनको भनाइ छ । ‘अहिले नेतृत्वका लागि चर्चामा आएका दोस्रो पुस्ताका नेताहरुमा विरासतभित्रकै नेता हुनुहुन्छ,’ उनले भने ।
प्राध्यापक न्यौपाने पनि विरासत एकैपटक उन्मुलन हुन नसक्ने बताउँछन् । ‘विरासत भन्नेबित्तिकै नराम्रो नै हो भन्ने पनि होइन,’ उनले भने, ‘विरासतकै आधारमा यिनलाई मात्र कति मौका दिने भन्ने हो भने पनि एकैपटक निमिट्यान्न पार्न सम्भव हुँदैन, नेतृत्व परिवर्तनका लागि विरासतबाहेक अर्को उपाय भएन भने विरासतलाई नै एकपटक प्रयोग गरौँ न त भन्ने हो ।’

केन्द्रीय सदस्य कल्याण गुरुङ नेपालमा मात्र नभई दक्षिण एसियाकै राजनीतिमा विरासत झाङ्गिएको बताउँछन् । ‘भारत, पाकिस्तान, बंगलादेश जस्ता देशमा पनि राजनीतिक विरासतका अनेक उदाहरण छन्,’ उनले भने, ‘दक्षिण एसियाली राजनीतिमा सामन्तवाद, नातावाद, कृपावाद, जातिवाद, ब्रिफसेशवाद हावी छ, नेपाल पनि त्यसबाट अछुतो छैन ।’

बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिको पुस्ता कुनै अवसर, पद, प्रतिष्ठा वा कुनै प्रकारको फाइदाका लागि नभई विचारका लागि, लोकतन्त्रको आधारभूत मूल्य र मान्यताका लागि राजनीतिमा होमिएको उनको भनाइ छ । अहिले राजनीतिमा यो खालको सोच हराउँदै गएको उनको भनाइ छ ।   

पार्टीभित्र ‘विरासत’ कै बोलवालाका कारण आफू अवसरबाट वञ्चित हुनुपरेको धेरै नेताले महसुस गर्दै आएको गुरुङ बताउँछन् । ‘विरासतमात्र होइन, कोही खास नेताको नजिक भएका कारण वा कोही खास नेताको नाता परेका कारण आफू सरहकाले राजनीतिक अवसर पाए तर आफूले पाइएन भन्ने अनुभव धेरैले गरिरहेका छन्,’ उनले भने, ‘सबै प्रकारका यस्ता नाताका कारण अवसर पाउनेहरु धेरै छन् ।’

विरासत कति सफल ?
विरासतका रुपमा चर्चामा आएका डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये डा. कोइरालाले एक कार्यकाल महामन्त्री पद सम्हाले । यस्तै निधिले उपसभापति, सिंहले अघिल्लो कार्यकाल नै महामन्त्री पद सम्हालिसकेका छन् ।

महामन्त्रीका रुपमा डा. कोइरालाको भूमिका प्रभावकारी देखिएन । संगठनलाई पुनर्जीवन दिन वा प्रतिपक्षी दलको जिम्मेवार पदाधिकारीका हैसियतले सरकारलाई सही बाटोमा ल्याउन खबरदारी गर्ने लगायतमा सन्दर्भमा उनको भूमिका निष्कृयजस्तै रह्यो । संसदमासमेत  प्रतिनिधित्व गरेका उनी सरकारलाई संसदमै पनि खबरदारी गर्न चुकेका देखिए, जबकि प्रदीप गिरी, डा. मिनेन्द्र रिजाल, गगन थापा लगायतका केही नेताले सरकारलाई संसदमा विभिन्न मुद्दामा घेरिरहे ।

अर्कोतिर विमेलन्द्र निधि गत निर्वाचनमै असफल साबित भइसकेका व्यक्ति हुन् । नेपाली काँग्रेसको भोट बैंक मानिएको तराई क्षेत्रमा पार्टीले राम्रो नतिजा ल्याउन नसक्नुमा उनकै अदुरदर्शिता, नेतृत्व क्षमताको अभाव मुख्य कारण रहेको प्रदेश २ कै नेता–कार्यकर्ताको भनाइ छ । यहाँसम्म कि, गुटबन्दीलाई नै प्रश्रय दिएका कारण उनी आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए ।

अर्कोतिर प्रकाशमान सिंहले एक कार्यकाल महामन्त्री पद सम्हाले पनि काठमाडौँ उपत्यकाको दायराबाट आफूलाई बाहिर निकाल्न नसकेको आरोप लगाउनेहरु प्रशस्त छन् ।
१४ औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने व्यक्तिगत अभियानमा रहेका नेताहरुबीच कस्तो तालमेल बन्ने हो भन्ने प्रष्ट भइसकेको छैन । नत आगामी फागुनमै महाधिवेशन हुन्छ भन्ने ग्यारेन्टी देखिएको छ । देश तथा जनता कोरोनाको कहरमा त्रसित भइरहेको समयमा प्रतिपक्षी दलका नेताहरु पार्टी नेतृत्व हासिल गर्ने दौडमा केन्द्रित हुने क्रममा पार्टीभित्रका मुद्दालाई प्राथमिकता दिन थालेका छन् । यसले गर्दा राष्ट्रिय मुद्दाहरु ओझेलमा पर्न थालेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.