बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा प्रहरी हिरासतमा रहेका २ जनालाई कोरोना संक्रमण

बिहीबार, ११ भदौ २०७७, १७ : ५२
बिहीबार, ११ भदौ २०७७

भक्तपुर । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुई जनामा कोरोना संक्रमण भएको छ ।  सूर्यविनायक नगरपालिका वडा नम्बर ४, दधिकोटमा रहेको हितैसी सहकारीको करिब ३ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ७ जना महानगरीय प्रहरी वृत्त थिमिको हिरासतमा छन् । 

सो हिनामिनामा आरोप लागेका ८ जना प्रतिवादी भएपनि १ जना फरार रहेका छन् । तीमध्ये ६ जना पुरुष र १ जना महिला प्रहरीको हिरासतमा रहेका छन् ।  जसमध्ये ३२ वर्ष र ३८ वर्षका दुईजना पुरुष ओरोपीहरुको कोरोना परिक्षणका लागि पीसीआर गर्दा नजिता पोजेटिभ आएको हो ।  

उनीहरुलाई कोरोना पोजेटिभ देखिएकाले अभियोगपत्र फिर्ता गरिएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले रातोपाटीलाई जानकारी दिएका छन् ।  ‘३२ वर्ष र ३८ वर्षका प्रतिवादीहरु दुई जनामा कोरोना पोजेटिभ देखिएकाले सरकारी वकिलको कार्यालयमा अभियोग पत्र फिर्ता गरिएको हो,’ पराजुलीले भने । 

अदालतद्धारा जारी पत्रमा भनिएको छ, ‘प्रतिवादीहरु मध्येका दुई जनामा कोरोना पोजेटिभ देखिएको भन्ने रिपोर्ट मिसिल संग्लन रहेको देखिँदा निजहरुको आवश्यक स्वास्थ्य मापदण्डअनुसार उपचार गरि पूर्ण स्वास्थ्य भएपछि अदालतमा पेश गर्नु ।’ 

उनीहरुसँगै रहेका अन्यको समेत स्वास्थ्य परीक्षण गरेर मात्र अदालतमा पेश गर्न भनिएको छ । फौजदारी कार्यविधी संहिता २०७४ को दफा १८२, कार्यविधी नियमावली नियम ४७ र जिल्ला अदालतको नियमावलीको नियम ३२ बमोजिम अभियोगपत्र फिर्ता गरिएको सूचना अधिकारी पराजुलीको भनाई छ । 

उनले भने– ‘२५ दिनदेखि प्रहरी हिरासतमा रहेका आरोपीहरुमा कोरोना देखिनुले प्रहरी समेत थप सचेत हुनुपर्ने अवस्था आएको छ ।’  विगत २५ दिनदेखि नै प्रहरीको हिरासतमा रहेका उनीहरुलाई कहाँबाट संक्रमण भयो भन्ने तथ्य खुल्न नसकेको वृत्तका प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए । केही समय अगाडी मात्रै थिमि वृत्तका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । 

बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना संक्रमित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप