शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको समाजवादी यात्रा : काशी जाने कुतीको बाटो

शनिबार, १३ भदौ २०७७, ०९ : ५४
शनिबार, १३ भदौ २०७७

२००६ साल वैशाखमा नेकपाको स्थापना भएयता दर्जनौँ भँगलाहरुमा विभक्त हुँदै, सापेक्षित एकीकरण, पुनः विघटन एवं पुनर्गठन हुँदै आएका छन् । पछिल्लो समयका मुख्य दुई धार नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । यो पार्टी निर्माणको पृष्ठभूमिमा करिब ७० वर्ष लामो नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक क्षेत्रका प्रयोगात्मक अनुभवको व्यावहारिक संश्लेषण भएको छ । नेकपाको निर्माण फगत दुई पार्टी बीचको प्राविधिक एकता मात्र नभएर नेपालको वर्ग सङ्घर्षमा अवलम्बन गरिएका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानको रूपान्तरित एवं विकसित संश्लेषणप्रतिको स्वीकारोक्तिपूर्ण अभिव्यक्ति पनि हो । यो एकता भनेको नयाँ विचार, नयाँ कार्यदिशाको विकास गर्ने र नयाँ पार्टी निर्माण गर्ने सकारात्मक चुनौतीको स्वीकारोक्ति समेत हो । पार्टी एकता एकआपसमा जुधिरहेका दुई पार्टी एक भएर शक्तिशाली सत्ताको परिचय कायम गर्न र केही अमुक नेताहरु एवं तिनका सीमित पिछलग्गुहरुको व्यवस्थापन गर्न मात्र किमार्थ होइन । पुनर्गठित नेकपासँग हजारौँ सहिद, बेपत्ता, अङ्गभङ्ग योद्धा, पक्तिबद्ध लाखौँ कार्यकर्ताको सपना जोडिएको छ ।

यससँगै तीन करोड नेपाली र नेपालीको भविष्यसमेत लुकेको छ । त्यसैले विगतमुखी एकपक्षीय अनुभव नै सत्यको कसौटी हुन सक्दैन । अपितु विगत राजनीतिको एकता र सङ्घर्षको सत्यताबीचको वर्तमानमा उभिएर रूपान्तरणको भविष्य रेखा कोर्नु आजको आवश्यकता हो । नेकपाभित्रको आजको अन्तरविरोध विश्वदृष्टिकोण, कार्यदिशा र नेतृत्व बीचको असङ्गतिपूर्ण सम्बन्धमा अभिव्यक्त भइरहेको छ । वास्तवमा यी तीनबीचको सम्बन्ध प्रगाढ भएमा आन्दोलनको रेल अघि बढ्न सक्छ अन्यथा ‘ब्रेक’ लाग्नु स्वाभाविक छ ।

प्रकृति, समाज र चिन्तनको गतिको विकास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यता नै नेकपाको विश्वदृष्टिकोण हो । क्रान्तिको लक्ष्य, कार्यक्रम, हिँड्ने बाटो, रणनीति, कार्यनीति, सङ्गठन र सङ्घर्षको रूप तथा क्रान्तिको नारा, कार्यक्रम र आगामी कामको योजनाहरु समेटिएको राजनैतिक÷सङ्गठनात्मक एवं सङ्घर्षको दिशा नै क्रान्तिको कार्यदिशा हो । विश्व  दृष्टिकोण कार्यदिशामा  अभिव्यक्त हुुन्छ । तर यी दुई बीचको आपसी सम्बन्धको कडी वा पुलको रूपमा नेतृत्व रहेको हुन्छ । त्यसैले सकार वा नकार दुवै पक्षको प्रहारको निसाना नेतृत्वमा केन्द्रित हुन्छ । नेतृत्व भनेको विभिन्न तहका नेताहरुको समूह भए पनि प्राधिकार सम्पन्न मुख्य नेताको भूमिका नै निर्णायक र महत्त्वपूर्ण हुन्छ । त्यसैले मूल नेतृत्वको कार्यशैली र जवाफदेहीतासँग कार्यदिशाको प्रभावकारिता एवं वैज्ञानिकता पनि अड्किएको हुन्छ । यसरी हेर्दा नेकपाभित्रको आजको समस्या माथि उल्लेखित कडीहरु बीचमै कतै रुमाल्लिएको जस्तो देखिन्छ । 

सर्वहारा वर्गको नेतृत्वमा समाजवादी आन्दोलनको दिशा कस्तो हुनुपर्छ ? नेपाली समाज  सुहाउँदो समाजवादी स्वरूप कस्तो हुन्छ ? र त्यसका लागि पार्टीको वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्यदिशा एवं तत्कालीन कार्यक्रम कस्तो हुनुपर्छ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्न जरुरी छ । यसबेला जनताको जनवादलाई समाजवादी कार्यदिशाका रूपमा विकसित गर्नुको साटो जनताको बहुदलीय जनवादतर्फ फर्काउने दुष्प्रयत्न हुँदैछ ।

सामान्यतयाः नेताहरुको व्यवस्थापन वा एकरूपतापूर्ण वातावरणको निर्माण नै पार्टी व्यवस्थापनाको मूल  कार्य हो  । तर यो आधारभूत सर्त मात्र हो, मुख्य कुरा त कार्यदिशाप्रतिको स्पष्टता हो ।
 लामो समय अर्ध सामन्ती, अर्ध औपनिवेशिक अवस्थामा गुज्रिएको नेपाली समाज पुँजीवादी स्वरूपमा बदलिएको स्वीकारोक्तिसँगै सर्वहारा वर्गको नेतृत्वको समाजवादी क्रान्तिको कार्यदिशाप्रति नेकपाले जन्मदेखि नै स्वीकार  गरेको हो । त्यसलाई नै समाजवादको तयारी गर्ने जनताको जनवाद भनिएको हो । आज विश्वव्यापी चरित्र ग्रहण गरेको र पुँजीवादी विश्व दृष्टिकोणद्वारा निर्देशित दलाल चरित्रको पुँजीवाद नेपालमा छ भनेर स्वीकार गरेपछि त्यसविरुद्धको सङ्घर्षको दिशा समाजवादी नै हुुनु अनिवार्य छ । तर ‘जनताको जनवाद’ले यो आवश्यकताको पूर्णतः सम्बोधन गर्न नसक्ने हो कि ? भन्ने मत बढेर गएको छ । मजबुद संरचना र उद्देश्यसहितको विश्वव्यापी चरित्रको पुँजीवादसँग लडेर विजय हासिल गर्न ‘सङ्क्रमणकालीन’ जस्तो अर्थ दिने जनताको जनवादबाट माथि उठ्न जरुरी छ । आजको आवश्यकता भनेको समाजवाद केन्द्रित बहस, छलफल र वादविवादमा केन्द्रित हुनु हो । 

सर्वहारा वर्गको नेतृत्वमा समाजवादी आन्दोलनको दिशा कस्तो हुनुपर्छ ? नेपाली समाज  सुहाउँदो समाजवादी स्वरूप कस्तो हुन्छ ? र त्यसका लागि पार्टीको वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्यदिशा एवं तत्कालीन कार्यक्रम कस्तो हुनुपर्छ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्न जरुरी छ । यसबेला जनताको जनवादलाई समाजवादी कार्यदिशाका रूपमा विकसित गर्नुको साटो जनताको बहुदलीय जनवादतर्फ फर्काउने दुष्प्रयत्न हुँदैछ । सशस्त्र वर्गसङ्घर्षको भट्टीबाट उत्सर्जित ‘२१औँ शताब्दीको जनवाद’ र शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको अनुभवबाट सिर्जित ‘जनताको बहुदलीय जनवाद’को सम्मिश्रणीय रासायनिक प्रतिक्रियाको प्रक्रियाबाट विकसित समाजवाद उन्मुख कार्यदिशा हो जनताको जनवाद । यसलाई थप विकसित तुल्याउँदै अघि बढ्नु पर्छ । 

आज बहुदलिय जनवाद ‘जबज’प्रतिको आत्ममोहसँगै क्रान्तिको चक्रलाई उल्टो दिशा दिन खोज्ने र व्यक्तिगत एवं गुटगत प्रतिस्पर्धालाई सबैथोक ठान्ने बहुलवादी चिन्तन एकैचोटि हाबी हुँदै गइरहेको छ । बहुलवाद, समाजवादी यात्राको डरलाग्दो तगारो हो, जो पुँजीवादी घरमा जन्मिएर कम्युनिस्ट चुलोमै हुर्किंदै कम्युनिस्ट आन्दोलनलाई नै रोक्न लागिरहन्छ । यसले इतिहास निर्माणमा जनसमुदायको भूमिकालाई नकार्दछ र सत्यता भनेको जीवन र जगतको वस्तुगत यथार्थ हो भन्ने यथार्थता विपरीत निजी अनुभवको विषय हो भनेर व्याख्या गर्छ । व्यक्तिको अनुभवलाई सिद्धान्त भनेर सत्यताविरुद्ध भ्रमको खेती लगाउँछ । यसरी हेर्दा ज्ञान–दर्शनको क्षेत्रमा बहुलवाद, आत्मर्निभर अनुुुभववाद हो भने चिन्तनमा हेर्दा बहुलवादले गैरपक्षधरतावाद वा तटस्थतावाद देखाइरहेको हुन्छ । व्यावहारिकताका नाममा विचारको गहन बहसबाट कटाउने र आन्दोलनलाई दिशाविहीन बनाउने अनि विषयको सारतत्वमा नगईकन श्रमजीवी वर्ग र समुदायको मुद्दालाई उनीहरुसँगै टाढा छोडिदिएर आँखा अगाडि भएका व्यक्ति–व्यक्तिको सम्बोधनलाई समाधान सम्झने विधि अवलम्बन गर्दछ । जो मार्क्सवाद विपरीत चरम व्यक्तिवादी सिद्धान्त र दृष्टिकोण हो । दुर्भाग्य नै भन्नुपर्छ, आजको नेकपाभित्रको विवाद र त्यसको समाधानको उपाय स्वरूप यही सिद्धान्त प्रयोग हुन खोज्दैछ । महत्त्वपूर्ण विषय यो पनि हो कि विषयवस्तुलाई द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण मुताविक हेरेर मात्र पुग्दैन । बरु  सोही अनुरूप  समाधानको उपाय पनि खोजी गर्नु पर्दछ । 

‘एकको दुईमा विभाजन हुन्छ’ भन्ने मार्क्सवादी मान्यता अनुरूप पार्टीभित्र पनि सकार, नकार दुवै हिसाबले विषय उठ्छ । छलफल हुन्छ । तर पार्टीको विकास र रूपान्तरणको दिशातर्फ हामी सबैको प्रयत्न रहनुपर्छ । यसबेला पार्टी विस्तारै राजनीतिक चरित्र गुमाएको नोकरशाही यन्त्र जस्तै हुँदै गएको छ । श्रमजीवी वर्गको नेतृत्व गर्ने पार्टीको जरा एउटा, हाँगा अर्कै जातको जस्तो देखिन्छ । सायद समाजको  नशा–नशामा छिरेर मोर्चा कस्दै गरेको दलाल पुँजीवादले पार्टीको मुख्य डाँठमा कब्जा गरेर हाँगाबिँगामा फैलिँदै जरातिर सङ्क्रमण बढाउँदै छ क्यारे ? जसले गर्दा आर्थिक जग एउटा तर सांस्कृतिक ढाँचा अर्कै बनाउँदै लगेको छ । पार्टीभित्र राजनीतिक पुँजी निरिह सावित हुँदैछ र आर्थिक पुँजीले पद, प्रतिष्ठा र जिम्मेवारीको निक्र्योल गर्दैछ । यसलाई समयमै व्यवस्थापन गर्न पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गरेर उद्देश्य केन्द्रित दिशामा डो¥याउन जरुरी छ । अन्यथा समाजवादको यात्रा काशी जाने कुतीको बाटो सावित हुनेछ । 

विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । विश्वव्यापी आतङ्कको लपेटाबाट नेपाल पनि अछुतो छैन । यो सङ्कट दोस्रो विश्युद्धपछिको मानव समाजले झेलेको ठूलो सङ्कट हो । प्रथम विश्वयुद्धमा करिब ९३ प्रतिशत जनता प्रभावित थिए भने दोस्रो विश्वयुद्धमा त जनसङ्ख्याको ३ प्रतिशतले त ज्यान नै गुमाउनुपरेको थियो । करोडौँ मान्छे घाइते भएका थिए र खर्बांैको सम्पति क्षति भएको थियो । धर्ति भनेको कच्चा पदार्थ हो, मानिस उपभोक्ता हुन र नाफा आर्जन गर्नु एक मात्र आफ्नो उद्देश्य हो भन्ने मान्यता बोकेको पुँजीवादले विकासका नाममा प्रकृति र पर्यावरणको नष्ट गर्ने मात्र होइन मानवीय सभ्यता र संस्कृति समेत ध्वस्त गर्ने विध्वंशकारी दोहनका कारण यस्ता मानवीय विपद बढेर गएका छन् । पुँजीवादको गर्भभित्रैबाट पैदा हुने यस्ता विपद र सङ्कटहरुको समाधान त्यहीवादलाई फलामको चिउरा सावित हँँदै गइरहेको छ । 

विश्व अर्थ व्यवस्थाले नयाँ आधार ग्रहण गर्दै गइरहेको छ । यो भनेको पुँजीवादी सङ्कटको अभिव्यक्ति हो । यसले विद्यमान आर्थिक आधार र राजनीतिक उपरी संरचनाबीचको सम्बन्धमा सन्तुलन गुमाएको छ । यस्तो सङ्कटको गर्भबाट नयाँ क्रान्तिको शिशुु हुर्कने गरेको परम्परा छ । जसरी प्रथम विश्वयुद्धको आँधीहुरीले सोभियत सत्ताको समाजवादी बिरुवा हुर्कायो । त्यसैगरी दोस्रो विश्वयुद्धको सङ्कटबाट सिर्जित निराशाजनक विश्व जगतलाई चिनियाँ क्रान्तिको शीतल पवनले उत्साहित बनाएको थियो । त्यही चिनियाँ क्रान्तिको रापिलो प्रभाव र नेपाली माटोको उर्वराशक्तिको सन्तुलनका कारण त्यतिबेला नेपालमा क. पुष्पलालको नेतृत्वमा नेकपाको गठन भएको थियो । आज नयाँ जिम्मेवारीसहित पुनर्गठित नेकपालाई आजकै चेतना, संस्कृति र वैज्ञानिक विधिसहित सञ्चालन गर्न सकेमा समाजवादको क्षितिज अवश्य नै खुल्नेछ । होइन भने क्रान्तिको विकल्प क्रान्ति नै हुनेछ । प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धभन्दा ठूलो त्रास बनेको कोभिड–१९ ले नेकपा नेताहरुको चेतना चक्षु खुलाई देओस् । अस्तु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल खड्का
विशाल खड्का
लेखकबाट थप