बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रियाको स्विकारोक्तिः ९ जुनमा सुशान्तले मेसेज गर्दै  सोधेका थिए ‘कस्तो छौ बेबू’, रिसमा नायिकाले ब्लक गरिन् नम्बर

शुक्रबार, १२ भदौ २०७७, १४ : १७
शुक्रबार, १२ भदौ २०७७

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआई अनुसन्धानका बीच नायिका रिया चक्रवर्तीले भारतीय च्यानललाई अन्तरवार्ता दिएकी छिन् । यतिबेला उनले सुशान्तको मोबाइल नम्बर ब्लक गरेको स्विकार गरिन् । नायिकालाई विश्वास गर्ने हो भने उनले यो कदम रिसले उठाएकी हुन् । रियाले ८ जूनमा सुशान्तको घर छोडेकी थिइन् । रियाका अनुसार सुशान्तले एकपटक पनि रोक्ने कोसिस गरेनन् र उनलाई एक पटक पनि फोन गरेका थिएनन् ।

९ जूनमा सुशान्तको मेसेज आएको थियोः

आजतकसँगको कुराकानीमा रियाले भनिन्, ‘उनले मलाई ९ जूनमा मेसेज गरेका थिए जसमा लेखिएको थियो ‘कस्तो छौ मेरी बेबू ? ’ (सुशान्तले रियालाई मायाले बेबू भन्थे) तर सुशान्तले आफ्नो जीवनमा रियालाई नचाहेको कुरा थाहा पाएर आहत थिएँ । उसलाई राम्रोसँग थाहा थियो म बिरामी थिएँ भनेर । ८ जूनमा उनले मलाई सम्पर्क गर्ने कोसिस गरेनन् । ९ जूनमा मैले उनलाई ब्लक गरिदिएँ । मेरा अभिभावकलाई यसबारे थाहा थिएन तर उनी मेरो भाइसँग सम्पर्कमा थिए ।’

‘यदि उसले मलाई सम्पर्क गरेको भए वा यदि मलाई यस्तो होला भन्ने अलिकति मात्रै शंका लागेको भए म उनी भए ठाउँ जान्थेँ । मलाई के भएको थियो थाहा छैन । म पनि यो सबै जान्न चाहन्छु । उनकी दिदी मीतू ८ देखि १२ जूनसम्म त्यहाँ नै थिइन् । उनले किन बताउँदिनन् आखिर के भएको थियो ?’

खबर पाउँदा सोचेँ, यस्तो अफवाह कसरी आउन सक्छ ?

रिया भन्छिन्, ‘१४ जून दिउँसो करिब २ बजे म आफ्नो भाइसँग कोठामा बसिरहेकी थिएँ । त्यतिबेला मलाई एक साथीले फोन गरेर यस्तो अफवाह आइरहेको छ भनिन् । उनले मलाई यस्तो अफवाहमा विराम लगाइदिन भनिन् । उनलाई थाहा थिएन कि म आफ्नो घरमा छु । उनले मलाई सुशान्तलाई एक वक्तव्य जारी गर्न अह्राउ भन्दै सुझाइन् । त्यतिबेला मैले सोचेँ कि यस्तो आफवाह कसरी आउन सक्छ ? १०–१५ मिनेटमा सबैकुरा स्पष्ट भइसकेको थियो ।

तरपनि सुशान्तको घरमा गइनन् रियाः

रियाका अनुसार सुशान्तको मृत्युको खबर सुनेपछि पनि उनी उनको घरमा गइनन् । उनले भनिन्, ‘म पूर्ण रुपमा टुटिसकेकी थिएँ । शोकमा थिएँ । यस्तो कसरी हुनसक्छ भनेर मैले सोच्न सकिनँ । अन्तिम संस्कारमा जानेहरुको सूचीमा मेरो नाम छैन भनियो । उद्योगका नै जुन व्यक्तिहरुको नाम थियो उनीहरुले नै मेरो नाम नभएको बताए । म जान पनि सक्दिनथेँ । उनीहरु (सुशान्तका परिवार)ले मलाई त्यहाँ चाहँदैनथे ।’

उनले थपिन्, ‘उद्योगका केही मानिसहरुले मलाई फोन गरे त कतिले घरमा नै आएर मलाई त्यहाँ नजान सुझाए । उनीहरुले त्यहाँ मेरो अपमान गरिने बताए । तिम्रो मानसिक स्थिती ठिक छैन भने । त्यसपछि मेरा दुईजना साथीले सुशान्तको शवलाई हेर्नैपर्ने बताए । यसो नगरे मैले यो सत्यलाई स्विकार गर्न नसक्ने उनीहरुले बताए । ’

त्यसपछि शव देख्नेबित्तिकै भनिन्, ‘सरी बाबू’

रियाले सुशान्तको शव देख्ने बित्तिकै भनेकी थिइन्, ‘सरी बाबू ।’ । यसको कारण बताउँदै उनले भनिन्, ‘हो, यस्तो अवस्थामा ती व्यक्तिलाई कसले के भन्छ, जसले आफ्नो ज्यान गुमाइसकेका छन् ? आइ एम सरी कि तपाईंले आफ्नो जीवन गुमाउनुभयो र आज आइ एम सरी कि तपाईंको मृत्युलाई एक मजाक बनाइएको छ । मलाई खेद छ कि तपाईंको अन्तिम यादको रुपमा तपाईंको राम्रो काम, तपाईंको बुद्धिमत्ता र तपाईंको च्यारिटीलाई याद गरिनेछैन । मलाई खेद छ कि सबैले तपाईंको मृत्युलाई एक मजाक बनाएका छन् र मलाई खेद छ कि तपाईंले आफ्नो जीवन गमाउनुभयो । यदि यसलाई पनि गलत अर्थमा लिइन्छ भने के भन्ने ?’

शवगृहमा ३–४ सेकेन्डसम्म मात्रै बसेकी थिइन्ः

शवगृह भित्र बसेको बारे रियाले भनिन्, ‘सायद ३–४ सेकेन्डका लागि बसेकी थिएँ । मलाई बाहिर प्रतिक्षा गर्न भनिएको थियो । मेरा साथीले कसैलाई एक पटक शव हेर्न चाहन्छौं भनेर आग्रह गरेको थियो । ती व्यक्तिले पोस्टमार्टम समाप्त भएपछि र शवलाई अन्तिम संस्कारका लागि भ्यानमा लैजादैं गरेको समयमा हेर्न सकिने बताए । जब त्यहाँबाट भ्यानमा राख्न शव निकालियो तब मैले शवलाई ३–४ सेकेन्डको लागि हेरेको थिएँ र उनलाई सरी भनेको थिएँ । त्यतिबेला मैले सम्मानको रुपमा उनको खुट्टा पनि छोएकी थिएँ । भारतीय भएको नाताले सबैले बुझ्न सक्छन् कि कोही व्यक्तिले कसैको खुट्टा किन छुन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप