शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तमा कोरोनाको मार, कारोबार खुम्चदा ब्यालेन्ससिटमा धक्का

कारबाहीमा परिने डर
शुक्रबार, १२ भदौ २०७७, ०७ : ४९
शुक्रबार, १२ भदौ २०७७

कोरोनाका कारण भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाको प्रभाव लघुवित्त कम्पनीहरुमा पनि परेको छ । समयमै कर्जा उठाउन नसक्दा उनीहरुको प्रतिवेदननै डिफल्ट र ओभरड्यु हुने खतरा बढेको छ । यसले ठूलो नोक्सान देखिने लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउँछन्  । जसका कारण पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी) को सीमामा रहन नसक्ने अवस्था आउने उनको भनाइ छ ।

क्यापिटल एडुकेसीको न्युनतम सीमा बचाइ राख्न नसक्दा कारबाहीमा परिने डर लघुवित्तहरुमा छ । लघुवित्तमा न्युनतम ८ प्रतिशत पुँजी पर्याप्तता हुनुपर्छ । तर समयमै कर्जा लगानी भएको रकम उठ्न नसक्दा ८ प्रतिशत पुर्याउन नसकिने लम्सालको भनाइ छ ।

लम्साल भन्छन्, ‘कोरोनाले लघुवित्तको पैसा उठेको छैन जसले अप्ठेरोमा छौँ । महिनाको रिपोर्ट बनाउँदा डिफल्ट, ओभर डयु भनेर देखाउनुपर्छ । त्यसले  ठूलो नोक्सान देखाउँछ, अहिले हामी नेगेटिभमा छौँ  ।’

राष्ट्र बैङ्क यस विषयमा मौन बसिदिँदा लघुवित्तका सिइओहरुलाई कारबाहीमा परिने हो कि भन्ने डरले सताएको छ ।

असारसम्मको अवस्थामा केन्द्रिय बैङ्कले सहुलियत दिएपनि साउन र भदौमा पनि त्यस्तै खालको सहुलियतको निर्देशन आउने आशमा आफुहरु रहेको लघुवित्त संस्थाहरुले जनाएको छ ।

कोरोनाको कारण लघुवित्तहहरुको नाफामा समेत धक्का लागेको छ । नाफा घट्नुमा राष्ट्र बैङ्कले वैशाखदेखि ऋणमा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नदिनु पनि अर्को कारण रहेको लघुवित्त बैङ्कर्स संघको भनाइ छ ।

१८ प्रतिशत कर्जाको ब्याज लिदै आएका लघुवित्तहरुलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले ३ प्रतिशत घटाएर १५ प्रतिशतमा झारिदिएको छ । लघुवित्तको कर्जाको ब्याजदर महँगो भन्ने गुनासो  आउन थालेपछि उनीहरुको ब्याजदरको सीमा राष्ट्र बैङ्कले ३ प्रतिशत घटाएर तोकेको हो ।

अहिले बैङ्कहरुसँग पैसा धेरै छ । जसले लघुवित्तको ब्याजदर घटाएपनि खासै असर नगरेको संघका अध्यक्षले बताएका छन् । यदि बैङ्कहरुले ब्याजदर बढाउन थालेभने त्यसपछि चाहिँ मारमा परिने चिन्ता उनीहरुमा छ ।

कोरोनाले लघुवित्तबाट कर्जा प्रवाह हुन सकेन, लगानी भएको कर्जा पनि उठेन

अहिले निषेधाज्ञाका कारण धेरैजसो लघुवित्तले कार्यालय बन्द गरेर बसेका छन् । ग्रामिण भेगका केही ठाउँमा मात्र लघुवित्तहरु सञ्चालनमा छन् । चैत्त ११ गतेदेखि भएको लकडाउनका कारण लघुवित्तको कारोबार खुम्चिए पनि साउन सात गतेदेखि खुल्ला भएसँगै लघुवित्तमा पनि विस्तारै चहलपहल बढ्दै गएको थियो । साउनमा एकतिहाइ कर्जा प्रवाह हुन थालिसकेको थियो तर भदौ लागेसँगै भएको निषेधाज्ञाले लघुवित्तको कारोबार ठप्प जस्तै छ । संघका अध्यक्ष लम्सालका अनुसार साउनमा २५ प्रतिशत कारोबार भएको थियो । अहिले १० प्रतिशत पनि छैन । 

एकातिर कर्जा प्रवाह नहुने र अर्कोतर्फ भएको कर्जा लगानी पनि उठ्न नसक्दा लघुवित्तको ब्यालेन्ससिटमा धक्का लागेको छ । ग्रामीण भेगका विपन्नवर्गलाई सेवा दिने  उद्देश्यका साथ खुलेको लघुवित्त नेपाल राष्ट्र बैङ्कले नियमन गर्ने घ वर्गका संस्थामा पर्दछन् । क, ख र ग वर्गका वित्तीय संस्थाहरु लकडाउन र निषेधाज्ञामा सिमित शाखा खुलेपनि लघुवित्तका शाखा कम हुनाले  एकाधबाहेक उनीहरुले सेवा दिन सकेका छैनन् । शाखा हुने भएपनि टाढा–टाढा हुन्छन् जसका कारण सेवादिन र लिन समस्या छ ।

कोरोना महामारीकै कारण विश्व अर्थतन्त्र नै प्रभावित छ । हरेक क्षेत्र प्रभावित बनाएको महामारीको असरमा लघुवित्त क्षेत्रपनि परेका छन् । अहिले सरकारले युवा उद्यमशीलताको कुरा गरिरहेको छ । वाणिज्य बैङ्क, विकास बैङ्कलाई पनि उद्यमशीलता विकासका लागि शाखैपिच्छे कर्जा प्रवाहको सीमा तोकेको छ । लघुवित्तलाई पनि त्यस्तो कर्जा प्रवाहको जिम्मेवारी सरकारले दिँदा उनीहरुको कारोबार बढ्न केही मद्दत पुग्ने लघुवित्तको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप