शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

शुक्रबार, १२ भदौ २०७७, ०६ : ४७
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं – बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।

कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

नेपाल राष्ट्र बैंक र बंैक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।

प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।

सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज, वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप