बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस पासको दुरुपयोग बढेसँगै पत्रकार महासंघको ध्यानाकर्षण

आइतबार, १४ भदौ २०७७, १३ : ०८
आइतबार, १४ भदौ २०७७

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाइएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै महासंघले चेकजाँचलाई कडाइ पार्न प्रहरीलाई अग्रह गरेको छ । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने पनि महासंघको ठहर छ । 

महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दै महासंघले भनेको छ, ‘आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।’

प्रेस पासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ । ‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप