काँग्रेस सभापतिमा दाबी गर्ने एक दर्जन नेतामा कसका एजेन्डा के ?
काठमाडौँ । नेपाली राजनीतिमा नेपाली काँग्रेसको भावी नेतृत्वको विषय चर्चाको केन्द्रमा छ । फागुन ७ गतेलाई केन्द्रमा राखेर १४औँ महाधिवेशनबाट नेतृत्व हत्याउन दर्जन आकाङ्क्षी सार्वजनिक भएपछि काँग्रेसको भावी नेतृत्वबारे चर्चा र बहस सतहमा आएको छ ।
काँग्रेसमा विद्यमान तीनवटा गुटमध्ये सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् ।
यस्तै देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला पनि सभापतिमा आकाङ्क्षा प्रकट गरेका छन् ।
यस्तै पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी पनि सभापति पदका आकाङ्क्षी छन् । सिटौला समूहबाट गगन थापा पनि सभापतिकै दौडमा छन् । तर किन र केका लागि सभापतिमा आफ्नो दाबी भन्ने कुरामा अधिकांश आकाङ्क्षीमा प्रष्टता छैन ।
सभापतिमा फेरि दोहोरिन लागिपरेका वर्तमान सभापति शेरबहादुर देउवा एजेन्डाविहीन जस्तै छन् । पार्टी र सरकारको नेतृत्वमा परीक्षण भइसकेका देउवाले आफू फेरि सभापतिमा आफ्नो आवश्यक पुष्टि गर्ने बलियो आधार छैन ।
०७५ जेठ २६ गते गृह जिल्ला डडेलधुरा पुगेर देउवाले पहिलो पटक पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने उद्घोष गरेका थिए । तीन तहको निर्वाचनमा काँग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि आगामी निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागिरहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने उनको भनाइ थियो र छ । यता वरिष्ठ नेता पौडेलमा पनि ‘काँग्रेसलाई जनताको भरोसाको केन्द्र’ बनाउने भाष्यबाहेक ठोस योजना र नीति छैन । १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेलसँग आफूले मौका नपाएको रोइलो मात्रै छ ।
देउवा र पौडेल दुवैसँग न पार्टी सुधारको कार्यक्रम छ, न त नयाँ विचार नै ।
यस्तो अवस्थामा देउवा र पौडेलबाटै काँग्रेसमा पुनर्ताजकी सम्भव नभएका विश्लेषण भइरहँदा पौडेलले उमेर समूह एउटै हुँदैमा योगदान, चरित्र र क्रियाकलाप एउटै नहुने दाबी पेस गर्छन् ।
यता सभापतिका आकाङ्क्षी उपसभापति निधिसँग पनि इतिहासकै जटिल मोडमा रहेका काँग्रेसलाई नयाँ दिशामा डोर्याउने नीति र कार्यक्रम छैन । उनी २०३६ सालमा आफूप्रति पार्टीका संस्थापक नेता बीपी कोइरालाले देखाएको सदासयताको देउवासँग खोजिरहेका छन् । निधिले सर्वसम्मत नेतृत्व चयनको विषयलाई एजेन्डा बनाएको देखिन्छ । निधिको दाबीमा अस्वीकार जनाएका श्रेष्ठसँग पनि देउवापछि ‘म सिनियर हुँ’ भन्ने बाहेकको एजेन्डा छैन ।
महामन्त्री शशांक कोइराला र शेखर कोइराला देउवालाई पराजित गराउने प्रमुख एजेन्डाका साथ प्रस्तुत भइरहको पाइन्छ ।
‘देउवालाई हराउन सक्ने म मात्रै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरू जोकसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु, मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन,’ बीपी पुत्र शशांकको दाबी छ । यस्तै दाबी छ, बीपीका भतिजा शेखरको पनि । उनीहरु देउवालाई हराउन आफ्नो उम्मेदवारीलाई परिहार्यका रूपमा अथ्र्याउँदै आएका छन् ।
सभापतिकै दाबी गरिरहेका गणेशमान पुत्र प्रकाशमान सिंह पनि कोइरालाद्वयकै एजेन्डा वरिपरि देखिन्छन् । सिंहका लागि पनि देउवालाई हराउने विषय नै प्रधान बनेको छ । उनीहरूले देउवालाई पराजित गर्न सक्नु नै आफ्नो योग्यता ठानेका पाइन्छ ।
यता सिटौलाले भने सभापतिमा आकाङ्क्षा राखे पनि खुलेर आइसकेको अवस्था छैन । नेता थापाले भने केही सैद्धान्तिक विषय उठाएको पाइन्छ ।
पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्ने कुरालाई थापाले एजेन्डा बनाएका छन् ।
यस्तै पार्टी सभापति चयनको प्रक्रिया पनि क्रियाशील सदस्यबाटै गराउने विषय थापाले अगाडि सारेका छन् । यसरी हेर्दा राजनीतिक मुद्दा र स्पष्ट कार्यक्रमभन्दा धेरै नेताहरूले देउवाको अलोकप्रियतामा चुनाव जित्ने दाउमा छन् ।
महाधिवेशनको आवश्यकता विचार कि एकता ?
यतिबेला विचार, सिद्धान्त र कार्यक्रमभन्दा व्यक्तिगत महत्वाकाङ्क्षा प्रकट भएको काँग्रेस नेताहरुको भनाइ छ । नेतृत्वको दाबी गर्ने अधिकांशसँग पार्टीलाई पुनर्जीवन दिने तथा देश र जनताका समस्यासँग जुध्ने दीर्घकालीन योजना नभएको टिप्पणी हुन थालेको छ ।
‘यो व्यक्ति बनाउने कुरा भयो । विधानअनुसार काम भएन । उत्तराधिकारी बनाउने मात्र काम भयो । विरासतको राजनीति तोडौँ भनेर अहिलेको नेतृत्वले १३औँ महाधिवेशनमा भनेको थियो । आज त्यो कुरामा कहाँ परिवर्तन भयो ? विधान हिजोभन्दा अझ बढी तोडियो । पार्टी, वैचारिक, साङ्गठनिक र निर्वाचनबाट कमजोर भएको अवस्था यही १३औँ महाधिवेशन पछि हो ।’
काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिका आकाङ्क्षीमा दीर्घकालीन योजना नभएको सुनाए । उनले भने, ‘उम्मेदवारी घोषणा गर्नेमध्येमा कोही सभापति भएमा आगामी दिनमा के परिवर्तन हुन्छ ? काँग्रेसमा खोजिएको नयाँपन र कार्य शैलीमा सुधार हो । त्यसका लागि कोही पनि योजनाका साथ आएको अवस्था छैन ।’
व्यक्तिलाई परिवर्तन गर्ने ढङ्गले मात्र उम्मेदवारी प्रस्तुत भएको पौडेलको बुझाइ छ ।
‘यो व्यक्ति बनाउने कुरा भयो । विधानअनुसार काम भएन । उत्तराधिकारी बनाउने मात्र काम भयो । विरासतको राजनीति तोडौँ भनेर अहिलेको नेतृत्वले १३औँ महाधिवेशनमा भनेको थियो । आज त्यो कुरामा कहाँ परिवर्तन भयो ? विधान हिजोभन्दा अझ बढी तोडियो । पार्टी, वैचारिक, साङ्गठनिक र निर्वाचनबाट कमजोर भएको अवस्था यही १३औँ महाधिवेशन पछि हो ।’
वर्तमान परिस्थिति अनुसार काँग्रेसलाई ताजकीपन दिने गरी कुनै पनि नेतृत्वको आकाङ्क्षी अगाडि नआएको उनको दाबी छ ।
‘काँग्रेसको आदर्शभित्र राष्ट्रियता, लोकतन्त्र, समाजवाद पर्छ । समय सापेक्ष त्यसलाई अदल बदल गर्न आवश्यक छ । आजको लोकतन्त्रको परिभाषा कसरी गर्ने हो ? समाजवादको परिभाषा कसरी गर्ने हो ? त्यसमा कुनै उम्मेदवार प्रवेश गरेको छ ? कोभिडपछि हाम्रो परिवेश र परिस्थिति सबै बदलिन्छ । त्यसलाई काँग्रेसले कसरी हाँक्छ, त्यसमा कोही प्रवेश गरेको छ ?,’
पौडेलको प्रश्न छ । साङ्गठनिक सुधारको कुरा र प्रतिबद्धता पनि नआएको उनको भनाइ छ । ‘काँग्रेसको आन्तरिक सङ्गठन एकदमै सङ्कट ग्रस्त छ । काँग्रेसमा १० लाख क्रियाशील सदस्यलाई गतिशील बनाउने योजना कोसँग छ ? अहिले यी विधानविपरीत भइरहने काममा कसको प्रतिबद्धता छ ? त्यसले दस्तावेज प्रस्तुत गरेर त्यसमा हस्ताक्षर गरेर उम्मेदवारी दिनुपर्छ ।’
विषयगत रूपमा कसैको केही अन्तर नहुने र उम्मेदवार दर्जनभन्दा बढी हुने कुराले काँग्रेसको महाधिवेशनमा वैचारिक शून्यता देखाएको पौडेलको बुझाइ छ ।
उनका अनुसार सभापतिका आकाङ्क्षीमा वैचारिक दायरा देउवाका गलत प्रवृत्तिको विरोध गर्दै आफ्नो प्रचार गर्नेमा समिति देखिएको छ ।
‘कसैको खराबीमा मात्र प्रहार गरेर हुँदैन । त्यस समस्याको समधान के हो भन्ने कुरा पनि सँगसँगै आउनुपर्छ । अहिले समस्याका आधारमा मात्र नेतृत्व गर्न खोजियो । तर समाधान दिनेगरी नेतृत्वका आकाङ्क्षी आउनु सक्नुभएन,’ पौडेलले भने ।
तर अर्को केन्द्रीय सदस्य गुरुराज घिमिरेको तर्क भने पौडेलको भन्दा फरक छ । उनले भने, ‘आजसम्म कार्ययोजनासहित व्यक्ति उम्मेद्ववारी दाबी प्रस्तुत गर्ने परिपाटी छैन । महाधिवेशनमा पार्टीले नै नीति र कार्यक्रम पेस गर्ने परिपाटी छ । कुनै पनि व्यक्ति राजनीतिक कार्यक्रम, साङ्गठनिक कार्यक्रम र कार्ययोजना लिएर महाधिवेशन प्रतिस्पर्धामा उछिन्ने हाम्रो परम्परा नै छैन । जसको विचार उसको नेतृत्व गर्ने अभ्यास कम्युनिस्ट पार्टी हो । हाम्रो पार्टीमा उसका लागि योग्यता, लोकप्रियता, उप्रतिको विश्वासको आधारमा प्रतिस्पर्धा हुने हाम्रो परम्परा हो ।’
यद्यपि पार्टी लथालिङ्ग र भताभुङ्ग भएको अवस्थामा को नेताले किन उम्मेदवारी दिएको भन्ने प्रश्न उठेकाले जवाफसहित प्रस्तुत हुनसक्नुपर्ने उनको तर्क छ ।
‘पार्टी लथालिङ्ग र भताभुङ्ग भएको अवस्थामा को नेताले किन उम्मेदवारी दिएको भन्ने प्रश्न छ । अहिले अवस्थालाई उसले कसरी सुधार गरेर पार्टीलाई आन्तरिक रूपमा व्यवस्थित गरेर राम्रो बनाउन सक्छ त भनेर नयाँ पुस्ताले माग उठायो,’ घिमिरेले भने ।
अब नेताहरुले नेतृत्वको दावा गरेकाबारे पार्टीका आम कार्यकर्तालाई भन्न सक्नुपर्ने उनको भनाइ छ । यता केन्द्रीय सदस्य गोविन्द भट्टराई भने पार्टीका योजना, नीति कार्यक्रमभन्दा त्यसको कार्यान्वयनको पाटो मुख्य भएको बताउँछन् ।
उनले भने, ‘पार्टीका योजना, नीति कार्यक्रमको कुरा हेरक महाधिवेशनमा भइरहेकै छ । तर त्यसको कार्यान्वयनको पक्ष मुख्य हो । नेतृत्वमा पुगेपछि त्यसको कार्यान्वयन कति भयो भन्ने मूल प्रश्न हो । हामीले २०४८ यताका महाधिवेशन हेरौँ । नीति कार्यक्रम उम्मेदवारहरुले आफूले जितेपछि कति पालना गरे ? जितेका हुनेलाई हारेकाहरुले कति सहयोग गरे र पार्टीभित्र कसरी एकता निर्माण भयो भन्ने कुरा मेजर हो जस्तो लाग्छ ।’
भट्टराईका अनुसार काँग्रेसमा नीति, योजना र कार्यक्रमको त्यति ठूलो महत्त्व छैन ।
उनले भने, ‘पार्टीभित्र एकता कसरी गर्ने भन्ने कुरा मेजर विषय हो । २५ वर्षदेखि काँग्रेसभित्र पार्टी एकता पार्टी एकता... सुनिरहेको छु । महाधिवेशन र निर्वाचन आउँदा बढो सुनिन्छ । एकता गर्ने फर्मुला सबैले दिएको छैन । अहिलेको मेजर विषय एकताको आधार हो भन्ने लाग्छ ।’
काँग्रेसमा महाधिवेशन जितेकाले आधा पार्टी चलाउने र हारेकाले आधा पार्टी चलाउने अवस्था रहेको उनको भनाइ छ ।
‘एकताको आधार भागबन्डा भनेर हिँडेरहका छौँ । त्यो गलत हो । भागबण्डाले नै पार्टीभित्र अन्याय र अनेकता र गुटको स्थायित्व भइरहेको छ,’ भट्टराईले भने, ‘अब विधानअनुसार जित्नेले पार्टी चलाउने र हार्नेले सहयोग गर्ने वातावरण निर्माण हुनुपर्यो । यो बाटोमा गए मात्र पार्टी परिवर्तन हुन्छ । होइन भने नीति, कार्यक्रम विचार त हेरेक महाधिवेशनमा आइहेकै थिए नि ?’